माईजोगमाईका सबै वडामा प्रविधि, उत्पादनमा आत्मनिर्भर बनाउने लक्ष्य
भगीरथ भण्डारी
इलाम, ३० भदौ
इलामको माईजोगमाई गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा विभिन्न विकास, सेवा प्रवाह र सुशासनका क्षेत्रमा काम गरेको जनाएको छ । गाउँपालिकाले प्रस्तुत गरेको वार्षिक प्रगति तथा असल अभ्याससम्बन्धी विवरणमा कुल ४८ करोड ६ लाख ६० हजार ९ सय ९१ रुपैयाँ आम्दानीमध्ये ३७ करोड ७१ लाख ७८ हजार ४ सय ८७ रुपैयाँ ३८ पैसा खर्च भएको उल्लेख छ । यो कुल आम्दानीको ७८.४७ प्रतिशत हो ।
तर, गाउँपालिकाको वित्तीय विवरणमा बेरुजुको अवस्था भने गम्भीर देखिएको छ । आर्थिक वर्ष २०८२÷८३ सम्म कायम कुल बेरुजु १३ करोड ३८ लाख १७ हजार ७ सय ९५ रुपैयाँ रहेको गाउँपालिकाले जनाएको छ । सोही वर्ष ५४ लाख ११ हजार ४ सय ९७ रुपैयाँ बेरुजु फछ्र्योट भएको विवरणमा उल्लेख छ । आर्थिक वर्ष २०८३÷८४ मा फछ्र्योट गर्नुपर्ने बेरुजु रकम १४ करोड ५१ लाख २८ हजार ९ सय ५६ रुपैयाँ देखाइएको छ ।
छ वटै वडामा फाइबर, सीसी क्यामेरादेखि ई–अटेन्डेन्ससम्म
गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा आफ्नै पहलमा छ वटै वडामा फाइबर केवल विस्तार गरेको जनाएको छ । सबै वडामा सीसी क्यामेरा, आईपी फोन र ई–अटेन्डेन्स सिन्क्रोनाइजर जडान गरी पालिकाभरि निगरानी तथा डिजिटल प्रणाली विस्तार गरिएको विवरणमा उल्लेख छ । नयाँबजार बजार क्षेत्रमा समेत सीसीटीभी जडान गरिएको छ ।
त्यस्तै, गाउँपालिका पूर्ण खोपयुक्त पालिका घोषित भएको, जनता बिमा कार्यक्रम सञ्चालनमा रहेको र कृषि प्रदर्शनी महोत्सव आयोजना गरिएको जनाएको छ । डिजिटल प्रोफाइल, दोस्रो आवधिक योजना, भू–उपयोग योजना तथा पर्यटन योजना तर्जुमा भएको विवरणमा उल्लेख छ । राष्ट्रपति रनिङ शिल्डको जिल्लास्तरीय प्रतियोगितामा स्वर्ण, रजत र कांस्य पदक जित्ने उत्कृष्ट खेलाडीलाई नगद पुरस्कारसहित सम्मान गरिएको गाउँपालिकाले जनाएको छ ।
घर–घरमै अपाङ्गता परिचयपत्र
माईजोगमाई गाउँपालिकाले घर–घरमै अपाङ्गता परिचयपत्र वितरण तथा स्वास्थ्य परामर्श सेवा उपलब्ध गराउने अभ्यास सुरु गरेको छ । अपाङ्गता भएका व्यक्तिलाई सेवा लिन कार्यालयसम्म आउनुपर्ने कठिनाइ कम गर्ने उद्देश्यले यस्तो अभ्यास गरिएको गाउँपालिकाको विवरणमा उल्लेख छ । त्यस्तै, भौगोलिक विशिष्टताका आधारमा ‘एक वडा एक उत्पादन’ कार्यक्रम सञ्चालन गरिएको छ । कृषि क्षेत्रलाई स्थानीय उत्पादन र आर्थिक गतिविधिसँग जोड्ने उद्देश्यले कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ ।
अध्यक्ष तथा उपाध्यक्षसँग विद्यार्थी र अभिभावक साक्षात्कार तथा अन्तरक्रिया कार्यक्रम सञ्चालन गरिएको छ । गाउँपालिकाले ‘एक वडा एक गौरवको आयोजना’ कार्यक्रम पनि सञ्चालन गरेको जनाएको छ ।

२२५ योजना, २१३ उपभोक्ता समितिमार्फत
आर्थिक वर्ष २०८२÷८३ मा गाउँपालिकाले बजेटका आधारमा २२५ वटा योजना स्वीकृत गरेको विवरणमा उल्लेख छ । तीमध्ये ५० लाख रुपैयाँभन्दा बढी बजेट भएका नौवटा आयोजना छन् । २५ लाखदेखि ५० लाख रुपैयाँसम्मका पाँच, पाँच लाखदेखि २५ लाख रुपैयाँसम्मका १९ र पाँच लाख रुपैयाँसम्म बजेट भएका १९२ वटा आयोजना रहेको गाउँपालिकाले जनाएको छ । कार्यान्वयन विधिका आधारमा २१३ वटा योजना उपभोक्ता समितिमार्फत र १२ वटा योजना निर्माण व्यवसायीमार्फत सञ्चालन गरिएको विवरणमा उल्लेख छ । योजनाको कुल संख्या कार्यान्वयन विधिको तालिकामा २२४ देखाइएको छ ।
पुँजीगत खर्च ६६.२५ प्रतिशत
गाउँपालिकाको विषय क्षेत्रगत विनियोजन तथा खर्च विवरणअनुसार आर्थिक विकासतर्फ चालु बजेट एक करोड ८५ लाख ३५ हजार रुपैयाँ र पुँजीगत बजेट पाँच करोड ३३ लाख ४५ हजार रुपैयाँ विनियोजन गरिएको थियो । यसमध्ये चालुतर्फ एक करोड ४७ लाख १७ हजार १८१ रुपैयाँ ९१ पैसा र पुँजीगततर्फ दुई करोड ९८ लाख ६० हजार ८८९ रुपैयाँ ७२ पैसा खर्च भएको छ । सामाजिक विकासतर्फ चालु बजेट २० करोड ९७ लाख १८ हजार रुपैयाँ र पुँजीगत बजेट एक करोड ८१ लाख ५२ हजार ८ सय रुपैयाँ विनियोजन भएको थियो । चालुतर्फ १९ करोड ६ लाख ५४ हजार ६ सय ५५ रुपैयाँ ४ पैसा र पुँजीगततर्फ एक करोड ५७ लाख ७६ हजार २ सय १३ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । पूर्वाधार विकासतर्फ चालु बजेट सात लाख ५० हजार रुपैयाँ र पुँजीगत बजेट सात करोड २९ लाख १८ हजार ४ सय रुपैयाँ विनियोजन भएको थियो । चालुतर्फ ६ लाख ४४ हजार ४ सय ३५ रुपैयाँ र पुँजीगततर्फ पाँच करोड ५० लाख ८८ हजार २ सय ५५ रुपैयाँ खर्च भएको छ । कार्यालय सञ्चालन तथा प्रशासनिकतर्फ चालु बजेट आठ करोड ६९ लाख २६ हजार ७ सय ९१ रुपैयाँ र पुँजीगत बजेट एक करोड १४ लाख ३० हजार रुपैयाँ विनियोजन भएको थियो । चालुतर्फ ६ करोड ३२ लाख ८९ हजार ७ सय ८६ रुपैयाँ ७१ पैसा र पुँजीगततर्फ ४६ लाख ४८ हजार ९ सय ३ रुपैयाँ खर्च भएको छ । सुशासन तथा संस्थागत क्षमता विकासतर्फ ५६ लाख ८५ हजार रुपैयाँ चालु र २४ लाख ९८ हजार १ सय ६८ रुपैयाँ पुँजीगत बजेट विनियोजन भएको विवरणमा उल्लेख छ । समग्रमा चालुतर्फ ३२ करोड १६ लाख १४ हजार ७ सय ९१ रुपैयाँ विनियोजन भएकामा २७ करोड १८ लाख ४ हजार २ सय २६ रुपैयाँ खर्च भएको छ । पुँजीगततर्फ १५ करोड ९० लाख ४६ हजार २ सय रुपैयाँ विनियोजन भएकामा १० करोड ५३ लाख ७४ हजार २ सय ६० रुपैयाँ ७२ पैसा खर्च भएको विवरणमा उल्लेख छ ।

विशेष अनुदान खर्च हुन सकेन
गाउँपालिकाको अनुदानगत खर्च विवरणअनुसार संघीय वित्तीय समानीकरण अनुदानतर्फ आठ करोड ४७ लाख ७४ हजार १ सय ५० रुपैयाँ प्राप्त भएकामा सात करोड ४६ लाख ६३ हजार ७ सय ३९ रुपैयाँ ४८ पैसा खर्च भएको छ । प्रदेश वित्तीय समानीकरण अनुदानतर्फ ८३ लाख ६२ हजार रुपैयाँ प्राप्त भएकामा ३९ लाख ३४ हजार ५ सय ६० रुपैयाँ खर्च भएको छ ।
संघीय सशर्त अनुदान चालुतर्फ १९ करोड १७ लाख २० हजार रुपैयाँ प्राप्त भएकामा १७ करोड ७१ लाख १५ हजार ९ सय ४१ रुपैयाँ खर्च भएको छ । खर्च प्रतिशत ९२.३८ रहेको छ । संघीय सशर्त अनुदान पुँजीगततर्फ तीन करोड तीन लाख रुपैयाँ प्राप्त भएकामा दुई करोड १९ लाख ७६ हजार ६ सय ३५ रुपैयाँ खर्च भएको छ ।
प्रदेश सशर्त अनुदान चालुतर्फ २४ लाख १८ हजार रुपैयाँ प्राप्त भएकामा १३ लाख ६५ हजार ७ सय २४ रुपैयाँ खर्च भएको छ । प्रदेश पुँजीगततर्फ ६६ लाख ४५ हजार रुपैयाँ प्राप्त भएकामा ६३ लाख ५६ हजार ७ सय ९१ रुपैयाँ १७ पैसा खर्च भएको छ । संघीय समपूरक अनुदानतर्फ ६० लाख रुपैयाँ प्राप्त भएकामा ३७ लाख ३७ हजार ७ सय ८२ रुपैयाँ खर्च भएको छ । प्रदेश समपूरक अनुदानतर्फ एक करोड २० लाख रुपैयाँ प्राप्त भएकामा ८७ लाख ३५ हजार ८ सय ३१ रुपैयाँ खर्च भएको विवरणमा उल्लेख छ । संघीय विशेष अनुदानतर्फ ९० लाख रुपैयाँ प्राप्त भएकोमा खर्च शून्य रहेको छ ।
आन्तरिक आम्दानी ९७ लाख
गाउँपालिकाको राजस्व तथा अन्य आम्दानी विवरणअनुसार संघीय राजस्व बाँडफाँटबाट आठ करोड ५० लाख ५७ हजार ९ सय ९१ रुपैयाँ प्राप्त भएको छ । यसमध्ये पाँच करोड ८० लाख २३ हजार ७ सय ५३ रुपैयाँ खर्च भएको छ । प्रदेश राजस्व बाँडफाँटबाट ६१ लाख ५८ हजार रुपैयाँ प्राप्त भएकामा २३ लाख ८६ हजार ४ सय १२ रुपैयाँ खर्च भएको छ । रोयल्टी बाँडफाँटबाट १५ लाख रुपैयाँ प्राप्त भएको विवरणमा उल्लेख छ । आन्तरिक स्रोतबाट ९७ लाख ७ हजार ८ सय २९ रुपैयाँ २० पैसा प्राप्त भएकामा ८० लाख ८६ हजार ९ सय ५० रुपैयाँ खर्च भएको छ । अन्य स्रोत तथा बैंक मौज्दातबाट तीन करोड २६ लाख २४ हजार ३ सय १७ रुपैयाँ प्राप्त भएकामा एक करोड सात लाख ९४ हजार ३ सय ६८ रुपैयाँ खर्च भएको छ ।
कृषि मुख्य आम्दानीको स्रोत
गाउँपालिकाको आम्दानीका स्रोतमा कृषि, व्यापार, उद्योग, जागिर, ज्याला मजदुरी, वैदेशिक रोजगार, भाडा, उद्यम तथा अन्य क्षेत्र रहेका छन् । कृषिबाट एक लाख ३८ हजार ६ सय ८८ रुपैयाँ अर्थात् ३५.२० प्रतिशत आम्दानी हुने गरेको विवरणमा उल्लेख छ । व्यापारबाट ५१ हजार २ सय २० रुपैयाँ अर्थात् १३ प्रतिशत, उद्योगबाट १८ हजार १ सय २४ रुपैयाँ अर्थात् ४.६० प्रतिशत र जागिरबाट ४२ हजार ५ सय ५२ रुपैयाँ अर्थात् १०.८० प्रतिशत आम्दानी हुने गरेको छ । ज्याला मजदुरीबाट ५३ हजार ७ सय ८१ रुपैयाँ अर्थात् १३.६५ प्रतिशत, वैदेशिक रोजगारबाट ३१ हजार ९ सय १४ रुपैयाँ अर्थात् ८.१० प्रतिशत, भाडाबाट २० हजार ४ सय ८८ रुपैयाँ अर्थात् ५.२० प्रतिशत र उद्यमबाट १३ हजार ७ सय ९० रुपैयाँ अर्थात् ३.५० प्रतिशत आम्दानी हुने गरेको विवरणमा उल्लेख छ ।
३३ सामुदायिक र आठ निजी विद्यालय
माईजोगमाई गाउँपालिकामा ३३ वटा सामुदायिक विद्यालय, आठ निजी विद्यालय, दुई सामुदायिक सिकाइ केन्द्र र दुई धार्मिक विद्यालय रहेका छन् । गाउँपालिकाको शैक्षिक विवरणमा निरक्षर जनसंख्या चार हजार २ सय २५, १० कक्षा वा तल्लो योग्यता भएका आठ हजार ९ सय ४८, एसएलसी÷एसईई उत्तीर्ण दुई हजार ४ सय ९२, कक्षा १२ उत्तीर्ण दुई हजार १ सय ६७, स्नातक ६ सय ४१, स्नातकोत्तर १ सय ७८ र विद्यावारिधी गरेका १२ जना रहेको उल्लेख छ । अन्य शैक्षिक योग्यता भएका ४ सय ६८ जना रहेका छन् ।
पर्यटनको प्रचुर सम्भावना
माईजोगमाई गाउँपालिका प्राकृतिक, धार्मिक तथा सांस्कृतिक पर्यटनको सम्भावना बोकेको क्षेत्रका रूपमा प्रस्तुत गरिएको छ । साविक नामसालिङ, नयाँबजार, जोगमाई, सोयाङ र प्याङ गाविस मिलेर गाउँपालिका बनेको छ । नयाँबजारमा रहेको सन्त बालागुरुको कर्मभूमि, बौद्ध गुम्बा, सिंहदेवी मन्दिर, नामसालिङको माइबेनी धाम, थुम्केबाट देखिने सूर्योदय, जोगमाईको प्राकृतिक फाँट, खर्क तथा जलभण्डार, सोयाङको साततले छाँगा, जौवारी क्षेत्र, नयाँबजार, शुक्रबारे बजार र बालागुरु धामलाई गाउँपालिकाका प्रमुख पर्यटकीय तथा धार्मिक स्थलका रूपमा प्रस्तुत गरिएको छ । नेपालका अल्पसंख्यक लेप्चा र थामी समुदायको बसोबासले गाउँपालिकाको सामाजिक तथा सांस्कृतिक विविधता थप समृद्ध बनाएको विवरणमा उल्लेख छ । माइबेनी धाम, सिंहदेवी मन्दिर, बौद्ध गुम्बा, उत्तरे पोखरी, साततले झरना र प्याङ टाकुराजस्ता स्थलहरू धार्मिक तथा प्राकृतिक आकर्षणका रूपमा रहेका छन् । नयाँबजार क्षेत्रमा बालागुरुले स्थापना गरेको बालागुरु शिवालय धाममा वार्षिक रूपमा लाग्ने बालाचतुर्दशी मेलामा नेपाल तथा भारतबाट भक्तजन आउने गरेको गाउँपालिकाले जनाएको छ ।
१५ शैयाको अस्पताल भवन अलपत्र
गाउँपालिकाको बहुवर्षीय तथा समस्याग्रस्त आयोजनाको विवरणमा १५ शय्याको आधारभूत अस्पताल भवन निर्माणको भौतिक प्रगति ३६ प्रतिशत मात्र भएको उल्लेख छ । आर्थिक वर्ष २०७८÷७९ देखि २०८१÷८२ सम्म कार्यान्वयन अवधि तोकिएको आयोजनाको कुल लागत २१ करोड ८६ लाख ७२ हजार ३ सय ५५ रुपैयाँ रहेको छ । संघीय लागत साझेदारीमा निर्माण भइरहेको आयोजनाको भौतिक प्रगति ३६ प्रतिशत रहेको विवरणमा उल्लेख छ । त्यस्तै, माईजोगमाई–६ प्याङको फलाटे खानेपानी आयोजनाको काम ४२ प्रतिशत भएको छ एक करोड ७५ लाख ५२ हजार ६ सय ४० रुपैयाँ लागत रहेको आयोजनामा संघीय सरकारको विशेष अनुदानमार्फत बजेट व्यवस्था गरिएको थियो ।
सडक विस्तारमा प्रगति
गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा स्थानीय सडक विस्तार तथा सरसफाइका क्षेत्रमा पनि प्रगति गरेको जनाएको छ । स्थानीय तहभित्र निर्मित कालोपत्रे सडक ११ किलोमिटरबाट बढेर ११.७ किलोमिटर पुगेको छ । खण्डास्मित सडक ५२ किलोमिटरबाट ५२.५ किलोमिटर र धुले सडक ५१५ किलोमिटरबाट ५१९ किलोमिटर पुगेको विवरणमा उल्लेख छ । सिँचाइ सुविधा पुगेको खेतियोग्य जमिनको प्रतिशत ५०.१४ मा यथावत् रहेको छ । आधारभूत तहको सरसफाइ पुगेको घरधुरी प्रतिशत ९८ बाट बढेर ९८.५६ पुगेको छ । आधारभूत तहको खानेपानी सुविधा पुगेको घरधुरी ९७.२ प्रतिशत रहेको छ । गाउँपालिकामा विद्यालय संख्या ४३ र स्वास्थ्य संस्था संख्या ६ रहेको विवरणमा उल्लेख छ । इन्टरनेट सुविधाको पहुँच १०० प्रतिशत रहेको दाबी गरिएको छ ।
प्रशासनिक भवन अधुरो
गाउँपालिकाको प्रशासनिक भवन अधुरो रहेको विवरणमा उल्लेख छ । छ वटै वडा कार्यालय आफ्नै भवनमा सञ्चालनमा रहेको तथा सबै वडा केन्द्रसम्म सडक पहुँच पुगेको गाउँपालिकाले जनाएको छ । २०७४ सालमा संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयबाट स्वीकृत दरबन्दीअनुसार २४ जना कर्मचारीको दरबन्दी रहेकोमा १७ पद रिक्त रहेको विवरणमा उल्लेख छ । गाउँपालिकाले स्थानीय तह आफैंले संगठन तथा व्यवस्थापन सर्वेक्षण गरी प्रतिवेदन स्वीकृत नगरेको जनाएको छ । गाउँपालिकामा चारवटा ऐन, पाँचवटा नियमावली, ४३ वटा कार्यविधि तथा मापदण्ड र तीनवटा निर्देशिका निर्माण भएको विवरणमा उल्लेख छ । दोस्रो आवधिक योजना बनेको, स्थानीय तहको वस्तुस्थिति विवरण आ.व. २०८१÷८२ मा तयार भएको तथा स्थानीय भवन मापदण्ड बनेको विवरणमा उल्लेख छ ।
सुशासनतर्फ ५६.२० अंक
स्थानीय तह संस्थागत क्षमता स्वमूल्याङ्कनमा गाउँपालिकाले ५६.२० अंक प्राप्त गरेको विवरणमा उल्लेख छ । स्थानीय तहको वित्तीय सुशासन जोखिम मूल्याङ्कनको नतिजा प्रकाशन नभएको जनाइएको छ । मन्त्रालयले तयार गरेको स्थानीय तहको प्रगति अनुगमन प्रणालीमा विवरण प्रविष्ट गरिएको छ । न्यायिक समितिमा १३ वटा उजुरी तथा गुनासा दर्ता भएकोमा ११ वटा कारबाही वा फछ्र्योट भएको विवरणमा उल्लेख छ । पुनरावेदनमा गएका उजुरीको संख्या शून्य रहेको छ । निगरानी निकाय तथा कार्यालयमा २२ वटा उजुरी तथा गुनासा प्राप्त भएकामा १३ वटा फछ्र्योट भएको विवरणमा उल्लेख छ ।
दमकल र फोहोर व्यवस्थापनमा चुनौती
गाउँपालिकामा आफ्नै वा अन्य स्थानीय तहसँगको सहकार्यमा दमकल सेवा उपलब्ध नभएको विवरणमा उल्लेख छ । फोहोर प्रशोधन केन्द्र छैन । स्यानिटरी ल्याण्डफिल साइट भए पनि अव्यवस्थित रहेको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले भौगोलिक रूपमा सुगम नभएको, दरबन्दीअनुसार कर्मचारीको अभाव रहेको, आन्तरिक आय न्यून रहेको तथा न्यूनतम बोलकबोलमा ठेक्का प्रस्ताव गर्दा आयोजनाको गुणस्तर कायम गर्न कठिनाइ भएको समस्याका रूपमा उल्लेख गरेको छ । निर्माण व्यवसायीले आयोजना समयमा सम्पन्न गर्न नसक्नु, आयोजनाको गुणस्तर मापन गर्न कठिन हुनु, अपेक्षित आन्तरिक आय संकलन गर्न नसक्नु, रिक्त दरबन्दीअनुसार कर्मचारी पदपूर्ति नहुनु तथा टुक्रे र साना आयोजनाको संख्या न्यूनीकरण गर्न नसक्नु प्रमुख चुनौतीका रूपमा प्रस्तुत गरिएको छ ।
संघ र प्रदेशसँग बजेट सुनिश्चितताको अपेक्षा
गाउँपालिकाले संघीय तथा प्रदेश सरकारबाट प्राप्त हुने समपूरक तथा विशेष अनुदान आयोजनाको प्रकृतिअनुसार आयोजना सम्पन्न नभएसम्म बजेट सुनिश्चित हुनुपर्ने अपेक्षा गरेको छ । बहुवर्षीय आयोजना, विशेषगरी १५ शय्याको अस्पताल भवन निर्माणका लागि समयमै बजेट सुनिश्चित हुनुपर्ने माग गरिएको छ । स्थानीय तहबाट अनिवार्य अवकाश भएका स्थायी कर्मचारीको सेवा सुविधाबापतको रकम संघीय सरकारले व्यवस्था गर्नुपर्ने गाउँपालिकाको अपेक्षा छ ।







प्रतिकृया दिनुहोस