• बुधबार ५-३-२०८३/Wednesday 08-19-2026
  • 04:50:58

फिक्कलबाट ओलीको कटाक्ष : जनताको अपेक्षा पूरा गर्न नसक्ने सरकारको औचित्य के ?

शनिबार, ३० श्रावण, २०८३

इलाम :  एमाले अध्यक्ष केपी शर्मा ओलीले जनताको अपेक्षा पूरा गर्न नसकेकाे भन्दै  सरकारमाथि प्रश्न  उठाएका छन् ।
फिक्कलमा शनिबार आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघको बैठक उद्घाटन गर्दै ओलीले वर्तमान सरकार जनताका समस्या समाधान गर्न असफल भएको आरोप लगाए ।
इलामको फिक्कलमा शनिबार आयोजित लोकतान्त्रिक आदिवासी जनजाति महासंघ, नेपालको केन्द्रीय कमिटीको चौथो पूर्ण बैठक उद्घाटन गर्दै ओलीले सरकार जनताका दैनिक समस्या समाधान, विकास र सुशासनका सवालमा गम्भीर बन्न नसकेको आरोप लगाए ।
ओलीले प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले देशलाई सही दिशामा अघि बढाउन नसक्ने दाबी गरे । सरकारको प्राथमिकता जनताको समस्या समाधान र मुलुकको विकास हुनुपर्नेमा त्यसतर्फ पर्याप्त ध्यान नदिएको उनको आरोप थियो ।
“हामी विचलित हुनुपर्ने कुनै आवश्यकता छैन, यो देश तपाईँ–हाम्रो हो । तपाईँ–हामीले यो देशको माया गर्नुपर्छ, यो देश बनाउनुपर्छ,” ओलीले भने ।
उनले सरकारमाथि राजनीतिक प्रतिशोध साँधेको आरोपसमेत लगाए । आफू, रमेश लेखक र अन्य नेताहरूलाई पक्राउ गर्ने तथा झुटा मुद्दा लगाउने प्रयास भएको दाबी गर्दै ओलीले सरकारको कदमप्रति आपत्ति जनाए ।
सम्पत्ति छानबिनका लागि गठन गरिएको आयोगको निष्पक्षतामाथि पनि ओलीले प्रश्न उठाए । छानबिनको प्रक्रिया सबैका लागि समान हुनुपर्ने भन्दै उनले राजनीतिक पूर्वाग्रहका आधारमा व्यक्तिलाई लक्षित गर्न नहुने बताए ।

 ओलीले देश बर्बाद हुन लागेको भन्दै चिन्ता व्यक्त गरेका छन् । उनले उरन्ठेउला केटाहरूका कारण देश बर्बादीतिर जान लागेको भन्दै चिन्ता व्यक्त गरेका हुन् ।

‘जानेकाले गर्ने ठाउँमा यस्ता उरन्ठेउला केटाहरू.. । यसो अहिलेका माननीय भनेका केही नाम यसो सम्झिनुस् त, कस्ता छन् ? ओहो । त्यो भन्दा बढी नभनु,’ ओलीले भने, ‘देश बर्बाद हुँदैछ । एउटा त संविधान मिचियो, संविधानलाई बाटोमा फर्काउनुछ हामीले ।’

सुनसरीमा भएको घटनाको प्रसङ्ग निकाल्दै ओलीले सरकारमाथि सामाजिक तथा साम्प्रदायिक तनाव बढाएको आरोप लगाए । सरकारकै गतिविधिका कारण विवाद र हिंसा भड्किएको उनको दाबी थियो ।
प्रधानमन्त्री शाहले नेपालले पनि भारतको सीमा मिचेको भन्ने अभिव्यक्ति दिएको प्रसङ्गमा ओलीले आपत्ति जनाए । राष्ट्रियता र सीमा जस्ता संवेदनशील विषयमा सरकार र प्रधानमन्त्री जिम्मेवार हुनुपर्ने उनले बताए ।
ओलीले आदिवासी जनजातिका अधिकार, पहिचान र समान सहभागिताका विषयमा एमाले प्रतिबद्ध रहेको बताए । जनजाति समुदायका सवाललाई राजनीतिक रूपमा स्थापित गर्न लोकतान्त्रिक आदिवासी जनजाति महासंघलाई थप सशक्त र प्रभावकारी बनाउनुपर्नेमा उनले जोड दिए ।
बैठकमा एमाले सचिव भानुभक्त ढकाल, सचिव शेरधन राई, नेता विशाल भट्टराई, भगवती चौधरीलगायतका नेताहरू सहभागी थिए ।
ओली शनिबार नै इलाम आइपुगेका हुन् । उनी आइतबारसम्म इलाममा रहने बताइएको छ ।

प्रतिकृया दिनुहोस