१७ वर्षीय सुजल कान्छा क्षेत्रीय प्रतिनिधि
इलाम :
नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत माईजोगमाई गाउँपालिका–५ सोयाङबाट १७ वर्षीय सुजल चापागाईं क्षेत्रीय प्रतिनिधिमा सर्वसम्मत चयन भएका छन्। ३५ वर्षमुनिको युवा कोटाबाट क्षेत्रीय प्रतिनिधिमा चयन भएका चापागाईं इलाम जिल्लाकै कान्छा क्षेत्रीय प्रतिनिधि भएको कांग्रेस माईजोगमाई गाउँकमिटीले जनाएको छ।
विद्यार्थी जीवनदेखि नै विद्यार्थी संगठनमार्फत राजनीतिक तथा पार्टी संगठनमा सक्रिय रहँदै आएका चापागाईं कम उमेरमै नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिको जिम्मेवारीमा पुगेका हुन्। उनको चयनसँगै माईजोगमाई–५ को कांग्रेस संगठनमा युवा पुस्ताको प्रतिनिधित्व थपिएको छ।
कांग्रेसका युवा नेता सुमन वेघाका अनुसार चापागाईं नेपाली कांग्रेसको इतिहासमै ७७ वटै जिल्लामध्ये सबैभन्दा कम उमेरका क्षेत्रीय प्रतिनिधि भएको दाबी गरिएको छ। यद्यपि, देशभरबाट चयन भएका विभिन्न उमेर समूहका क्षेत्रीय प्रतिनिधिहरूको उमेर विवरण पूर्ण रूपमा खुलिनसकेकाले उक्त दाबी पुष्टि हुन बाँकी रहेको बताइएको छ।
नेपाली कांग्रेस माईजोगमाई गाउँकमिटीका सचिव प्रदीपका अनुसार उपलब्ध विवरणका आधारमा चापागाईं इलाम जिल्लाकै कान्छा क्षेत्रीय प्रतिनिधि हुन्। उनले देशभर विभिन्न उमेर समूहका प्रतिनिधिहरू चयन भएको भए पनि सबै प्रतिनिधिको उमेर विवरण सार्वजनिक नभइसकेकाले जिल्लाको हकमा भने चापागाईंलाई कान्छा क्षेत्रीय प्रतिनिधिका रूपमा लिन सकिने बताए।
माईजोगमाई गाउँपालिका–५ सोयाङमा बुवा उमाकान्त चापागाईं र आमा नुमा देवी काफ्ले चापागाईंको कोखबाट जन्मिएका सुजलले नयाँबजारस्थित अमर कल्याण माध्यमिक विद्यालयबाट प्लस टुसम्मको अध्ययन पूरा गरेका छन्। उनी हाल इलामस्थित महेन्द्र रत्न बहुमुखी क्याम्पसमा स्नातक तह प्रथम वर्षमा अध्ययनरत छन्।
विद्यार्थी जीवनदेखि नै विद्यार्थी संगठनमा आबद्ध भएर राजनीतिक गतिविधिमा सक्रिय हुँदै आएका चापागाईं अहिले नेपाली कांग्रेसको क्षेत्रीय प्रतिनिधिको जिम्मेवारीमा पुगेका हुन्। १७ वर्षकै उमेरमा पार्टीको संगठनात्मक जिम्मेवारीमा पुगेका उनको चयनलाई कांग्रेसमा नयाँ पुस्ताको प्रवेश र युवा सहभागिताको एउटा उदाहरणका रूपमा लिन सकिन्छ।




प्रतिकृया दिनुहोस