• शुक्रबार ६-१६-२०८३/Friday 10-02-2026
  • 03:40:34

मेची राजमार्ग बनाउने अर्बौँका आयोजना

शुक्रबार, ९ असोज, २०८३

 
इलाम, ९ असोज :
चार जिल्लाको लाइफ लाइन मानिने मेची राजमार्गको स्तरोन्नतिमा अर्बौँका योजनाका काम अघि बढेका छन् । गत वर्षको असोज १८ र १९ गतेको बाढी पहिरोले सडक क्षति गरेपछि जोखिम बनेको राजमार्ग स्तरोन्नति हुने भएको हो ।  धोबिधारा–मिल गोलाई १५ किलोमिटर सडक स्तरोन्नतिका लागि करिब ७४ करोड रुपैयाँ, जोर कलश–हर्कटे सडकका लागि २५ करोड रुपैयाँ, बाघ खोर–राँके सडकका लागि १० करोड ५० लाख रुपैयाँ र काबेली–ताप्लेजुङ सडक सुधारका लागि १० करोड रुपैयाँ लागतमा सडक स्तरोन्नति हुँदै छ । यसबाहेक मेची कोरिडोरको माई खोला (बेलासी) मा मात्रै करिब २३ करोड ९४ लाख रुपैयाँ लागत अनुमानको पक्की पुल निर्माण प्रक्रिया अघि बढेको छ ।  सडक विस्तार, पक्की पुल निर्माण, पहिरो नियन्त्रण, जोखिमयुक्त घुम्ती सुधार र सडक सुरक्षा कार्यक्रमका लागि काम थालिएको हो । सडक डिभिजन कार्यालय इलाम मार्फत मात्रै दर्जनौँ आयोजना कार्यान्वयनमा छन् भने विभिन्न स्थानमा थप १६ वटा पक्की पुल निर्माणका लागि बजेट माग गरिएको छ । एसियाली विकास बैङ्कको सहयोगमा मेची राजमार्गमा करिब ४३ करोड रुपैयाँको सडक सुरक्षा कार्यक्रम कार्यान्वयनमा छ । यसमा स्टिल क्र्याङ बेरियर, थर्मोप्लास्टिक पेन्ट, क्याट्स आई तथा सडक ब्यारियर सुधारलगायतका काम गरिनेछन् । राजमार्गका विभिन्न खण्डमा सडक विस्तार, पक्की पुल निर्माण, जोखिमयुक्त घुम्ती सुधार तथा पहिरो नियन्त्रणका काम सुरु गरिएको छ । 
सडक डिभिजन कार्यालय इलामका प्रमुख पवन भट्टराईका अनुसार सडकलाई चौडा पार्नुका साथै आधुनिक भू–इन्जिनियरिङ प्रविधि प्रयोग गरी पहिरो नियन्त्रणलाई समेत प्राथमिकता दिइएको छ । उनका अनुसार निर्माणाधीन आयोजनालाई निर्धारित समयमै सम्पन्न गराउन निर्माण कम्पनीसँग नियमित समन्वय भइरहेको छ । इलामको धोबिधारा–मिल गोलाई सडक खण्डमा १५ किलोमिटर सडक स्तरोन्नति दुई प्याकेजमा अघि बढेको छ । करिब ७४ करोड रुपैयाँ लागतको उक्त आयोजनाअन्तर्गत सडकलाई डबल लेनमा विस्तार गरिनेछ । सोही योजनामा सानवीरे खोल्सीमा २५ मिटर लामो आरसिसी पुल निर्माण हुनेछ । बन्चरे गोलाई र मिल गोलाई क्षेत्रमा बारम्बार खस्ने पहिरो नियन्त्रणका लागि रिटेनिङ वाल तथा सोयल नेलिङ प्रविधि प्रयोग गरिनेछ । भट्टराईका अनुसार सोयल नेलिङ पहिरो प्रभावित क्षेत्रमा प्रयोग गरिने आधुनिक भू–इन्जिनियरिङ प्रविधि हो । यस प्रविधिमा पहिरो जान सक्ने ढिस्को वा भित्तामा स्टिलका लामो रड गाडेर कङ्क्रिट तथा जालीको सहायताले संरचनालाई मजबुत बनाइन्छ । यसले माटो तथा ढिस्को चिप्लिने सम्भावना कम गर्नुका साथै सडकमा ढुङ्गा–माटो खस्ने जोखिमसमेत घटाउने उनले बताए ।
त्यस्तै, बाघ खोर–राँके नौ किलोमिटर सडक खण्ड स्तरोन्नतिका लागि १० करोड ५० लाख रुपैयाँमा ठेक्का लागिसकेको छ ।  उक्त योजनामा सडक चौडा पार्नेलगायतका पूर्वाधार निर्माण हुने डिभिजन प्रमुखको भनाई छ । जोर कलश–हर्कटे १५ किलोमिटर सडक खण्डमा २५ करोड रुपैयाँ लागतमा काम भइरहेको छ ।  यही योजनाबाट करिब तीन करोड रुपैयाँ खर्च गरी क्षतिग्रस्त माई खोला–राजदुवाली क्षेत्रमा पहिरो नियन्त्रणको काम पनि अघि बढाइएको छ । पाँचथरको जोरपोखरी–गोपेटार पाँच किलोमिटर सडक खण्ड स्तरोन्नतिका लागि साढे पाँच करोड रुपैयाँको काम सुरु भएको छ । ताप्लेजुङतर्फको काबेली–ताप्लेजुङ २२ किलोमिटर सडक खण्डमा १० करोड रुपैयाँ लागतमा सुधार कार्य भइरहेको छ । जोखिमयुक्त घुम्ती कटिङ गरी यात्रा सुरक्षित र सहज बनाउने योजना रहेको कार्यालयले जनाएको छ ।
मेची कोरिडोरअन्तर्गत इलामको माई खोला (बेलासी) मा एक सय १० मिटर लामो पक्की पुल निर्माणको प्रक्रिया अघि बढेको छ । करिब २३ करोड ९४ लाख रुपैयाँ लागत अनुमानमा पुल निर्माण हुने छ । सडक डिभिजनका अनुसार पुल निर्माणका लागि प्राविधिक प्रस्ताव खोलिएको र हालको पुलभन्दा चार मिटर अग्लो प्री–इन्ट्रेस्ट बक्स गर्डर प्रविधिको पुल निर्माण गरिने डिभिजन प्रमुख भट्टराईले जानकारी दिएका छन् । सन्दकपुर गाउँपालिकाअन्तर्गत फेमेगुरु–सन्दकपुर सडक खण्डमा ग्राभेलका लागि २५ करोड रुपैयाँको ठेक्का लागिसकेको कार्यालयले जनाएको छ ।
मेची कोरिडोरअन्तर्गत पर्ने पुवा खोला, सिमलकोलाइ–तिल्केनी सडकको जोगमाई खोला तथा राष्ट्रिय राजमार्गअन्तर्गत बिब्ल्याँटे–माईपोखरी–सन्दकपुर सडकको राते खोलामा नयाँ पक्की पुल निर्माणका लागि बजेट माग गरिएको छ । त्यसै गरी डिभिजन कार्यालयमार्फत नमुना चोक–देउराली सडक ८ करोड रुपैयाँ लागतमा ग्राभेल स्तरमा स्तरोन्नति गर्ने तयारी छ । उक्त खण्डमा नाली तथा कल्भर्ट निर्माण गरिनेछ । फिक्कल–श्रीअन्तु सडक सुधारका लागि तीन करोड रुपैयाँको ठेक्का आह्वान गरिएको छ । पाँचथरको जोरसाल–माझेटार सडकमा दुई करोड रुपैयाँ लागतको टेवा पर्खाल निर्माण तथा मध्यपहाडी राजमार्गअन्तर्गत गणेशचोक–थर्पु खण्डमा तीन करोड रुपैयाँको काम अघि बढेको छ । एसियाली विकास बैङ्कको सहयोगमा मेची राजमार्गमा सडक सुरक्षा अभिवृद्धिको कार्यक्रमको काम अघि बढेको हो ।
 

प्रतिकृया दिनुहोस
↑