सुपारीको बोटमा समृद्धिको सपना
इलाम:
इलामका तल्लो भेगमा पछिल्लो समय खेतबारीको स्वरूप फेरिँदै गएको छ । कुनै समय मकै, धान, तरकारी र अन्य बाली लगाइने जमिनमा अहिले हरिया सुपारीका बोट लहरिन थालेका छन् । कम लगानी, कम मेहनत र लामो समयसम्म आम्दानी दिने भएकाले किसानहरू खाली जमिनदेखि घरआँगनका डिल र पाखासम्म सुपारी रोप्न थालेका छन् ।
माई नगरपालिका–९ का अक्कलबहादुर राईको बगानमा मात्रै करिब पाँच हजार सुपारीका बोट छन् । अन्य खेती विस्तारै घटाउँदै सुपारी खेतीमा केन्द्रित भएका राईले यस वर्ष २५ क्विन्टल सुपारी बिक्री गरे । उत्पादन दिन थालेका बोटबाट घरमै व्यापारी आउने र प्रतिकेजी ७० रुपैयाँसम्ममा सुपारी बिक्री हुने गरेको उनी बताउँछन् ।
“अन्य खेती मासेर सबैजसो जग्गामा सुपारी रोपेको छु, आधा बोटबाट आम्दानीसमेत लिन थालिसकेको छु,” राईले भने, “घरबाटै बिक्री हुने भएकाले बजारको खासै समस्या छैन ।”
राईका लागि सुपारी अहिले केवल बगानको बाली होइन, नियमित आम्दानीको आधार बन्न थालेको छ । एकपटक बोट हुर्काएपछि लामो समयसम्म उत्पादन लिन सकिने भएकाले उनले थप क्षेत्रसमेत सुपारी खेतीमा विस्तार गर्ने सोच बनाएका छन् ।
माई नगरपालिका–९ कै धर्मराज पुरीले पनि सुपारी खेतीलाई आम्दानीको भरपर्दो माध्यम बनाउन थालेका छन् । करिब १० रोपनी क्षेत्रफलमा पाँच हजार बोट लगाएका पुरीले यस वर्ष १८ क्विन्टल सुपारी बिक्री गरे । केही बोटले मात्र उत्पादन दिन थालेकाले आगामी वर्ष उत्पादन अझ बढ्ने उनको अपेक्षा छ ।
“अन्य खेतीजस्तो धेरै मेहनत र लगानी पर्दैन,” पुरीले भने, “बिक्री नहुने हो कि भन्ने चिन्ता पनि छैन । व्यापारीहरू बगानमै आएर किनेर लैजान्छन् ।”
सुपारीको बगान विस्तार गर्ने किसानको सूचीमा पवन किराँती पनि छन् । उनले करिब आठ हजार बोट रोपेका छन् । अधिकांश बोट हुर्कने क्रममा रहे पनि केहीले उत्पादन दिन थालिसकेका छन् । यस वर्ष उनले १० क्विन्टल काँचो सुपारी बिक्री गरे ।
“सुपारीबाट आम्दानी हुन थालेपछि घरखर्च चलाउन सहज भएको छ,” किराँतीले भने ।
उनको बगानमा सुपारीका बोट मात्रै छैनन्, एउटै जमिनबाट दोहोरो आम्दानी लिने सम्भावनासमेत छ । सुपारीका बोटले छहारी दिने भएकाले त्यसको बीचमा तरकारी तथा अन्य बाली लगाउन सकिने किसानहरू बताउँछन् । बहुवर्षीय नगदेबाली भएकाले एकपटक लगाएको बोटबाट वर्षौंसम्म उत्पादन लिन सकिने उनीहरूको अनुभव छ ।
किसान अभिषेक यक्तेनका लागि पनि सुपारी खेती खाली जमिनलाई आम्दानीको स्रोतमा बदल्ने उपाय बनेको छ । घरआँगनका डिलदेखि खेतबारी र पाखासम्म सुपारी रोप्न सकिने भएकाले यस खेतीबाट धेरै किसान लाभान्वित भइरहेको उनको भनाइ छ ।
बगान बढ्दै, बजारको चिन्ता घट्दै
इलाममा सुपारी खेती विस्तार हुनुमा उत्पादनपछि बजार खोज्नुपर्ने बाध्यता कम हुनु पनि एउटा कारण देखिएको छ । स्थानीय किसानका अनुसार व्यापारीहरू बगानमै पुगेर सुपारी खरिद गर्ने गरेका छन् । प्रतिकेजी ७० रुपैयाँसम्म मूल्य पाउने भएकाले किसानले उत्पादन र बिक्री दुवैमा सहजता अनुभव गरेका छन् ।
सुपारीको बोट हुर्काउन सुरुका वर्ष केही समय लागे पनि त्यसपछि नियमित उत्पादन लिन सकिने भएकाले किसानले यसलाई दीर्घकालीन आम्दानीको माध्यमका रूपमा लिन थालेका छन् । यही कारण नयाँ बगान विस्तार गर्ने र पुराना बगानमा थप बोट लगाउने क्रम बढेको छ । कृषि ज्ञान केन्द्रको तथ्याङ्कअनुसार इलाममा पछिल्लो समय करिब दुई सय हेक्टर क्षेत्रफलमा व्यावसायिक सुपारी खेती भइरहेको छ । जिल्लाको माई नगरपालिका, चुलाचुली र माङसेबुङ गाउँपालिका तथा रोङ गाउँपालिकाको तल्लो चुरे क्षेत्रमा सुपारी खेती बढी हुँदै आएको छ । कहिले मकै र धानले भरिने जमिन, अहिले हरिया सुपारीका बोटले ढाकिँदै गएको छ । किसानका लागि यी बोट केवल हरियाली होइन, भविष्यको आम्दानी, घरखर्चको आधार र खाली जमिनलाई मूल्यवान बनाउने माध्यम पनि बन्दै गएका छन् ।

..jpeg)


..jpeg)

प्रतिकृया दिनुहोस