७० शिक्षकलाई भलिबल प्रशिक्षण दिइने
इलाम :
इलाममा विद्यालय तहको भलिबल खेलको विकास र विस्तार गर्ने उद्देश्यले ७० जना खेल शिक्षकलाई छ दिने आधारभूत प्रशिक्षण दिइने भएको छ । जिल्ला भलिबल संघ इलामले जिल्लाका १० वटै स्थानीय तहका आधारभूत तथा माध्यमिक तहका खेल शिक्षकलाई लक्षित गरी आगामी भदौ १० देखि १५ गतेसम्म प्रशिक्षण सञ्चालन गर्ने भएको हो । प्रशिक्षणमा राष्ट्रियस्तरका प्रशिक्षकसहित सात जना प्रशिक्षक रहने जिल्ला भलिवल संघ इलामका अध्यक्ष प्रविन गुरुङले जानकारी दिए ।
इलाममा भलिबलको सुरुवात लामो समयदेखि हुँदै आए पनि पर्याप्त खेलमैदान, खेलाडीको संख्या तथा अनुशासित खेल संरचनाको अभावलगायत कारण खेलको विकास अपेक्षित रूपमा अघि बढ्न सकेको छैन । पछिल्लो समय जिल्ला खेलकुद विकास समितिको प्रयास र सम्बन्धित व्यक्तिहरूको सक्रियताले भलिबललाई निरन्तरता दिइँदै आएको उनको भनाई छ ।
प्रशिक्षणमार्फत विद्यालय तहमा भलिबल खेलको आधारभूत ज्ञान, सीप र क्षमता विकास गर्नुका साथै राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सबै स्थानीय तहबाट शिक्षकको सहभागिता सुनिश्चित गर्ने लक्ष्य राखिएको छ । जिल्लाभर भलिबलको विकासका लागि आवश्यक दक्ष जनशक्ति निर्माणमा समेत प्रशिक्षणले जोड दिने संघले जनाएको छ ।
प्रशिक्षणमा गाउँपालिकाबाट ६ जनाका दरले ६० जना, नगरपालिकाबाट चार जनाका दरले २८ जना तथा १० स्थानीय तहका संस्थागत विद्यालयबाट एक–एक जना र अन्य क्षेत्रबाट दुई जना सहभागी गराउने योजना छ ।
प्रशिक्षण सञ्चालनका लागि करिब चार लाख ५१ हजार ५०० रुपैयाँ खर्च लाग्ने अनुमान गरेको छ । प्रशिक्षणपछि १० स्थानीय तहभित्र रहेका माध्यमिक तथा आधारभूत तहका खेल शिक्षकलाई भलिबलसम्बन्धी आधारभूत ज्ञान र सीपमा दक्ष बनाउने तथा विद्यालयस्तरीय प्रतियोगिता सञ्चालनमा उनीहरूको भूमिका प्रभावकारी बनाउने अपेक्षा गरिएको छ ।







प्रतिकृया दिनुहोस