• शुक्रबार ६-१६-२०८३/Friday 10-02-2026
  • 04:10:49

कांग्रेसमा हिमाल कर्माचार्य समूहको ‘क्लिन स्वीप’

बिहीबार, १५ असोज, २०८३


इलाम :
 नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत इलाममा भएको क्षेत्रीय अधिवेशनको अन्तिम मतपरिणाम सार्वजनिक भएसँगै जिल्लाको पार्टी राजनीतिमा नयाँ शक्ति समीकरणको तस्वीर स्पष्ट भएको छ । प्रतिनिधिसभा निर्वाचन क्षेत्र तथा प्रदेशसभा निर्वाचन क्षेत्रका सबै पदमा हिमाल कर्माचार्य पक्षका उम्मेदवारहरू विजयी भएका छन् । विभिन्न क्षेत्रका सभापति तथा पदाधिकारी पदमा हिमाल कर्माचार्य पक्षका उम्मेदवारहरू विजयी हुँदा भेषराज आचार्य पक्षका उम्मेदवारहरू पराजित भएका छन् । इलाम क्षेत्र नं. २ को क्षेत्रीय सभापतिमा तीर्थराज गुरुङ निर्वाचित भएका छन् । गुरुङले ५४७ मत प्राप्त गर्दै गोपाल चौहानलाई पराजित गरेका हुन् । चौहानले ५०२ मत प्राप्त गरे । त्यस्तै, इलाम क्षेत्र नं. २ प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा खगेन्द्र योङहाङ निर्वाचित भएका छन् । उनले पदम कुरुङफोङलाई पराजित गर्दै प्रदेश क्षेत्रको नेतृत्व हात पारेका हुन् ।
प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. २ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’को सभापतिमा श्रीबहादुर विष्ट विजयी बनेका छन् । विष्टले ३५५ मत प्राप्त गर्दा उनका प्रतिस्पर्धी अर्जुन पोखरेलले २७३ मत प्राप्त गरे । यता, इलाम क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिको सभापतिमा जीवनकुमार नेपाल निर्वाचित भएका छन् । उनले ३५९ मत प्राप्त गर्दै विजयी बने । सभापतिका अन्य उम्मेदवार हरिकला श्रेष्ठले ३३६  मत र जङ्ग गुरुङले १७८ मत प्राप्त गरे ।
क्षेत्र नं. १ को क्षेत्रीय कार्यसमितिको सचिवमा राजेन्द्रले ४१७ र लोकबहादुरले ४०९ मत प्राप्त गरेका छन् । सहसचिवमा प्रदीप भट्टराई ३२१ मतसहित निर्वाचित भए । उनका प्रतिस्पर्धी नकुल खड्काले २६१ र जीवन राईले २४८ मत प्राप्त गरे । इलाम क्षेत्र नं. १ प्रदेशसभा निर्वाचन क्षेत्र ‘ख’को सभापतिमा मनीकुमार स्याङ्बो ‘सुवास’ निर्वाचित भएका छन् । उनले ३३० मत प्राप्त गर्दा नगेन्द्र राईले ६६ र रेसबहादुर कटुवालले ५० मत पाए । यसैगरी, उक्त प्रदेश क्षेत्रको सचिवमा संजय राई २२५ मतसहित निर्वाचित भएका छन् । धनबहादुर कार्कीले २०७ मत प्राप्त गरे । सहसचिवमा विमल कट्टेल २२२ मतसहित निर्वाचित भए भने गणेश राईले २१० मत प्राप्त गरे । प्रतिनिधिसभा निर्वाचन क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा निर्वाचन क्षेत्र ‘क’को सभापतिमा प्रज्वल भट्टराई निर्वाचित भएका छन् । उनले २१५ मत प्राप्त गर्दै विजयी हुँदा दुर्गा सुवेदीले ११२ र राजकुमार सेरेङले ९४ मत प्राप्त गरे । उक्त प्रदेश क्षेत्रको उपसभापतिमा विक्रम अधिकारी २०६ मतसहित निर्वाचित भए भने निङमा तामाङले १९२ मत प्राप्त गरे । सचिवमा ललित प्रधान सर्वसम्मत निर्वाचित भएका छन् । सहसचिवमा विक्रम प्रधान २०९ मतसहित निर्वाचित भए । इलाम कांग्रेसको क्षेत्रीय तथा प्रदेश अधिवेशनबाट आएको परिणामले जिल्लाको आन्तरिक शक्ति समीकरणमा कर्माचार्य पक्षको प्रभाव देखाएको छ ।  विभिन्न क्षेत्रका सभापति तथा पदाधिकारीमा उक्त पक्षनिकट उम्मेदवारहरू विजयी भएपछि यसलाई जिल्लामा कर्माचार्य समूहको बलियो संगठनात्मक उपस्थितिका रूपमा हेरिएको छ ।


 

प्रतिकृया दिनुहोस
↑