• बुधबार ५-३-२०८३/Wednesday 08-19-2026
  • 04:51:00

मानव अधिकार मञ्च इलामको २८औँ वार्षिक साधारणसभा सम्पन्न

सोमबार, १ भदौ, २०८३

इलाम १, भदाै : 
मानव अधिकार मञ्च इलामको २८औँ वार्षिक साधारणसभा सम्पन्न भएको छ। संस्थाले एक कार्यक्रमको आयोजना गरी वार्षिक साधारणसभा सम्पन्न गरेको हो। कार्यक्रमको अध्यक्षता मानव अधिकार मञ्च इलामका अध्यक्ष मोहनसिंह थेवेले गरेका थिए।
कार्यक्रममा स्वागत मन्तव्य राख्दै संस्थाकी सहसचिव सावित्रा सिवाले विगतमा संस्थाले गरेका कामहरूको वस्तुगत समीक्षा तथा छलफल गर्दै आगामी दिनमा सञ्चालन गरिने गतिविधिका विषयमा योजना निर्माण गर्ने बताइन्। उनले मानव अधिकारबाट वञ्चित तथा आधारभूत तहमा रहेका समुदायका लागि संस्थाले निरन्तर काम गर्दै आएको जानकारी दिइन्।
संस्थाकी सचिव शर्मिला राईले संस्थामा हाल दुईवटा परियोजना सञ्चालनमा रहेको तथा आफ्नै भवनबाट संस्थाका गतिविधि सञ्चालन भइरहेको जानकारी दिइन्। उनले वार्षिक कार्ययोजना, आगामी कार्ययोजना तथा हालसम्म संस्थाले गरेका गतिविधिका बारेमा साधारणसभामा छलफल गरिएको बताइन्।
उनका अनुसार संस्थाले न्यायिक प्रक्रिया तथा मेलमिलापसम्बन्धी सीप विकास, कानुन निर्माणमा सहयोग, हिंसा प्रभावित तथा विपद्मा परेका महिलाहरूलाई सहयोगलगायतका क्षेत्रमा काम गर्दै आएको छ। आगामी दिनमा संस्थाका गतिविधिलाई थप सर्वसुलभ बनाउने, विपद् प्रतिकार्य योजना निर्माण गर्ने तथा अधिकार, न्यायिक समिति र मेलमिलापको क्षेत्रमा भइरहेका कामलाई थप प्रभावकारी बनाउँदै निरन्तरता दिने योजना रहेको उनले बताइन्।
कार्यक्रमका विशेष अतिथि सूर्योदय नगरपालिका–२ का डिक वम्जनले मानव अधिकारको क्षेत्रमा २८ वर्षदेखि संस्थाले गर्दै आएको काम महत्वपूर्ण रहेको बताए। न्यायबाट वञ्चित समुदायका लागि संस्थाले पुर्‍याउँदै आएको योगदानको आफू प्रत्यक्षदर्शी रहेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि संस्थाले थप प्रभावकारी रूपमा काम गर्ने विश्वास व्यक्त गरे।
कार्यक्रमका प्रमुख अतिथि सन्दकपुर गाउँपालिकाका उपाध्यक्ष हरिबहादुर लुङ्गेली मगरले मानव अधिकार मञ्चले विभिन्न जिल्लामा सञ्चालन गरिरहेका गतिविधिहरू प्रभावकारी रहेको आफूले पाएको बताए।
त्यस्तै, संस्थाको सल्लाहकार समिति संयोजक दुर्गा भट्टराईले महिला, बालबालिका, सीमान्तकृत तथा पछाडि पारिएका समुदायका लागि संस्थाले निरन्तर काम गर्दै आएको बताइन्। विभिन्न चुनौती र समस्यासँग जुध्दै संस्था २८ वर्षसम्म आइपुगेको उल्लेख गर्दै उनले आगामी दिनमा पनि मानव अधिकार संरक्षण र प्रवर्द्धनका गतिविधिलाई निरन्तरता दिनुपर्नेमा जोड दिइन्।
कार्यक्रमको समापन गर्दै संस्थाका अध्यक्ष मोहनसिंह थेवेले मानव अधिकार मञ्चले मानव अधिकार, न्यायिक प्रक्रिया, मेलमिलाप, महिला तथा सीमान्तकृत समुदायलगायत विभिन्न क्षेत्रमा काम गर्दै आएको बताए। उनले आगामी दिनमा संस्थाका गतिविधिलाई थप प्रभावकारी बनाउँदै मानव अधिकार संरक्षण र प्रवर्द्धनका लागि थप काम गर्ने प्रतिबद्धता व्यक्त गरे।

प्रतिकृया दिनुहोस