• बिहीबार ७-२०-२०८३/Thursday 11-05-2026
  • 05:37:26

छुट्टै पहिचान बोकेको कागे गोल्डकप, फुटबलसँगै पर्यटनको आकर्षण

बिहीबार, २० कार्तिक, २०८३

लोकेन थेबे ,
इलाम १९ कात्तिक :
इलामको उत्तरी क्षेत्र जमुनामा दीपावलीको अवसरमा आयोजना हुँदै आएको कागे गोल्डकप फुटबल प्रतियोगिता खेलकुद र पर्यटनको संगम बनेको छ । करिब चार दशकदेखि निरन्तर सञ्चालन हुँदै आएको प्रतियोगिताले स्थानीय फुटबलको विकाससँगै जमुनाको छुट्टै पहिचान स्थापित गरेको छ ।
सन्दकपुर गाउँपालिका–५, जमुनामा आयोजना हुने कागे गोल्डकपमा इलाम सदरमुकाममा हुने प्रतियोगितापछि उल्लेख्य दर्शकको उपस्थिति रहने गरेको छ। प्रतियोगिता हेर्न स्थानीयसँगै भारतको मानेभञ्ज्याङ, सुकियापोखरी र दार्जिलिङबाट समेत फुटबलप्रेमी आउने गरेका छन् ।
कागे गोल्डकपको निरन्तरताले जमुनालाई फुटबलको उर्वर भूमि बनाएको छ । यही प्रतियोगिताको प्रभाव र स्थानीयको फुटबलप्रतिको लगावका कारण जमुनाले दुई जना पुरुष फुटबल खेलाडीलाई राष्ट्रिय टोलीसम्म पु¥याइसकेको छ ।
स्थानीयको सक्रियता तथा सन्दकपुर गाउँपालिका र प्रदेश सरकारको आर्थिक सहयोगमा गजराज धनमाया स्मृति खेलमैदान निर्माण गरिएको हो । तीन वर्षभित्र निर्माण सम्पन्न भएको उक्त मैदानमा विगत चार वर्षदेखि प्रतियोगिता सञ्चालन हुँदै आएको छ । नेपालीहरूको महान् चाड दसैँ र तिहारको बीचमा आयोजना हुने प्रतियोगिता हेर्न दर्शकहरू एक महिनाअघि नै योजना बनाउने गर्छन् । लामो बिदा र फुर्सदिलो समयका कारण फुटबल हेर्न तथा मेला भर्न आउनेको चाप बढ्ने गरेको आयोजकको भनाइ छ ।
खेलसँगै पर्यटन प्रवद्र्धन
कागे गोल्डकपको आकर्षण फुटबलमा मात्रै सीमित छैन । केही वर्षयता आयोजकले खेलसँगै पर्यटन प्रवद्र्धन गर्ने अवधारणा अघि सारेपछि प्रतियोगिताको महत्व थप बढेको छ । खेलमैदान नजिकै रहेको चन्द्रपाल थेबे ढाप सिमसार पोखरी, हागेथाम, चोयाटार, जौबारी, मेग्मा, तुम्लिङ र टङ्लुजस्ता रमणीय स्थलले पर्यटकलाई आकर्षित गर्ने गरेका छन्। दीपावलीको समयमा मौसम सफा हुने भएकाले हिमशृङ्खला, रेडपाण्डा, चराचुरुङ्गी तथा प्राकृतिक दृश्यको अवलोकन गर्न सहज हुन्छ । बिहान सेताम्मे शीतले ढाकिएका र दिउँसो हरियो गलैँचा बिछ्याएजस्ता देखिने चौर तथा प्राकृतिक दृश्यले जमुना क्षेत्रको पर्यटन आकर्षणलाई थप बढाएको छ । देशमा एक दशकसम्म चलेको द्वन्द्वका कारण धेरै गाउँका मेला, हाटबजार र फुटबल प्रतियोगिता बन्द भए पनि कागे गोल्डकपले आफ्नो निरन्तरता कायम राख्न सफल भयो । यही निरन्तरताले प्रतियोगितालाई स्थानीय खेलकुदको इतिहासमा विशिष्ट स्थान दिलाएको छ ।
गाउँकै मैदानमा राष्ट्रिय टोलीमा समावेश भएका चर्चित खेलाडीहरूको खेलकौशल प्रत्यक्ष हेर्न पाइने भएकाले दर्शकहरू कागे गोल्डकपप्रति आकर्षित हुने गरेका छन् । हाल पर्याप्त लम्बाइ र चौडाइ भएको खेलमैदानमा नौ जना खेलाडी सहभागी हुने ‘नाइन ए साइड’ विधामा प्रतियोगिता सञ्चालन हुँदै आएको छ ।
डम्बर कुमारी गुरुङ स्मृतिमा प्रतियोगिता
विगत दुई वर्षदेखि प्रतियोगिता स्वर्गीय डम्बर कुमारी गुरुङको स्मृतिमा ‘डम्बर कुमारी गुरुङ स्मृति कागे गोल्डकप’ नामबाट सञ्चालन हुँदै आएको छ। डम्बर कुमारी गुरुङको प्रायोजन प्राप्त भएपछि प्रतियोगिताले नयाँ नाम पाएको हो । फुटबल खेलमा थप उत्साह भर्न केही वर्षयता भेट्रान टोलीबीचको प्रतियोगितासमेत सञ्चालन हुँदै आएको छ । आयोजकका अनुसार भेट्रान प्रतियोगितामा ४० वर्ष उमेर पूरा गरेका खेलाडीले मात्रै सहभागिता जनाउन पाउने व्यवस्था छ । यस वर्ष कात्तिक १२ गतेदेखि सुरु भएको प्रतियोगिता कात्तिक २१ गतेसम्म सञ्चालन हुनेछ । यस वर्ष गोल्डकपको विजेता टोलीले नगद एक लाख ५१ हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ । उपविजेता टोलीले नगद ८१ हजार एक सय ११ रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र पाउनेछ । भेट्रानतर्फ विजेता टोलीलाई नगद ५० हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्रदान गरिनेछ भने उपविजेता टोलीले नगद २५ हजार रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ ।

कागे गोल्डकपका पर्याय इन्द्र गुरुङ
कागे गोल्डकपको चर्चा गर्दा छुटाउन नहुने नाम हो इन्द्र गुरुङ । लामो समयदेखि प्रतियोगिताको अध्यक्षका रूपमा नेतृत्व गर्दै आएका गुरुङले फुटबल खेलको विकास र प्रतियोगिताको व्यवस्थापनमा महत्वपूर्ण योगदान पु¥याउँदै आएका छन् । निःस्वार्थ भावनाका साथ फुटबलप्रति समर्पित गुरुङ प्रतियोगिता सञ्चालनका क्रममा खेलाडी तथा अतिथिको व्यवस्थापनमा दिनरात खटिने गर्छन् । प्रतियोगितामा सहभागी खेलाडीहरूको खानपान, बसोबास र अन्य समस्याबारे उनी निरन्तर चासो राख्छन् । बिहान उज्यालो भएदेखि राति नौ बजेसम्म अतिथि र खेलाडीहरूको व्यवस्थापनमा खटिने गुरुङ खेल सुरु भएदेखि अन्त्य नभएसम्म भोक, तिर्खा र थकानको पर्वाह नगरी सक्रिय रहन्छन् । खेलाडीहरू बेलुका सुरक्षित रूपमा घर पुगे वा पुगेनन् भन्ने विषयमा समेत उनी चासो राख्ने गर्छन् । उनको यही समर्पण र सक्रियताका कारण स्थानीय तथा फुटबलप्रेमीहरू भन्ने गर्छन्, ‘आयोजक त कागे गोल्डकपका इन्द्र गुरुङजस्तो हुनुपर्छ ।’
करिब चार दशकको निरन्तरता, स्थानीयको सक्रिय सहभागिता, राष्ट्रिय खेलाडीको उपस्थिति, सीमापारिका दर्शकको आकर्षण र पर्यटन प्रवद्र्धनको अवधारणाले कागे गोल्डकपलाई इलामको उत्तरी क्षेत्रको छुट्टै पहिचान बोकेको खेलकुद उत्सवका रूपमा स्थापित गरेको छ । जमुनाको खेलकुद र पर्यटन विकासमा कागे गोल्डकपले पु¥याएको योगदान आगामी दिनमा अझ महत्वपूर्ण बन्ने अपेक्षा गरिएको छ ।
 

प्रतिकृया दिनुहोस
↑