• बिहीबार ६-१-२०८३/Thursday 09-17-2026
  • 04:51:53

राष्ट्रिय जर्सीको सपनामा प्रनिश, यू–१५ को २० मा

मंगलबार, २३ भदौ, २०८३


इलाम :
माईजोगमाई गाउँपालिका ५ को एउटा सामान्य गाउँ सोयाङ । त्यही गाउँको मैदानमा बलसँग खेल्दै हुर्किएका प्रनिश राई अहिले नेपाली फुटबलको राष्ट्रिय टोलीको ढोकासम्म पुगेका छन् ।
स्थानीय मैदानमा सुरु भएको उनको फुटबल यात्रा अहिले नेपाली अन्डर १५ (यु १५) राष्ट्रिय फुटबल टोलीको प्रारम्भिक २० खेलाडीमा पुगेर नयाँ मोडमा उभिएको छ । अखिल नेपाल फुटबल संघ (एन्फा)ले यू १५ विश्वस्तरीय प्रतियोगितालाई लक्षित गरी सञ्चालन गरेको छनोटका विभिन्न चरण पार गर्दै प्रनिशले प्रारम्भिक टोलीमा स्थान बनाएका हुन् ।
    यो सफलता प्रनिशका लागि केवल एउटा छनोट होइन, वर्षौंको अभ्यास, अनुशासन र निरन्तर प्रयासको परिणाम हो ।
सानै उमेरदेखि फुटबलप्रति आकर्षित प्रनिश गाउँको मैदानमा खेल्दै सीपलाई निखार्दै गए । फुटबलप्रतिको लगाव बढ्दै गएपछि उनले प्रतिस्पर्धात्मक खेलको यात्रा सुरु गरे । दुई वर्षअघि यू  १३ छनोटमा सफलता पाएपछि उनको यात्राले नयाँ बाटो समात्यो । उनी एन्फा एकेडेमी धरानमा आबद्ध भए ।
एकेडेमीमा प्रवेश गरेपछि उनको दैनिकी नै बदलियो । नियमित प्रशिक्षण, शारीरिक अभ्यास र प्रतियोगिताले उनको खेललाई थप परिष्कृत बनाउँदै लग्यो । गाउँको मैदानमा साथीहरूसँग बल खेल्ने बालक विस्तारै प्रशिक्षकको निगरानीमा राष्ट्रिय स्तरको खेलाडी बन्ने यात्रामा अघि बढे । अहिले यू १५ राष्ट्रिय टोलीको प्रारम्भिक २० खेलाडीमा प्रनिशको नाम अटाएको छ ।
खेलकुदसँगको सम्बन्ध परिवारमै 
प्रनिशको खेलकुदसँगको सम्बन्ध भने मैदानमा बल बोकेर दौडन थालेपछि मात्र बनेको होइन । उनको परिवारमै खेलकुदको वातावरण थियो ।
उनका बुबा प्रविन राई एथलेटिक्सका पूर्व राष्ट्रिय खेलाडी हुन् । लामो समय खेलकुदमा बिताएका प्रविन माईजोगमाई खेलकुद परिषद्का पूर्वअध्यक्षसमेत हुन् । हाल उनी ओखलढुंगाको खिजिदेम्बा गाउँपालिकामा खेल प्रशिक्षकका रूपमा कार्यरत छन् । 
    बुबाको खेलकुद अनुभव र वातावरणले प्रनिशलाई खेल क्षेत्रमा अघि बढ्न प्रेरणा दिएको छ । तर राष्टिूय टोलीको ढोकासम्म पुग्ने बाटो भने उनले आफ्नै मेहनतले तय गरेका हुन् ।
माईजोगमाई गाउँपालिकाबाट यू १५ छनोट प्रक्रियाको प्रारम्भिक २० खेलाडीमा पर्न सफल प्रनिश अहिले गाउँका बालबालिका र फुटबलप्रेमीका लागि प्रेरणाका पात्र बनेका छन् । उनको सफलताले स्थानीय स्तरमा पनि ‘गाउँबाट पनि राष्ट्रिय खेलाडी बन्न सकिन्छ’ भन्ने विश्वास बढाएको छ ।
अब लक्ष्य अन्तिम टोली
प्रारम्भिक २० खेलाडीमा स्थान बनाएपछि प्रनिशको यात्रा अझ कठिन चरणमा प्रवेश गरेको छ । प्रारम्भिक छनोट पार गर्नु सफलता भए पनि अन्तिम राष्ट्रिय टोलीमा स्थान बनाउन उनले अझै आफूलाई प्रमाणित गर्नुपर्नेछ । तर अहिलेसम्मको यात्राले उनको आत्मविश्वास भने बलियो बनाएको छ ।
 

प्रतिकृया दिनुहोस