• सोमबार ८-८-२०८३/Monday 11-23-2026
  • 04:00:31

सजिनाको ह्याट्रिकमा झापा–११ को शानदार जित, पोखरा १०–० ले पराजित

आइतबार, ७ मङ्सिर, २०८३

इलाम :
दोस्रो झापा महिला गोल्डकपको उद्घाटन खेलमा आयोजक झापा–११ फुटबल क्लबले शानदार जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ । सजिना स्याङताङको ह्याट्रिकसहित चार गोलको मद्दतमा झापाले आरएस पोखरा फुटबल क्लबलाई १०–० को फराकिलो गोल अन्तरले पराजित गरेको हो ।
एकपक्षीय बनेको खेलमा झापाले सुरुदेखि नै पोखरालाई दबाबमा राखेको थियो । खेल अवधिभर पोखराले झापाको पोस्टमा गोल गर्ने उल्लेखनीय अवसर सिर्जना गर्न सकेन । पहिलो हाफमा केही प्रतिस्पर्धात्मक देखिएको पोखराले दोस्रो हाफमा भने आठ गोल बेहोर्नुपरेको थियो । झापाको जितमा सजिना स्याङताङले चार गोल गरिन्। ममता राउतले दुई तथा सेमिहाङमा लिम्बु, सञ्जु तामाङ, अञ्जली चन्द र पुनम चेम्जोङले समान एक–एक गोल गरे ।
खेलको ३६औँ मिनेटमा सेमिहाङमा लिम्बुले गोल गर्दै झापालाई अग्रता दिलाइन्। अञ्जली चन्दको कर्नर प्रहारमा डिबक्सभित्र रहेकी उनले वान टचमा बललाई जाली चुमाइन् । ४१औँ मिनेटमा सजिना स्याङताङले गोल थपेपछि झापाले पहिलो हाफमा २–० को अग्रता बनायो । दोस्रो हाफमा झापाले आक्रामक खेल प्रस्तुत ग¥यो । ५५औँ मिनेटमा सजिनाले व्यक्तिगत दोस्रो तथा टिमका लागि तेस्रो गोल गरिन् । ६५औँ मिनेटमा वैकल्पिक खेलाडी सञ्जु तामाङले मैदानको मध्यभागबाट एकल प्रयासमा सुन्दर गोल गरिन् ।
त्यसको एक मिनेटपछि नै सजिनाले गोल गर्दै ह्याट्रिक पूरा गरिन्। ७४औँ मिनेटमा ममता राउतले गोल गरिन् भने ७८औँ मिनेटमा पुनः गोल थप्दै झापाको अग्रता फराकिलो बनाइन् । ८०औँ मिनेटमा सजिनाले व्यक्तिगत चौथो गोल गरिन् । ८५औँ मिनेटमा पुनम चेम्जोङले रिबाउन्ड भएको बललाई डिबक्सभित्रबाट शक्तिशाली प्रहार गर्दै गोलमा परिणत गरिन् । खेलको अतिरिक्त समयमा अञ्जली चन्दले गोल थपेपछि झापाले १०–० को फराकिलो जित दर्ता ग¥यो । चार गोल गरेकी झापाकी सजिना स्याङताङ खेलको प्लेयर अफ द म्याच घोषित भइन् । उनले नगद १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् ।
प्रतियोगिता अन्तर्गत आइतबार विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लब र भारतको एभी फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ । प्रतियोगितामा आयोजक झापा–११ सहित आरएस पोखरा फुटबल क्लब, बागमती युथ क्लब, भुटानको थिम्पु राभेन वुमन एफसी, भारतको एभी फुटबल क्लब, नेपाल पुलिस फुटबल क्लब, त्रिभुवन आर्मी एफसी र सशस्त्र प्रहरी बलको एपीएफ एफसी गरी आठ टोलीको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले ११ लाख रुपैयाँ र उपविजेताले पाँच लाख ५० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन्। प्रतियोगिताको उत्कृष्ट खेलाडीले एक लाख ५० हजार रुपैयाँ पाउनेछन् । त्यस्तै, उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र उत्कृष्ट प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् ।
 

प्रतिकृया दिनुहोस
↑