३८ वर्ष एमालेमा संघर्ष, ‘पछुतो जीवन व्यर्थ बिताएकोमा छ’
इलाम :
झण्डै ३८ वर्ष लामो राजनीतिक यात्रा नेकपा एमालेमा बिताएका एक नेताले पार्टीको प्रदेश कमिटी सदस्य र साधारण सदस्यसमेत त्याग गरेको घोषणा गरेका छन् ।
उनले सामाजिक सञ्जालमार्फत आफ्नो राजनीतिक जीवनका उतारचढाव, संघर्ष, पार्टीभित्रको भूमिका तथा व्यक्तिगत पीडाहरू स्मरण गर्दै एमालेबाट अलग भएको घोषणा गरेका हुन् ।
तत्कालीन नेकपा मालेसँग २०४६ सालको जनआन्दोलनको शुरुआती चरणमै जोडिएका उनले २०४७ असारमा पदम भण्डारीबाट पार्टीको साधारण सदस्यता लिएको स्मरण गरेका छन् । त्यसपछि गाउँ कमिटी सदस्य, सचिव हुँदै इलाका कमिटी र जिल्ला कमिटी सदस्यको जिम्मेवारी सम्हालेका उनी जिल्ला उपसचिव तथा सचिवसमेत बने । उनले करिब आठ वर्ष पूर्णकालीन कार्यकर्ताका रूपमा बिताएको बताएका छन् ।
२०६७ सालमा नेपाल पत्रकार महासंघ इलाम शाखाको अध्यक्षसमेत बनेका उनले पार्टी संगठन निर्माणका क्रममा आफूले भोगेका संघर्ष र आक्रमणका घटनासमेत उल्लेख गरेका छन् । भारतीय सीमावर्ती गाउँमा एमालेको संगठन विस्तार गर्दा आफू र परिवारले ठूलो पीडा भोगेको उनको भनाइ छ ।
उनका अनुसार २०६० जेठमा एमाले भएकै कारण आफू २८ दिन माओवादी अपहरणमा परेका थिए । जौबारी र मानेभञ्ज्याङमा समेत आफू पटकपटक आक्रमणमा परेको उनले बताएका छन् ।
आफ्नो राजनीतिक जीवनको सबैभन्दा पीडादायी घटनाका रूपमा उनले पत्नी मीनाको निधनको प्रसंगसमेत उल्लेख गरेका छन् । २०६८ चैत २७ गते सुकिलुम्बा विमानस्थल शिलान्यास कार्यक्रममा पार्टीको निर्देशनअनुसार सहभागी हुन इलाम आएको र त्यसक्रममा सिलिगुडी अस्पतालमा रहेकी पत्नीलाई छोरीसँगै छाडेर आएको उनले बताएका छन् । तर, आफू इलाम आइपुग्दासम्म पत्नीको निधन भइसकेको उनको भनाइ छ। त्यसको १४ दिनपछि आमासमेत हृदयघातका कारण गुमाएको उनले उल्लेख गरेका छन् ।
पार्टी विभाजनका दुईवटै कठिन चरणमा आफू मूलधारमै रहेको बताउँदै उनले पछिल्ला दुई स्थानीय तह निर्वाचनमा उम्मेदवार बन्ने आकांक्षा राखे पनि टिकट नपाएको उल्लेख गरेका छन् । ‘सेटिङ, नातागोता र कृपापात्र’ बन्न नसकेकै कारण अवसर नपाएको उनको गुनासो छ ।
२०८१ कार्तिकमा भएको जिल्ला अधिवेशनमा गुटभन्दा बाहिर स्वतन्त्र रूपमा उपाध्यक्ष पदमा उम्मेदवारी दिएको र त्यसपछि आफू १९ महिना जिम्मेवारीविहीन भएको पनि उनले बताएका छन् । पछि असार ३ गते प्रदेश कमिटी सदस्यमा मनोनीत गरिएको उनले उल्लेख गरेका छन् ।
तर, लामो राजनीतिक यात्राप्रति पछुतो नभए पनि एमालेमा बिताएको जीवनप्रति भने अहिले पछुतो लागेको उनको निष्कर्ष छ ।
उनले आफूलाई एकपटक संसदीय तथा कार्यकारी भूमिकामा देख्न चाहने शुभचिन्तकहरूको चाहना पूरा गर्न नसकेकोमा क्षमासमेत मागेका छन् ।
अन्ततः उनले लेखेका छन्— ‘आजदेखि मैले एमाले प्रदेश कमिटी सदस्यको जिम्मेवारी र पार्टीको साधारण सदस्यसमेत त्याग गरेको छु ।’




प्रतिकृया दिनुहोस