भञ्ज्याङ–बेलासे सडक ठेक्का अन्त्य : मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगर्न अन्तरिम आदेश
इलाम ७ मंसिर : इलामको भञ्ज्याङ–बेलासे सडक निर्माणको ठेक्का विवाद कानुनी प्रक्रियामा पुगेको छ । ठेक्का सम्झौताको म्याद, बैंक जमानत भुक्तानी र कालोसूचीमा राख्ने सिफारिससम्बन्धी विवादमा उच्च अदालत पाटनले अन्तरिम आदेश जारी गर्दै सम्बन्धित कारबाही यथास्थितिमा राख्न आदेश दिएको छ ।
उच्च अदालत पाटनको संयुक्त इजलास नं. १० का न्यायाधीशद्वय श्रीधरा कुमारी पुडासैनी र नेत्रप्रकाश आचार्यको इजलासले मंसिर ७ गते यस्तो आदेश दिएको हो ।
खड्का कृष्ण सक्षम जेभीका तर्फबाट समीर खड्काले सडक विभाग, चाकुपाट ललितपुरसमेतलाई विपक्षी बनाई निषेधाज्ञाको माग गर्दै रिट निवेदन दिएका थिए । निवेदनमाथि सुनुवाइका क्रममा दुवै पक्षका कानुन व्यवसायीको बहस सुनेपछि अदालतले अन्तरिम आदेश जारी गरेको हो ।
अदालतको आदेशअनुसार निवेदक र सडक डिभिजन इलामबीच २०७८ असार २९ गते भएको ठेक्का सम्झौताको अवधि २०८३ असार ३० गतेसम्म रहेको उल्लेख छ । सम्झौताको म्याद थप, बिमा नवीकरण तथा बैंक जमानत नवीकरणका विषयमा समेत सम्बन्धित निकायबीच पत्राचार भएको देखिएको छ ।
यसैबीच, सडक डिभिजन इलामले बैंक जमानत भुक्तानीका लागि पत्राचार गर्नुका साथै सार्वजनिक खरिद अनुगमन कार्यालयलाई निर्माण कम्पनीलाई कालोसूचीमा राख्न सिफारिस गरेको विषय पनि अदालतमा पुगेको थियो ।
अदालतले बैंक जमानत भुक्तानी माग गरिएको पत्र, बैंक जमानतको अवधि तथा कालोसूचीमा राख्न गरिएको सिफारिसलगायतका सम्बन्धित पत्राचारलाई विचार गर्दै मुद्दाको अन्तिम टुङ्गो नलागेसम्म कार्यान्वयन नगरी यथास्थितिमा राख्न अन्तरिम आदेश दिएको हो ।
उच्च अदालत नियमावली, २०७३ को नियम ४२ (१) बमोजिम जारी आदेशले सडक निर्माणको ठेक्का विवादलाई थप कानुनी प्रक्रियामा प्रवेश गराएको छ ।
वर्षौँदेखि निर्माण सम्पन्न हुन नसकेको भञ्ज्याङ–बेलासे सडकमा ठेक्का व्यवस्थापन र निर्माण कार्यको प्रगतिसम्बन्धी प्रश्न उठिरहेका बेला विवाद अदालत पुगेपछि सडक निर्माणको आगामी प्रक्रिया थप अन्योलमा पर्ने देखिएको छ ।
..jpeg)

..jpeg)
..jpeg)
..jpeg)
..jpeg)

प्रतिकृया दिनुहोस