• बुधबार ५-३-२०८३/Wednesday 08-19-2026
  • 04:50:58

कन्यामको सम्पदा संरक्षणविहीन, राजारानीको ‘मदर बुश’ समेत मासियो

सोमबार, १ भदौ, २०८३

निशान निरौला,
इलाम १, भदाै :
पर्यटकीय गन्तव्यका रूपमा देश–विदेशमा चिनिएको इलामको कन्याम संरक्षणविहीन बन्दै गएको छ । तत्कालीन राजा वीरेन्द्रले उद्घाटन गरेको ऐतिहासिक शिलालेख फुटेर टुक्राटुक्रा भएकाे छ ।  राजा वीरेन्द्र र रानी ऐश्वर्यले विसं २०२८ मा रोपेको कन्यामको पहिलो चियाको बोट ‘मदर बुश’ समेत मासिइसकेको स्थानीयले बताएका छन् ।
कन्याम चिया बगानका स्टाफ होमप्रसाद रिजालका अनुसार तत्कालीन राजपरिवारसँग जोडिएको शिलालेख समयक्रममा जीर्ण भएर फुटेको थियो । फुटेका टुक्रा कम्पनी परिसरमै यताउता छरिएर रहेको अवस्थामा पछि संकलन गरी जोडजाड गरेर पुनः खडा गरिएको हो ।
“वीरेन्द्रले उद्घाटन गरेको शिलालेख थियो । पछि फुटेर गयो । त्यसका टुक्राहरू यताउता छरिएर रहेका रहेछन्,” रिजालले भने, “पछि कम्पनीकै तर्फबाट टुक्राहरू ल्याएर जोडजाड गरेर राखिएको छ।”
शिलालेख संरक्षणका लागि कम्पनीका मजदुर परिचालन गरी सिमेन्टलगायत सामग्री प्रयोग गरेर सामान्य मर्मत गरिएको छ । तर त्यसको संरक्षणका लागि आवश्यक घेराबेरा वा संरचना निर्माण गरिएको छैन ।
“कम्पनीले आफ्नोतर्फबाट टालटुल गरेर राखेको छ। तर त्यहाँ घेराबेरा छैन,” रिजालले भने, “अब यसलाई संरक्षण गरेर राख्नका लागि घेराबेरा गरिनुपर्छ ।”
रिजालले कन्यामको ऐतिहासिक सम्पदा संरक्षणमा चिया बगान कम्पनीसँगै स्थानीय सरकारको समेत भूमिका आवश्यक रहेको बताए । पर्यटन प्रवर्द्धनका नाममा कन्यामको प्राकृतिक सौन्दर्यलाई मात्रै प्राथमिकता दिइए ऐतिहासिक पहिचान ओझेलमा पर्ने उनको भनाइ छ ।
स्थानीय टेकराज गिरीका अनुसार कन्याम चिया बगानको इतिहाससँग जोडिएको अर्को महत्वपूर्ण सम्पदा ‘मदर बुश’ समेत अहिले अस्तित्वमा छैन । तत्कालीन युवराज वीरेन्द्र र युवराज्ञी ऐश्वर्यले विसं २०२८ सालमा रोपेको पहिलो चियाको बोट काटेर मासिएको उनले बताए ।
गिरीका अनुसार राजपरिवारको आगमन र वृक्षरोपणसँग जोडिएको उक्त चियाको बोट कन्यामको चिया इतिहासको महत्वपूर्ण प्रमाण थियो । त्यसलाई संरक्षण गरेर पर्यटकीय तथा ऐतिहासिक महत्वको स्थलका रूपमा विकास गर्न सकिने भए पनि संरक्षणको अभावमा मासिएको उनको भनाइ छ।
“शिलालेख फुटाएर वा पुराना संरचना मासेर कन्यामको इतिहास मेटिँदैन,” गिरीले भने, “तर इतिहासका प्रमाणहरू नै संरक्षण नगर्ने हो भने भावी पुस्ताले कन्यामको वास्तविक इतिहास कसरी बुझ्ने ?”
कन्याममा अहिले दैनिक ठूलो संख्यामा पर्यटक पुग्छन् । चियाबारी, हरियाली र प्राकृतिक सौन्दर्यका कारण चर्चित बनेको कन्यामलाई पर्यटनको केन्द्रका रूपमा विकास गर्ने प्रयास भइरहे पनि त्यहाँको ऐतिहासिक पक्ष भने उपेक्षामा परेको स्थानीयको गुनासो छ ।
स्थानीयका अनुसार कन्यामको पर्यटनलाई केवल दृश्यावलोकन र मनोरञ्जनमा सीमित नगरी चिया खेतीको इतिहास, राजपरिवारको आगमन, पुराना शिलालेख तथा संरचनालाई समेत जोडेर ‘हेरिटेज टुरिजम’का रूपमा विकास गर्न सकिन्छ । त्यसका लागि अस्तित्वमा रहेका ऐतिहासिक प्रमाणको पहिचान, अभिलेखीकरण र संरक्षण तत्काल आवश्यक छ ।
कन्यामको पहिचान बनाउने चिया बगानसँगै राजपरिवारको आगमन र पुराना ऐतिहासिक संरचनासमेत यहाँको सम्पदा हुन्। तर संरक्षणको जिम्मेवारी कसको भन्ने स्पष्टता नहुँदा ऐतिहासिक प्रमाणहरू क्रमशः हराउँदै गएका छन्।
पर्यटक भित्र्याउने नाममा नयाँ संरचना थपिँदै जाने तर पुराना ऐतिहासिक सम्पदा हराउँदै जाने अवस्था आए कन्यामले आफ्नो मौलिक इतिहास गुमाउने स्थानीयको चिन्ता छ। त्यसैले कन्यामको प्राकृतिक सुन्दरतासँगै इतिहास बोकेका शिलालेख, पुराना संरचना र चियाका ऐतिहासिक बोटको संरक्षणमा स्थानीय तह, चिया बगान व्यवस्थापन र सम्बन्धित निकायले तत्काल पहल गर्नुपर्ने माग उठेको छ ।

प्रतिकृया दिनुहोस