• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 03:44:15

इलाम १ मा ढल्याे एमालेकाे विरासत

सोमबार, २५ फाल्गुण, २०८२


इलाम :
प्रतिनिधि सभा सदस्यमा नेकपा एमालेले लामो समयदेखि विजयी बन्दै आएको इलाम क्षेत्र नं १ मा यस पटक नेपाली कांग्रेस विजयी बनेको छ । २०४८ साल यता भएका निर्वाचन मध्ये २०५१ सालको निर्वाचनमा नेपाली काँग्रेसका बेनुपराज प्रसाईँले एक पटक जितेको यस क्षेत्रमा काँग्रेसका निश्कल राई विजयी बनेका हुन । एमालेको लाल किल्ला रहेको इलाममा यस पटक एमाले तेस्रो स्थानमा रहेको छ । 
कांग्रेसका राईले १४ हजार ५ सय ४३ मत प्राप्त गर्दै विजयी बन्दा उनका निकटतम श्रम संस्कृति पार्टीका विनोद नेम्बाङले मत १३ हजार ६ सय ३२ प्राप्त गरे । राईले नेम्बाङलाई नौ सय ११ मतान्तरले पराजीत गर्दै विजयी बनेका हुन । नेकपा एमालेका काजिमान कागतेले ११ हजार ९ सय ६६ मत, राष्ट्रिय स्वतन्त्र पार्टीका विमल गदालले ९ हजार १ सय ६० मत, र नेपाली कम्युनिष्ट पार्टीका रणबहादुर राईले ७ हजार ६ सय ६५ मत  प्राप्त गरे । त्यसै गरी मंगोल नेशनल अर्गनाइजेसनका बुद्धलाल मेचेले आठसय एक, राप्रपाकी ज्वाला नेपालले पाँचसय ७७, उज्यालो नेपालका हरी गुरुङले चार सय ८१, जसपाका लिला बहादुर सुनुवारले दुई सय ९६, नपाल कम्युनिस्टका नारदमणी साङपाङले एक सय ६५, नेपाल मजदुरकी तुल्सी केशरी प्रजापतिको ४४, संघिय लोकतान्त्रिकका राम प्रसाद लिम्बुले ३९ र नेपाल जनमुत्तिका डम्बर सिंह लिम्बुले २२ मत प्राप्त गरे ।  यस निर्वाचन क्षेत्रमा मा सूर्याेदय नगरपालिका, माई नगरपालिकाका ७ वटा वडा, सन्दकपुर, रोङ र माइजोगमाई गाउँपालिका छन् । अघिल्लो निर्वाचनमा इलाम १ बाट पूर्व प्रधानमन्त्री झलनाथ खनाललाई पछि पार्दै नेकपा एमालेका महेश बस्नेतले २५ हजार ७५३ मत ल्याएर विजयी बनेका थिए । खनालले २३ हजार ८९ मतका साथ पराजय बनेका थिए । 
३५ वर्षमा संसद् छिर्ने दाउमा चुनावी मैदानमा आएका राईले व्यवस्थापन विषयमा स्नातकोत्तर अध्ययन पूरा गरिसकेका छन् भने हाल अर्थशास्त्रमा एमफिल अध्ययनरत छन् । अध्ययन तथा अनुसन्धानका क्रममा उनले विभिन्न राष्ट्रिय तथा अन्तर्राष्ट्रिय सभा–सम्मेलनमा सहभागिता जनाउँदै दक्षिण कोरिया, हंगेरी लगायतका देशहरूको भ्रमण तथा अवलोकन गरेका छन ।
३५ वर्षको उमेरमै प्रतिनिधिसभा सदस्य बनेका निष्कल राई रोजगारी सिर्जना, सीप विकास, उद्यमशीलता प्रवर्धन तथा युवाको बढ्दो विदेश पलायन रोक्नु मुख्य चुनौती रहेको बताउछन । विद्यार्थी राजनीतिबाट सक्रिय हुँदै संसद् होमिएका राईले कृषि, शिक्षा सुधार, गुणस्तरीय पढाइ र सबैका लागि पहुँचयोग्य शिक्षालाई प्राथमिकतामा राखेको बताउछन ।  
इलाम क्षेत्र नं. १ क्षेत्र नं. २ को तुलनामा भौतिक पूर्वाधार  अन्य विकास निर्माणमा निकै सुविधा सम्पन्न मानिन्छ । चिया, दूध उत्पादन, छुर्पी, चीज, ललिपप जस्ता दूधजन्य पदार्थको उत्पादन,आलु, अदुवा, अम्लिसो, अकबरेलगायतका तरकारी उत्पादनको क्षेत्रमा अग्रणी  मानिने इलाम क्षेत्र नम्बर–१ पर्यटकीय हिसाबले पनि महत्त्वपूर्ण छ । कृषि उत्पादन, किसानलाई आत्मनिर्भर बनाउने लक्ष्य र पर्यटन पूर्वाधार तथा पर्यटन क्षेत्रको विकास प्राथमिकतामा राख्न् उनको लक्ष छ । 

 

प्रतिकृया दिनुहोस