• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 03:37:34

१६ महिनाकाे संसदयात्रमा सुहाङ....

शनिबार, १६ फाल्गुण, २०८२


इलाम क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएको १६ महिनामा सुहाङ नेम्बाङले सङ्घीय संसद्को शून्य समयमा इलामका विषय सशक्त रूपमा उठाएका छन् । प्रतिनिधि सभामा पहिलो पटक भाषण गर्दै इलामबाट निर्वाचित सांसदले आफ्नो व्यक्तिगत यात्रा र भावनालाई उजागर गरे । उनले शहीद रत्नकुमार बान्तवा, बमप्रसाद बान्तवा लगायत परिवर्तन र रूपान्तरणका आन्दोलनमा योगदान दिने ज्ञात–अज्ञात सबै शहीदप्रति श्रद्धाञ्जली अर्पण गरे । सांसदले विशेष गरी आफ्नो बुबा, संविधानसभा अध्यक्ष सुवासचन्द्र नेम्वाङको योगदान सम्झँदै, “म यहाँ इलामेली जनताको कारण छु । उहाँले देखाएको मार्ग मेरो लागि प्रेरणा हो,” भनेका थिए ।
उनले त्यस बेला आर्थिक वर्ष २०८१÷०८२ को बजेटमा सांसदले सरकारको प्रयासको समर्थन गरे पनि कार्यान्वयनमा देखिएको ढिलाइ र गुणस्तरको कमीप्रति चिन्ता व्यक्त गरेका थिए । उनले विकासमा अवरोधको मुख्य कारण भ्रष्टाचार, संरचनागत कमजोरी, वा राजनीतिक अस्थिरता हो कि भन्ने प्रश्न राखेका थिए ।  सांसदले युवाहरूको आकाङ्क्षा र परिवर्तनको चाहना प्रस्तुत गर्दै, बजेट र विकास योजनामा गुणस्तरीय, समयमै र प्रभावकारी कार्यान्वयन आवश्यक रहेको जोड दिएका थिए । उनले संसदमा सबै दल र नेताहरूलाई सहकार्य गर्न आह्वान गरेका थिए ।


संसदमा बोल्दै नेम्बाङले कालोपत्रे र पुल निर्माण समयमै सम्पन्न गर्न सम्बन्धित निकायलाई निर्देशन दिन सभामुख समक्ष माग गरे । उनले सडक निर्माणका लागि बजेट छुट्टाइए पनि काममा ढिलासुस्ती भइरहेको उल्लेख गर्दै ठेकेदार र जिम्मेवार निकायलाई कामप्रति उत्तरदायी बनाउनुपर्नेमा जोड दिए । केचना–कञ्चन्जंघा, दमक–चिसापानी, नेपालटार–मङ्गलवारे, राँके–रबी–भेडेटार, राँके–गेडैजस्ता सडक आयोजनालाई उदाहरण दिँदै कामको गति बढाउन आग्रह गरेका थिए ।
इलाममा उत्पादन हुने कृषिजन्य वस्तुको निर्यातमा देखिएको समस्याले किसान चिन्तित बनेको उल्लेख गर्दै चिया निर्यातमा देखिएको अवरोध तत्काल समाधान गर्न सरकारसँग माग गरे । अन्तर्राष्ट्रिय बजारमा चियाको मूल्य घट्दा किसान प्रत्यक्ष मारमा परेको भन्दै उचित समाधान खोज्न सरकारलाई आग्रह गरे । शैक्षिक पूर्वाधार सुदृढीकरण, आधुनिक पाठ्यक्रम सुधार र उच्च शिक्षाको पहुँच विस्तार गर्न जोड दिँदै भविष्यका पुस्तालाई प्रतिस्पर्धी बनाउन दीर्घकालीन योजना आवश्यक रहेको धारणा राखे । स्वास्थ्यको सन्दर्भमा इलाम जिल्ला अस्पतालमा विशेषज्ञ चिकित्सकको दरबन्दी रिक्त रहेको र अस्पताल भवन जीर्ण अवस्थामा रहेको उल्लेख गर्दै दरबन्दी पूर्ति तथा नयाँ भवन निर्माणको लागी सरकारसँग माग गरे । एम्बोस्ड नम्बर प्लेट तत्काल कार्यान्वयन गर्न समस्या हुने भन्दै यसलाई अझै अध्ययन नगरी प्रक्रिया अघि नबढाउन सरकारलाई आग्रह गरे ।

प्रतिकृया दिनुहोस