• मंगलबार ७-१८-२०८३/Tuesday 11-03-2026
  • 01:32:45

डा. केसीको स्वास्थ्य बुझ्न प्रदेशका स्वास्थ्य सचिव इलाममा

आइतबार, १६ कार्तिक, २०८३

इलाम :
चिकित्सा शिक्षा र स्वास्थ्य क्षेत्र सुधारका माग राख्दै २५औँ पटक सत्याग्रहमा बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था बुझ्न कोशी प्रदेशका स्वास्थ्य सचिव डा. कीर्तिपाल सुवेदी इलाम अस्पताल आइपुगेका छन् ।
स्वास्थ्य अवस्था जटिल बन्दै गएपछि अस्पताल भर्ना गरिएका केसीको अवस्थाबारे सचिव सुवेदीले उपचारमा संलग्न चिकित्सकसँग जानकारी लिएका हुन् । उनले केसीको स्वास्थ्य अवस्था, उपचार प्रक्रिया र अस्पतालले उपलब्ध गराइरहेको सेवाबारे चिकित्सकहरूसँग छलफल गरेका थिए ।
छलफलका क्रममा सचिव सुवेदीले केसीले उठाएका मागमध्ये प्रदेश सरकारको क्षेत्राधिकारभित्र रहेर सम्बोधन गर्न सकिने विषय नरहे पनि माग सम्बोधनका लागि आवश्यक पहलमा आफ्नो सहयोग रहने बताए ।
अस्पताल भ्रमणका क्रममा उनले इलाम अस्पतालका प्रमुख डा. अमिताभ ठाकुरसँग अस्पतालको समग्र अवस्था, सेवा प्रवाह र उपलब्ध स्वास्थ्य सुविधाबारे जानकारी लिनुका साथै विभिन्न सेवा तथा पूर्वाधारको अनुगमनसमेत गरेका थिए ।
डा. केसी चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका विभिन्न माग राख्दै इलामको नारायणस्थान मन्दिर परिसरमा सत्याग्रहमा बसेका हुन् । माग सम्बोधनका लागि सरकारलाई दबाब दिँदै आएका उनको स्वास्थ्य अवस्था कमजोर बनेपछि अस्पताल भर्ना गरिएको हो ।

प्रतिकृया दिनुहोस
↑