• शनिबार ५-१३-२०८३/Saturday 08-29-2026
  • 12:10:43

सूर्योदय नगरपालिकाले १९ विधामा २६ जनालाई सम्मान गर्‍यो

बुधबार, ३ भदौ, २०८३



इलाम ३, भदौ :

सूर्योदय नगरपालिकाको नगर सभाको उन्नाइसौँ अधिवेशनबाट स्वीकृत नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रममा विभिन्न क्षेत्रमा योगदान पुर्‍याउने २६ जना व्यक्ति तथा संस्थालाई सम्मान गरिएको छ। नगरपालिकाले कृषि, शिक्षा, स्वास्थ्य, उद्योग, साहित्य, संगीत, सञ्चार, खेलकुद, पर्यटन, महिला सशक्तीकरण, टोल विकास तथा सामाजिक क्षेत्रमा योगदान पुर्‍याउने व्यक्तित्व तथा संस्थालाई सम्मान गरेको हो।
कार्यक्रममा लाप्चा समुदायको इतिहास तथा संस्कृतिसम्बन्धी सामग्री संरक्षण र प्रकाशनमा योगदान पुर्‍याउने  लाप्चाको इतिहास’ पुस्तकका प्रकाशक प्रेमबहादुर लाप्चा सम्मानित भएका हुन । पुष्प खेतीतर्फ, मनिता राई र नानिमाया राई, उद्योगी पुरुषतर्फ चिरञ्जीवी पौडेल तथा मनोज साँवालाई सम्मान गरिएको छ।
त्यस्तै, टोल विकास संस्थातर्फ खानीभञ्ज्याङ टोल विकास संस्था, सामुदायिक विद्यालयतर्फ कृष्ण आश्रम माध्यमिक विद्यालय र उत्कृष्ट विद्यार्थीका रूपमा जेलिसा खतिवडा तथा सौरव ढुङ्गेललाई सम्मान गरिएको छ। संस्थागत विद्यालयतर्फ पञ्चकन्या विद्यालय र उत्कृष्ट विद्यार्थी रुविस्मा श्रेष्ठ तथा गोल्डेन फ्युचर गार्डेनका अर्पण अर्याललाई सम्मान गरिएको छ।
महिला शिक्षिकातर्फ केराबारी आधारभूत विद्यालयकी सीता देवी राई, विद्यालय व्यवस्थापन समितितर्फ सरस्वती माध्यमिक विद्यालयका भवानीप्रसाद आचार्य, मेलमिलापकर्तातर्फ समालबुङ माध्यमिक विद्यालयकी शर्मिला राई तथा न्यायिक समितिसम्बन्धी कार्यमा योगदान पुर्‍याउने व्यक्तित्वलाई पनि सम्मान गरिएको छ।
खेलकुदतर्फ ब्याडमिन्टन खेलाडी निसम हाङ्मा सुब्बा, स्वास्थ्यकर्मीतर्फ तारगाउँकी सरस्वती चिमोरिया, होटल व्यवसायतर्फ कन्यामस्थित जंगल रिसोर्टका जीव श्रेष्ठ तथा कर्मचारीतर्फ लेखा शाखा प्रमुख हेमप्रकाश नेम्बाङ सम्मानित भएका छन्।
साहित्यतर्फ विष्णुमाया गुरुङ र रमेशकिरण पौडेल, संगीत तथा गायनतर्फ वृष प्रधान, सञ्चार क्षेत्रतर्फ सञ्चारकर्मी सुजन तिमल्सिना, सामुदायिक वनतर्फ दिपकमल सामुदायिक वन र चियाबारी पदमार्ग निर्माणमा योगदान पुर्‍याउने कमलादेवी भक्त बागदासलाई सम्मान गरिएको छ।
त्यस्तै, सीपकलातर्फ सूर्योदय नगरपालिका–४ का योगदानकर्तालाई तथा नगर बाल सञ्जालका अध्यक्ष प्रबल राईलाई पनि सम्मान गरिएको नगरपालिकाले जनाएको छ।
नगरपालिकाले स्थानीय स्तरमा उत्कृष्ट काम गर्दै आएका व्यक्ति, संस्था र प्रतिभालाई प्रोत्साहन गर्ने उद्देश्यले विभिन्न विधामा सम्मान गरेको जनाएको छ। सम्मान कार्यक्रम नगरपालिकाको नीति, कार्यक्रम तथा बजेट सार्वजनिक कार्यक्रमसँगै आयोजना गरिएको हो।

प्रतिकृया दिनुहोस