• बुधबार ५-३-२०८३/Wednesday 08-19-2026
  • 04:50:54

इलाममा चिन्ताजनक बन्दै लागू औषत

आइतबार, ३१ श्रावण, २०८३


इलाम ३१, साउन :
इलाममा पछिल्लो एक वर्षमा अपराधका घटना बढेको जिल्ला प्रहरी कार्यालयको वार्षिक प्रगति प्रतिवेदनले देखाएको छ । आर्थिक वर्ष २०८२÷८३ मा जिल्लामा तीन सय ८२ वटा मुद्दा दर्ता भएका छन् । अघिल्लो आर्थिक वर्षमा यस्तो संख्या तीन सय तीन  थियो । प्रहरीको तथ्यांकअनुसार तीन वर्षमा जिल्लामा मुद्दा दर्ताको संख्या निरन्तर बढेको देखिन्छ । आर्थिक वर्ष २०८०÷८१ मा दुईसय ७३ वटा मुद्दा दर्ता भएकोमा २०८१÷८२ मा तीन सय तीन र २०८२÷८३ मा तीन सय ८२ पुगेको हो ।
लागूऔषध सम्बन्धी कसुर आर्थिक वर्ष २०८०÷८१ मा १८ वटा रहेका, २०८१÷८२ मा २७ र गत आर्थिक वर्षमा १९ पुगेको छ । तीन वर्षअघि १८ वटा रहेको लागूऔषध सम्बन्धी मुद्दा २०८१÷८२ मा २७ र २०८२÷८३ मा १९ रहेको देखिन्छ । जसमा क्रमस ४१, ६१ र ३८ जना अभियुक्त रहेकोमा ३४, ५२ र ३८ जना पक्राउ परेको प्रहरीले जनाएको छ । 
प्रहरीले गत आर्थिक वर्षमा एक सय ६९ वटा मुद्दामा संलग्न दुई सय ४९ जना प्रतिवादीमध्ये दुई सय ३२ जनालाई पक्राउ गरेको जनाएको छ । १७ जना अझै खोजी सूचीमा छन् । फरार प्रतिवादी पक्राउ अभियानअन्तर्गत मात्रै एक सय २६ जना पक्राउ परेका छन् । प्रहरीले अदालतबाट फैसला भएका मुद्दाको कार्यान्वयनतर्फ पनि कारबाही अघि बढाएको जनाएको छ । फरार प्रतिवादीबाट ४२ वर्ष ६ महिना १५ दिन कैद तथा ३५ लाख ४५ हजार रुपैयाँ जरिवाना असुल भएको प्रतिवेदनमा उल्लेख छ ।


इलाममा अपराधसँगै सडक सुरक्षाको चुनौती पनि कायमै देखिएको छ । जिल्लामा एक सय  ५६ वटा सवारी दुर्घटना हुँदा १८ जनाको मृत्यु भएको छ । दुर्घटनामा एक सय ८४ जना घाइते भएका छन् । ट्राफिक नियम उल्लंघन गर्ने ४ हजार एक सय ३० वटा सवारी साधनमाथि कारबाही गरिएको प्रहरीले जनाएको छ । कारबाहीबाट ४८ लाख ६ हजार  तीन रुपैयाँ राजस्व संकलन भएको छ ।
अवैध काठ चोरी नियन्त्रणमा नौ सय ९८ बढी क्युफिट काठ नियन्त्रण गरेको छ भने दुई जनालाई पक्राउ गरेको प्रहरीले जनाएको छ । जसबाट आठ लाख ५८ हजार दुई सय ४५ रुपैया राजश्व संकलन गरेको जनाएको छ । त्यस्तै अवैध कारोबार नियन्त्रणतर्फ प्रहरीले ७८ लाख एक हजार छ सय ५५ रुपैयाँ बराबरको अवैध सामान बरामद गरी भन्सार दाखिला गरेको जनाएको छ । नदीजन्य पदार्थको अवैध दोहनमा प्रयोग भएका २ वटा सवारी साधन नियन्त्रणमा लिएर २५ हजार रुपैयाँ राजश्व संकलन गरेको छ । 
महिला, बालबालिका तथा ज्येष्ठ नागरिकसँग सम्बन्धित ३१ वटा उजुरी दर्ता भएकोमा ३१ वटै मिलापत्रबाट टुंग्याइएकोे प्रतिवेदनमा उल्लेख छ । प्रहरीले आत्महत्या रोकथाम तथा मानसिक स्वास्थ्यसम्बन्धी सचेतना अभियान पनि सञ्चालन गरेको जिल्ला प्रहरी कार्यालय इलामका एस पी कुल दिप चन्दले बताए । जिल्लाका विभिन्न स्थानमा सञ्चालन गरिएको अभियानबाट एक हजार पाँचसय भन्दा बढी नागरिक तथा विद्यार्थी लाभान्वित भएको प्रहरीको दाबी छ । समुदाय–प्रहरी साझेदारीअन्तर्गत विद्यालय, टोल र समुदायमा सचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको छ । इलाम बजार तथा प्रमुख नाकामा सीसीटीभी निगरानीलाई समेत विस्तार तथा सुदृढ गरिएको प्रतिवेदनमा उल्लेख छ । प्रहरीले आगामी वर्ष साइबर अपराध, बैंकिङ कसुर, सामाजिक सञ्जालको दुरुपयोग तथा सीमावर्ती क्षेत्रमा हुने लागूऔषध कारोबार र चोरी–पैठारी नियन्त्रणलाई प्रमुख चुनौतीका रूपमा पहिचान गरेको छ । 
 

प्रतिकृया दिनुहोस