• शुक्रबार ६-१६-२०८३/Friday 10-02-2026
  • 04:10:57

इलाम कांग्रेसमा नेताको सिन्डिकेट, दुई ध्रुवमा बाँडिँदै नेतृत्व

मंगलबार, १३ असोज, २०८३


इलाम :
नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्र्तगत इलाममा आज निर्वाचन हुँदै छ । आज हुने निर्वाचनमा कांग्रेसभित्रको आन्तरिक शक्ति समीकरण फेरिन थालेको छ । महाधिवेशन प्रतिनिधि छनोटको प्रक्रिया अघि बढेसँगै जिल्लामा नेतृत्वका लागि हुने प्रतिस्पर्धा र आन्तरिक ध्रुवीकरणसमेत सतहमा आउन थालेको हो । केन्द्रमा पार्टीको महाधिवेशनको तयारी तीव्र भइरहेका बेला इलाममा भने स्थानीय तहदेखि जिल्ला नेतृत्वसम्म आफ्नो प्रभाव विस्तार गर्ने प्रयास सुरु भएको छ । पछिल्लो समय विकसित घटनाक्रमले जिल्लामा कांग्रेसभित्र दुईवटा राजनीतिक धार स्पष्ट रूपमा देखिन थालेको कांग्रेस नेताकार्यकर्ताको बुझाइ छ ।
एकातर्फ कांग्रेसका केन्द्रीय सदस्य हिमालय कर्माचार्य, जिल्ला सभापति डम्बरबहादुर खड्का, उपसभापति खगेन्द्र देवान र पूर्वजिल्ला सभापति केशव थापासहितको समूह सक्रिय देखिएको छ । अर्कोतर्फ भेषराज आचार्य समूहले आफ्नो पक्षमा नेता तथा कार्यकर्तालाई संगठित गर्दै शक्ति सन्तुलनमा प्रभाव पार्ने प्रयास गरिरहेको छ । महाधिवेशन प्रतिनिधि छनोटका क्रममा बन्ने समीकरणले आगामी जिल्ला नेतृत्वको प्रतिस्पर्धामा समेत प्रभाव पार्न सक्ने भएकाले अहिले दुवै पक्षले आफ्नो राजनीतिक आधार बलियो बनाउन थालेका छन् । प्रतिनिधि छनोटमा कसको प्रभाव कति रहन्छ भन्ने विषयलाई आगामी नेतृत्वको सम्भावित समीकरणसँग जोडेर हेर्न थालिएको छ ।
कांग्रेसभित्र लामो समयदेखि गुटबन्दी अन्त्य गर्दै पार्टीलाई एकताबद्ध बनाउने विषय उठ्दै आएको छ । तर महाधिवेशनको पूर्वसन्ध्यामा जिल्लामा देखिएको नयाँ राजनीतिक गठजोडले ‘गुटरहित कांग्रेस’को नारामाथि नै प्रश्न उठाएको छ । नेतृत्व चयनमा विचार, संगठन र कार्यकर्ताको योगदानभन्दा समूहगत समीकरण हावी हुन थालेको भन्दै कांग्रेसकै केही नेता तथा कार्यकर्ताले असन्तुष्टि जनाउन थालेका छन् । उनीहरू पार्टीभित्र स्वस्थ प्रतिस्पर्धा र सबै पक्षको सहभागिता सुनिश्चित हुनुपर्ने बताउँछन् । यही सन्दर्भमा कृष्ण पौडेलले सामाजिक सञ्जालमार्फत महाधिवेशन प्रतिनिधिहरूलाई पार्टीलाई गुटको अखडा बन्न नदिन आग्रह गरेका छन् । उनले लेखेका छन्, “आदरणीय प्रतिनिधिज्यूहरू, पार्टीलाई गुटको अखडा बनाउनेहरूलाई पाखा लगाउनुहोला । असली कांग्रेसको कमी छैन, उहाँहरूलाई विजयी गराउन अनुरोध छ ।” पौडेलको उक्त अभिव्यक्तिलाई इलाम कांग्रेसभित्र पछिल्लो समय देखिएको शक्ति समीकरणप्रतिको असन्तुष्टिका रूपमा हेरिएको छ । यद्यपि, उनले आफ्नो अभिव्यक्तिमा कुनै समूह वा नेताको नाम भने उल्लेख गरेका छैनन् । यसैबीच कांग्रेसका महाधिवेशन प्रतिनिधिको उम्मेद्धवारी घोषण गरी फिर्ता गरेका सोम सुसेलीले इलाम कांग्रेसभित्र केही नेताहरूबीच भएको सहमतिलाई ‘सिन्डिकेट’को संज्ञा दिएका छन् । उनले पार्टीभित्र गुटरहित कांग्रेसको नारा उठाइए पनि व्यवहारमा केही नेताहरूको समूहगत गठबन्धन कायम रहेको आरोप लगाएका छन् । सुसेलीका अनुसार हिमालय कर्माचार्य, केशव थापा, खगेन्द्र देवान र डम्बरबहादुर खड्काबीच पछिल्लो समय भएको सहमतिले इलाम कांग्रेसमा नयाँ शक्ति समीकरण निर्माण गरेको हो । उनले उक्त समीकरणलाई ‘सिन्डिकेट’को संज्ञा दिँदै पार्टीका महत्वपूर्ण निर्णयमा केही नेताको प्रभाव बढी रहेको आरोप लगाएका छन् । “इलाम कांग्रेस केही नेताको सिन्डिकेटमा चलेको छ,” सुसेलीको आरोप छ । उनका अनुसार पार्टीभित्र लामो समयदेखि सक्रिय रहेका अन्य नेता तथा कार्यकर्तालाई समेत निर्णय प्रक्रियामा समान अवसर दिनुपर्ने बताएका छन । सुसेलीले नेतृत्व निर्माणमा व्यक्तिगत सम्बन्ध वा समूहगत सहमतिभन्दा संगठनमा योगदान, विचार र कार्यकर्ताको मतलाई प्राथमिकता दिनुपर्ने धारणा राखेका छन् । तर, ‘सिन्डिकेट’को आरोप लगाइएका नेताहरूको यस विषयमा औपचारिक प्रतिक्रिया भने सार्वजनिक भएको छैन । यता हिमालय कर्मचार्यले भने म हारे पनि मेरो विचार हार्ने छैन भनेर सामाजिक सञ्जालमा लेखेका छन ।  
महाधिवेशन प्रतिनिधि छनोट इलाम कांग्रेसका लागि अहिलेको परीक्षा बनेको छ । प्रतिनिधि छनोटमा आफ्नो पक्ष बलियो बनाउन सके आगामी जिल्ला नेतृत्वको प्रतिस्पर्धामा पनि त्यसको प्रभाव पर्ने भएकाले दुवै पक्ष मैदानमा खटिएका छन । जिल्ला सभापति तथा पदाधिकारीदेखि पूर्वनेतृत्व र केन्द्रीय तहका नेतासम्मको सक्रियताले कार्यकर्ताको समर्थन कुन समूहमा कति रहन्छ भन्ने विषय प्रतिनिधि छनोटपछि मात्रै स्पष्ट देखिन्छ । भेषराज आचार्य समूहले पनि जिल्लाका विभिन्न तहमा आफ्नो राजनीतिक आधार विस्तार गर्ने प्रयास गरिरहेको छ ।  अर्कोतर्फ कर्माचार्य–खड्का–देवान–थापा समूहले पार्टीको सांगठनिक निरन्तरता र नेतृत्वबीचको समन्वयलाई आधार बनाउँदै अघि बढ्ने संकेत देखाएको छ । यद्यपि, यी समीकरण महाधिवेशनको प्रक्रियासँगै कति स्थायी रहन्छन् भन्ने अहिले नै निश्चित छैन । महाधिवेशन नजिकिँदै जाँदा इलाम कांग्रेसभित्र देखिएको यो ध्रुवीकरणले पार्टीको आन्तरिक लोकतन्त्र, नेतृत्व चयनको प्रक्रिया र गुटबन्दी अन्त्यको बहस पनि संकटमा देखिएको छ ।
 

प्रतिकृया दिनुहोस
↑