चुहिने छानोबाट आफ्नै घरसम्म, पूरा भयो कृष्णबहादुरको सपना
गाउँलेको श्रमदान र देश–विदेशबाट जुटेको सहयोगले बन्यो सपनाको घर
भगीरथ भण्डारी,
इलाम, १३ असोज :
पानी पर्दा कृष्णबहादुर लिम्बू छानो हेर्थे । हावा चल्दा टाटी समातेर बस्थे । राति पानी चुहिन थालेपछि श्रीमती र नौ वर्षीया छोरीलाई ओत लगाउन घरको कुनाकाप्चा खोज्दै बित्थ्यो । ५८ वर्षको उमेरसम्म आइपुग्दा उनको सबैभन्दा ठूलो सपना न त ठूलो धन कमाउने थियो, न सुखसयलको जीवन बाँच्ने, बस्, पानी नचुहिने र बतासले नउडाउने एउटा सानो घर बनाउने थियो । इलाम नगरपालिका–५ भोर्लेनीका ५८ वर्षीय कृष्णबहादुर लिम्बूको एउटा सपना पुरा भएको छ ।
लामो समयदेखि भाटाको टाटीले बारेको जीर्ण घरमा श्रीमती र नौ वर्षीया छोरीसँग बस्दै आएका कृष्णबहादुरको त्यो सपना अब पूरा भएको छ । गाउँलेहरुको श्रमदान, सहयोगी दाताको आर्थिक तथा निर्माण सामग्री सहयोग र स्थानीय अगुवाहरूको पहलमा निर्माण गरिएको नयाँ घर सोमबार एक कार्यक्रमबीच कृष्णबहादुरलाई हस्तान्तरण गरिएको हो ।
.jpg)
उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेलले रिबन काटेर घर प्रवेश गराउँदै कृष्णबहादुरको परिवारलाई नयाँ घर हस्तान्तरण गरे । कार्यक्रममा बोल्दै पौडेलले समाजसेवा भनेको दुःखमा परेका मानिसको जीवनमा थोरै भए पनि खुसी थप्नु र त्यसबाट आफू पनि मनदेखि खुसी हुने बताए । कृष्णबहादुरको घर निर्माणमा हातेमालो गर्ने सबै सहयोगी दाताप्रति उनले हृदयदेखि नै आभार व्यक्त गरे । कार्यक्रममा इलाम नगरपालिका–५ का वडाध्यक्ष काजीबहादुर श्रेष्ठले सरकारले गर्नुपर्ने काम हो तर नितिगत समस्याका कारण सरकारले लगानी गर्न नमिल्ने भएता पनि समाजले गरेको कामको प्रसंसा गर्दै सरकारले नितिगत सुधार गरी यस्तोकाम गर्नुपर्ने सुझाव दिए ।
नयाँ घर पाएपछि कृष्णबहादुरको मुहारमा खुसी देखिन्थ्यो । बोली प्रस्ट नआउने उनी आफ्नो नयाँ घर देखाउँदै मुस्कुराइरहेका थिए । लामो समयदेखि दोहो¥याउँदै आएको ‘घर बनाउनु छ’ भन्ने उनको चाहना पुरा भएको छ ।
अपाङ्गता भएका कृष्णबहादुर दैनिक ज्याला मजदुरी गरेर परिवार चलाउँदै आएका छन् । गाउँघरमा दाउरा काट्ने, कटेरो बनाउने, मल बोक्ने जस्ता काम गरेर उनले जीविका धान्दै आएका थिए । एउटा गाई, बाख्रा र सुँगुर पालनबाट पनि परिवारको खर्चमा केही सहयोग हुँदै आएको छ । उनको पुरानो घरको अवस्था भने निकै दयनीय थियो । सामान्य हावाहुरी चल्दा पनि भाटाको टाटी उडाउने हो कि भन्ने चिन्ता हुन्थ्यो । कृष्णबहादुरको सपना पुरा गर्न नेपाल पत्रकार महासङ्घका पूर्वकेन्द्रीय सदस्य तथा पत्रकार सटेन्द्र जबेगू र इलाम नगरपालिका ५ का ठाकुर श्रेष्ठले उनको घरको अवस्थाबारे भिडियो सामग्री बनाएर सामाजिक सञ्जालमा सार्वजनिक गरेका थिए । त्यसपछि उद्योग वाणिज्य संघ इलामका अध्यक्ष कृष्ण पौडेललगायत सहयोगीहरू पनि अभियानमा जोडिए । कृष्ण पौडेलको व्याकपकै कारण घर बनाउन आँट भएको जबेगूको भनाई छ । सामाजिक सञ्जालमार्फत सुरु भएको सहयोग अभियानमा देश–विदेशबाट रकम तथा निर्माण सामग्री जुट्न थाल्यो । कसैले पाँच सय रुपैयाँ सहयोग गरे भने कसैले ५२ हजार रुपैयाँसम्म दिए । कतिपयले गिटी, बालुवा, काठ, रडलगायत निर्माण सामग्री उपलब्ध गराए । नगद पाँच लाख ७० हजार रुपैयाँ संकलन र श्रमदान र सहयोग सामाग्रीहरुसहित १० लाख रुपैयाँ लागतमा घर निर्माण गरिएको हो ।
.jpg)
‘ उनी साँग पैसा थिएन, कृष्णबहादुरले जीवनभर इमानदारीपूर्वक मेहनत गरे । गाउँमा सबैसँग मिलेर बसे । आज गाउँलेले उनको त्यही इमानदारी र मेहनतको सम्मान गर्दै घर बनाइदिएका हुन्,’ स्थानीय ठाकुर श्रेष्ठले भने । कृष्णबहादुरको परिवारमा तीन सन्तान छन् । दुई छोरीमध्ये एकको विवाह भइसकेको छ भने छोरा आफन्तको घरमा बस्दै आएका छन् । अहिले कृष्णबहादुर श्रीमती र नौ वर्षीया कान्छी छोरीसँगै बस्दै आएका छन् । कान्छी छोरी कक्षा ६ मा अध्ययनरत छिन् । गाउँले, सहयोगी दाता र अभियानमा जोडिएका व्यक्तिहरूको सामूहिक प्रयासले उनको वर्षौँदेखिको सपना पूरा भएको हो । सोमबार घरपूजा गरी औपचारिक रूपमा घर हस्तान्तरण गरिएसँगै कृष्णबहादुरको परिवारले जीर्ण टाटीको घर छाडेर नयाँ घरमा प्रवेश गरेको छ ।
.jpg)




प्रतिकृया दिनुहोस