पूर्वेली युवा रंगकर्मीको चलचित्र यात्रा : आफ्नै माटोमा फिल्मको सम्भावना
इलाम, १३ कात्तिक :
आफ्नै गाउँँको परिवेश, स्थानीय प्रतिभा र सीमित स्रोतसाधनलाई उपयोग गर्दै नेपाली चलचित्र क्षेत्रमा नयाँ पहिचान स्थापित गर्ने लक्ष्यसहित अघि बढेका युवा निर्देशक चेतन आङथुपोको छोटो चलचित्र ‘समर : अ मेमोरी इन द लस्ट वाटर’ को सम्पूर्ण छायाङ्कन सम्पन्न भएको छ । थुम फिल्मस् प्रा.लि.को ब्यानरमा निर्माण भएको चलचित्रको लेखन तथा निर्देशन युवा रंगकर्मीसमेत रहेका आङथुपोले गरेका हुन् । चलचित्रको कास्टिङ तथा सहनिर्देशनमा प्रविन मगर रहेका छन् भने झनक खपाङ्गी निर्माता हुन् । झापाको कमल गाउँपालिका–५ स्थित साधुहोली पर्यटकीय क्षेत्र आसपास छायाङ्कन गरिएको चलचित्रको अन्तिम दृश्य कात्तिक ८ गते सिमसारमा खिचिएसँगै सात दिनमा सम्पूर्ण छायाङ्कन पूरा भएको निर्माण टोलीले जनाएको छ ।
.jpeg)
प्रकृति र मानवीय जीवनबीचको सम्बन्धलाई कलात्मक रूपमा प्रस्तुत गर्ने उद्देश्यले निर्माण गरिएको चलचित्रले बालमनोविज्ञान, मित्रताको विछोड तथा प्रकृतिसँग जोडिएका स्मृतिको रहस्यपूर्ण यात्रालाई मुख्य विषय बनाएको छ । बाल्यकालका अनुभूति, सम्बन्ध र प्रकृतिसँगको आत्मीयतालाई चलचित्रमार्फत दर्शकमाझ पु¥याउने निर्माण पक्षको प्रयास छ ।
करिब साढे पाँच लाख रुपैयाँको लागतमा निर्माण भएको चलचित्रमा ११ वर्षीय ममसन घतानीसहित रंगकर्मी प्रविन मगर, लहना राई, कालचन्द्र थापा, रिदम निरौला, साहेत रसाइली र ससिहाङ लिम्बूको अभिनय रहेको छ । चलचित्रको छायाङ्कन दिनेशहाङ गम लिम्बूले गरेका हुन् । छायाङ्कन सम्पन्न भएसँगै निर्माण टोली अहिले सम्पादनको तयारीमा जुटेको छ । सम्पादनलगायत प्राविधिक काम पूरा गरी आगामी मंसिरको तेस्रो सातासम्म चलचित्र तयार गर्ने निर्माण पक्षको योजना रहेको छ ।
.jpeg)
स्थानीय परिवेशबाटै ठूलो सपना देखिरहेका युवा निर्देशक
इलामको चुलाचुली गाउँपालिकालाई आफ्नो सिर्जनात्मक कर्मथलो बनाउँदै आएका युवा निर्देशक चेतन आङथुपो नेपाली रंगमञ्चमा करिब २३ वर्षदेखि सक्रिय छन् । अभिनय यात्राबाट कला क्षेत्रमा प्रवेश गरेका आङथुपो पछिल्लो समय लेखन, निर्देशन र चलचित्र निर्माणमा समेत सक्रिय छन् । चुलाचुली रंगमञ्चका अध्यक्षसमेत रहेका उनले विगत १८ वर्षदेखि सक्रिय नाट्य संस्थामार्फत स्थानीय रंगमञ्चको विकासमा योगदान दिँदै आएका छन् । उनले आधा दर्जनभन्दा बढी ब्ल्याक बक्स नाटक लेखन तथा निर्देशन गरिसकेका छन् । उनका चर्चित नाटकमा ‘झोडा’ र ‘उर्फ दारासिङ’ रहेका छन् । नाटक र रंगमञ्चसँगै म्युजिक भिडियो तथा वेब सिरिज निर्देशनमा समेत अनुभव बटुलेका आङथुपोले लकडाउनको समयमा चुलाचुली मिडियाको ब्यानरमा निर्माण भएको वेब सिरिज ‘सेवारो बाजे’ को लेखन तथा निर्देशन गरेका थिए । स्थानीय परिवेशमै रहेर सीमित बजेटमा पनि गुणस्तरीय चलचित्र निर्माण गर्न सकिन्छ भन्ने सम्भावनाको खोजीमा रहेका आङथुपोका लागि ‘समरः अ मेमोरी इन द लस्ट वाटर’ चलचित्र क्षेत्रमा अघि बढ्ने अर्को महत्वपूर्ण खुड्किलो बनेको छ ।
.jpeg)
निर्देशक आङथुपोले आफ्नै गाउँठाउँमा रहेर कम बजेटमा कसरी राम्रो फिल्म बनाउन सकिन्छ भन्ने प्रश्नले आफूलाई निरन्तर सोच्न बाध्य बनाएको बताए । उनले भने, “त्यसको सानो जवाफ यो फिल्ममा भेटे जस्तो लाग्यो । यो सानो प्रयास नै मेरा लागि भोलिको फिचर फिल्म निर्माणका लागि ठूलो ऊर्जा पनि हो ।” स्थानीय युवा, कलाकार र सिर्जनशील जनशक्तिको सहकार्यमा निर्माण भएको यस चलचित्रले मोफसलमा रहेर पनि नेपाली चलचित्र क्षेत्रमा सम्भावना खोजिरहेका नयाँ पुस्ताको आत्मविश्वासको गोरेटो बनेका छन ।


..jpeg)

..jpeg)


प्रतिकृया दिनुहोस