फाकफोकथुममा देशभरका चेस खेलाडीको भिडन्त
इलाम, १३ कात्तिक:
इलामको फाकफोकथुममा राष्ट्रियस्तरको बुद्धिचाल (चेस) प्रतियोगिता आयोजना हुने भएको छ । जिल्लाको खेलकुद पहिचानलाई राष्ट्रियस्तरमा स्थापित गर्ने उद्देश्यसहित दोस्रो फाकफोकथुम ओपन नेसनवाइड क्लासिकल रेटिङ चेस प्रतियोगिता आयोजना गर्न लागिएको हो ।

फाकफोकथुम बुद्धिचाल संघ, इलामको आयोजनामा कात्तिक २० देखि २२ गतेसम्म सञ्चालन हुने प्रतियोगितामा देशभरका चेस खेलाडीले प्रतिस्पर्धा गर्ने अवसर पाउनेछन् । तीन दिनसम्म चल्ने प्रतियोगिताले राष्ट्रियस्तरका खेलाडीलाई एउटै मञ्चमा जोड्ने आयोजकको अपेक्षा छ ।
प्रतियोगिताको मुख्य विधामा उत्कृष्ट प्रदर्शन गर्दै पहिलो स्थान हासिल गर्ने खेलाडीले ३५ हजार रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । दोस्रो हुनेले २० हजार, तेस्रोले १५ हजार र चौथो हुनेले १० हजार रुपैयाँ पाउनेछन् ।
प्रतिस्पर्धालाई थप रोमाञ्चक बनाउन छैटौँदेखि दसौँ स्थानसम्मका खेलाडीलाई जनही पाँच हजार र ११औँदेखि १५औँ स्थानसम्मका खेलाडीलाई जनही चार हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।
मुख्य प्रतिस्पर्धाबाहेक विभिन्न उमेर, क्षमता र रेटिङ समूहका खेलाडीलाई समेत प्रोत्साहन गर्ने गरी पुरस्कारको व्यवस्था गरिएको छ। १८०० रेटिङमुनि, १६०० रेटिङमुनि, भेट्रान, १६ वर्षमुनिका विद्यार्थी, महिला तथा अनरेटेड खेलाडीका लागि छुट्टाछुट्टै विधामा पुरस्कार राखिएको छ ।
त्यस्तै, पहाडी क्षेत्र, फाकफोकथुम गाउँपालिका, इलाम जिल्ला, फरक क्षमता भएका खेलाडी, जनप्रतिनिधि तथा स्थानीय विद्यार्थीलाई लक्षित गरी विशेष पुरस्कारको व्यवस्था गरिएको आयोजकले जनाएको छ ।
प्रतियोगितामा सहभागी हुन एक हजार पाँच सय रुपैयाँ प्रवेश शुल्क निर्धारण गरिएको छ। स्थानीय तथा विद्यार्थी खेलाडीले भने एक हजार रुपैयाँ शुल्कमा सहभागिता जनाउन सक्नेछन् ।
फाकफोकथुम गाउँपालिकाको सभाहलमा सञ्चालन हुने प्रतियोगिताका लागि गणेश मगरलाई टुर्नामेन्ट डाइरेक्टर, खम्बूलाई प्रमुख निर्णायक तथा डम्बरबहादुर राई र दीपक घिमिरेलाई निर्णायक तथा सचिवालयको जिम्मेवारी दिइएको छ ।
चेस खेल केवल प्रतिस्पर्धा मात्र नभई बौद्धिक क्षमता, धैर्य, रणनीति र निर्णय क्षमताको परीक्षा पनि हो । गाउँपालिकामै राष्ट्रियस्तरको प्रतियोगिता आयोजना हुनुले स्थानीय खेलाडीलाई अवसर प्रदान गर्नुका साथै नयाँ पुस्तामा बुद्धिचालप्रतिको आकर्षण बढाउन सहयोग पुग्ने अपेक्षा आयाेजककाे भनाई छ ।




..jpeg)


प्रतिकृया दिनुहोस