ओलीको ‘आवारा’ टिप्पणीप्रति गुरुङको प्रतिवाद : ‘नेतृत्वको उही अहं शैलीले पार्टी उठ्दैन’
इलाम : नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टीभित्रैबाट राजीनामा माग्ने नेताकार्यकर्ताप्रति गरेको कडा टिप्पणीको प्रतिवाद गर्दै नेकपा एमाले इलामका पुर्व सचिव नेता उमेश गुरुङले पार्टीको वर्तमान संकटको जिम्मेवारी नेतृत्वले लिनुपर्ने बताएका छन्।
गुरुङले सामाजिक सञ्जालमार्फत ओलीको कार्यशैलीप्रति प्रश्न उठाउँदै निर्वाचनमा पराजित र निराश कार्यकर्तालाई उत्साह दिनुपर्ने नेतृत्वले उल्टै ‘आवारा’ जस्ता शब्द प्रयोग गरेर कार्यकर्तालाई निरुत्साहित गरेको टिप्पणी गरेका छन्।
ओलीले पार्टीभित्र राजीनामा माग्नेहरूलाई लक्षित गर्दै ‘क्यान्टिनमा चिया गफमा मेरो राजीनामा माग्ने आवारा’ भन्दै मन नपरे पार्टी छाडेर जान सक्ने आशयको अभिव्यक्ति दिएको उल्लेख गर्दै गुरुङले नेतृत्वको ‘अहं शैली र रुखो व्यवहार’ले पार्टी तत्कालै पुनः शिखरमा पुग्ने अवस्था नरहेको बताएका छन्।
‘समस्या ग्राउन्डमा होइन, टुप्पैमा धेरै छ’, गुरुङले लेखेका छन्।
उनले पार्टीभित्र लामो समयदेखि नीति, सिद्धान्त र कार्यदिशाभन्दा सत्ता, पद र शक्ति प्राप्तिका लागि गुटबन्दी हावी भएको आरोप लगाएका छन्। जिल्ला अधिवेशनदेखि प्रदेश र केन्द्रीय अधिवेशनसम्म गुटगत प्रतिस्पर्धा बढ्दै गएको भन्दै उनले पार्टीभित्र फरक मत राख्नेहरूलाई अवसरबाट वञ्चित गराउने प्रवृत्तिमाथि समेत प्रश्न उठाएका छन्।
गुरुङले विगतका अधिवेशनमा पार्टीभित्रको सदस्यता र प्रतिनिधि छनोट प्रक्रियासमेत विवादित बनेको उल्लेख गर्दै त्यसको प्रभाव निर्वाचनमा देखिएको दाबी गरेका छन्। पार्टी सदस्यको तुलनामा कम मत खसेका जिल्लाहरूमा त्यसबारे नेतृत्वले समीक्षा र जवाफदेहिता खोज्यो कि खोजेन भन्ने प्रश्नसमेत उनले उठाएका छन्।
उनले एमाले महासचिव शंकर पोखरेलले समेत अध्यक्ष ओलीको राजीनामापछि पार्टीले सही कार्यदिशा लिन सक्ने धारणा सार्वजनिक रूपमा राखिरहेको दाबी गरेका छन्। निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदलसँग जोडिएको नेतृत्वबाटै यस्तो धारणा आउनुले पार्टीभित्र नेतृत्व परिवर्तनको बहस गम्भीर बनेको उनको संकेत छ।
गुरुङले पार्टी कमजोर हुनुको कारण तल्लो तहका नेता–कार्यकर्ता मात्र नभएको जिकिर गर्दै सत्तामा हुँदा नेतृत्वको नजिक पुगेर लाभ र सुविधा लिनेहरूबाटै पार्टी ओरालो लागेको आरोप लगाएका छन्।
‘माथिल्लो तहबाट नै कारबाही थाल्नुहोस्, सक्नुहुन्छ? कदापि सक्नुहुन्न,’ उनले चुनौतीपूर्ण शैलीमा लेखेका छन्।
जीवित पार्टीमा नेतृत्वको कार्यशैली र आचरणमाथि प्रश्न उठाउन पाउनुपर्ने भन्दै गुरुङले आफ्नो राजनीतिक यात्राको समेत स्मरण गरेका छन्। आफू ३५ वर्षदेखि कुनै लाभको पद नपाई पार्टीमै समर्पित रहेको दाबी गर्दै उनले जीवन रहेसम्म लेख्ने र बोल्ने बताएका छन्।







प्रतिकृया दिनुहोस