रश्मिको दुई गोल, एपिएफ फाइनलमा
इलाम :
रश्मिकुमारी घिसिङको निर्णायक दुई गोलको मद्दतमा एपिएफ फुटबल क्लब झापा महिला गोल्डकपको फाइनलमा प्रवेश गरेको छ । दुधेमा बुधबार भएको पहिलो सेमिफाइनलमा आयोजक झापा–११ फुटबल क्लबलाई २–० गोल अन्तरले पराजित गर्दै एपिएफले उपाधि नजिकको यात्रा तय गरेको हो । एपिएफको जितमा दुवै गोल रश्मिकुमारी घिसिङले गरिन् । उनले पहिलो हाफमै दुई गोल गर्दै टोलीको जित सुनिश्चित गरिन् । खेलको २६औँ मिनेटमा झापाकी सेमिहाङमा लिम्बुले डिबक्स नजिकै रश्मिलाई फाउल गरेपछि प्राप्त फ्रि–किकलाई उनले उत्कृष्ट गोलमा परिणत गर्दै एपिएफलाई अग्रता दिलाइन् ।
त्यसको १२ मिनेटपछि रश्मिले व्यक्तिगत दोस्रो गोल थपिन् । मनमाया दमाईको पासमा झापाका डिफेन्डर र गोलकिपरलाई बिट गर्दै उनले गरेको प्रहारले जाली चुमेपछि एपिएफ पहिलो हाफमै २–० ले अघि बढ्यो । खेलको सुरुवातदेखि नै एपिएफ आक्रामक देखिएको थियो । झापा भने रक्षात्मक रणनीतिमा केन्द्रित रह्यो । झापाले गोलका केही अवसर सिर्जना गरे पनि कमजोर फिनिसिङ र एपिएफको सशक्त रक्षापंक्तिका कारण सफल हुन सकेन ।
दोस्रो हाफमा झापाले सुधारिएको प्रदर्शन गर्दै खेलमा फर्कने प्रयास ग¥यो । तर, एपिएफको रक्षापंक्ति तोड्न सकेन । एपिएफका थप गोलका प्रयासलाई पनि झापाका डिफेन्डरले विफल बनाएका थिए । राष्ट्रिय टोलीका १३ खेलाडी सम्मिलित एपिएफले थप गोल गर्न नसके पनि पहिलो हाफको अग्रता जोगाउँदै जित हात पा¥यो । खेलको प्लेयर अफ द म्याच एपिएफकी कप्तान रेनुका नगरकोटी घोषित भइन् । उनले १५ हजार रुपैयाँ पुरस्कार प्राप्त गरिन् । फाइनल प्रवेशसँगै एपिएफले कम्तीमा ५ लाख ५० हजार रुपैयाँ पुरस्कार सुनिश्चित गरेको छ ।
प्रतियोगिताको उपाधिका लागि एपिएफले बिहीबार हुने त्रिभुवन आर्मी फुटबल क्लब र नेपाल पुलिस फुटबल क्लबबीचको दोस्रो सेमिफाइनलको विजेतासँग प्रतिस्पर्धा गर्नेछ । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले ५ लाख ५० हजार रुपैयाँ प्राप्त गर्नेछन् । उत्कृष्ट खेलाडीले १ लाख ५० हजार तथा उत्कृष्ट गोलकिपर, मिडफिल्डर, डिफेन्डर, सर्वाधिक गोलकर्ता र प्रशिक्षकले जनही २५ हजार रुपैयाँ पुरस्कार पाउनेछन् ।

..jpeg)
..jpeg)
..jpeg)
..jpeg)

..jpeg)
प्रतिकृया दिनुहोस