• सोमबार ८-८-२०८३/Monday 11-23-2026
  • 07:47:16

रश्मिको दोहोरो ह्याट्रिक, भुटानी टोली ७–० ले स्तब्ध

सोमबार, ८ मङ्सिर, २०८३

 

इलाम, ७ मंसिर :
रश्मिकुमारी घिसिङको सनसनीपूर्ण दोहोरो ह्याट्रिकसँगै एपिएफ फुटबल क्लबले झापा महिला गोल्डकपमा फराकिलो जित सँगै सेमिफाइनल यात्रा तय गरेको छ । दुधेमा सोमबार भएको खेलमा एपिएफले भुटानको थिम्पु राभेन वुमन फुटबल क्लबलाई ७–० को फराकिलो अन्तरले पाखा लगाउँदै सेमिफाइनल यात्रा तय गरेको हो ।
एपिएफको जितका लागि रश्मिकुमारी घिसिङले गोलको वर्ष गरिन । उनको व्यक्तिगत दोहोरो ह्याट्रिकले भुटानी टोली स्तब्ध बन्यो । खेलको २६औँ मिनेटमा रेनुका नगरकोटीको प्रहारलाई कटब्याक गर्दै गोलको दिशा दिएकी रश्मिले ३०औँ मिनेटमा व्यक्तिगत दोस्रो गोल थपिन् । पहिलो हाफको अन्तिम मिनेट अर्थात् ४५औँ मिनेटमा मध्यभागबाट एकल प्रयासमा गोल गर्दै उनले ह्याट्रिक पूरा गरिन् । दोस्रो हाफमा त रश्मि झनै आक्रामक देखिइन् ।
५२औँ मिनेटमा पुनम चेम्जोङले डिबक्सभित्र फाउल गरेपछि प्राप्त पेनाल्टीमा रश्मिले गोल गरिन् । ५५औँ मिनेटमा कुसुम खतिवडाको क्रसमा हेडमार्फत गोल थप्दै उनले व्यक्तिगत गोलसंख्या पाँच पु¥याइन् । त्यसको चार मिनेटपछि कुसुमसँग उत्कृष्ट तालमेल गर्दै छैटौँ गोल गरिन् । यससँगै रश्मिले एउटै खेलमा दोहोरो ह्याट्रिकको दुर्लभ उपलब्धि हासिल गरिन् । रश्मिको गोल वर्षामा ६२औँ मिनेटमा अनिता केसीले पनि साथ दिइन् । रश्मिकै पासलाई सदुपयोग गर्दै केसीले गोल गरेपछि एपिएफको जित ७–० मा पूर्ण भयो ।
खेलभरि एपिएफको आक्रमणसामु भुटानी टोली निरीह देखियो । बल नियन्त्रणदेखि आक्रमणसम्म विभागीय टोलीको एकछत्र दबदबा रह्यो । थिम्पु राभेनले एपिएफको पोस्टमा चुनौती दिन नसक्दा क्वाटरबाटै घर फर्किन बाध्य बन्यो । 
अघिल्लो संस्करणको उपविजेता एपिएफ यसपटक भने धरान महिला गोल्डकपको उपाधि जितेरे झापा गोल्डकपमा उत्रिएको छ । झापा गोल्डकपको पनि उपाधि उचाल्ने लक्ष्यसहित मैदानमा उत्रिएको एपएिफले अब सेमिफाइनलमा झापा–११ फुटबल क्लबसँग प्रतिस्पर्धा गर्नेछ । रश्मिकुमारी घिसिङ प्लेयर अफ द म्याच घोषित भइन् । उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीलाई १ लाख ५० हजार रुपैयाँ प्रदान गरिनेछ । त्यस्तै, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पाउने आयोजकले जनाएको छ ।
 

प्रतिकृया दिनुहोस
↑