• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 03:35:00

प्राथमिकता नीति निर्माण र विकासकै : नेम्बाङ

आइतबार, १० फाल्गुण, २०८२

इलाम : 

 सुहाङ नेम्बाङले प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको करिब एक वर्ष पूरा गर्दै नीति निर्माण र विकास निर्माणका दुवै क्षेत्रमा सक्रिय पहल गरेको बताएका छन् ।  इलाम–२ का मतदातासँग प्रत्यक्ष जोडिएका सडक तथा पुल योजनालाई पहिलो प्राथमिकतामा राखिएको उनले जनाएका छन् । विशेषगरी दमक–चिसापानी, नेपालटार–मंगलबारे–धुसेनी–गजुरमुखी, केचना–कञ्चनजंगा (मेची कोरिडोर), राँके–रवि–भेडेटार, राँके–गैँडे लगायत सडक योजनामा निरन्तर पहल गरेको उनले बताए ।

उप निर्वाचनताका कतिपय सडक सुस्त गतिमा निर्माण भइरहेका, केही खण्डमा ठेक्का तोडिएको तथा पुल अभावका कारण सर्वसाधारणले सास्ती खेपिरहेको अवस्था रहेको उल्लेख गर्दै उनले ती योजनालाई पुन ः गति दिन मन्त्रालयस्तरमा निरन्तर पहल गरिएको जानकारी दिएका छन् । दमक–चिसापानी सडकको ठेक्का तोडिएको खण्ड पुनः सञ्चालनका लागि सिंहदरबारसम्म पहल गरिएको र चालु आर्थिक वर्षमा २० करोड रुपैयाँ बजेट विनियोजन भएको उनको दाबी छ । नेपालटार–मंगलबारे सडकमा अघिल्लो वर्ष ८० लाख रुपैयाँ विनियोजन भएको तथा चालु आर्थिक वर्षमा बहुवर्षीय ठेक्का प्रक्रियामा गएको जनाइएको छ ।

केचना–कञ्चनजंगा सडकमा बेलीब्रिज जडान भई निर्माणले गति लिएको, राँके–रवि सडक तीव्र गतिमा अघि बढिरहेको तथा राँके–गैँडे सडक स्तरोन्नति र कालोपत्रे प्रक्रियामा रहेको उनले बताएका छन् । दोभान पुलको स्रोत सुनिश्चितता र सटके पुलको टेण्डर प्रक्रिया अघि बढेको पनि जानकारी दिइएको छ । बजेट विनियोजन र ठेक्का प्रक्रिया पूरा भए पनि कार्यान्वयन चरणमा ढिलाइ हुनु सुशासनको कमजोरीसँग जोडिएको नेम्बाङको भनाइ छ । प्रभावकारी अनुगमन, पारदर्शिता र जवाफदेहिता सुदृढ गर्नुपर्ने आवश्यकता औंल्याउँदै उनले विकासका सबै पक्ष—आर्थिक, सामाजिक, भौतिक र वातावरणीय—सँगसँगै अघि बढ्नुपर्ने धारणा व्यक्त गरेका छन् । मेरो एक वर्षको कार्यकालमा मतदाताको मनोभावनामा ठेस नपुगेको विश्वास व्यक्त गर्दै उनले आगामी दिनमा अझ जिम्मेवार र लगनशील भएर काम गर्ने प्रतिबद्धता दोहोर्याएका छन् । विकास निर्माणका अधुरा काम पूरा गर्न सहकार्यको आह्वान गरेका छन् ।

 

प्रतिकृया दिनुहोस