• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 03:44:16

देउमाई नगरपालिकाको १०औँ नगरसभाबाट समृद्ध नगर निर्माण

शुक्रबार, ६ असार, २०८२

इलाम : देउमाई नगरपालिकाले आर्थिक वर्ष २०८२र०८३ का लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रम सर्वसम्मतिमा पारित गरिएको छ । देउमाई नगरपालिकाका प्रमुख सूर्यप्रसाद पोख्रेलले १० औँ नगरसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेका थिए । 

नीति तथा कार्यक्रममा स्वास्थ्य, शिक्षा, भौतिक पूर्वाधार, कृषि र पर्यटन, रोजगारी, ऊर्जा, विपद् व्यवस्थापन समेटिएको छ । निति तथा कार्यक्रममा विकासमार्फत समृद्ध र समावेशी नगर निर्माण गर्ने प्रतिबद्धता समेत जनाएको छ । स्थानीय आवश्यकता, संविधान र कानुनद अनुसार नै नीति तथा कार्यक्रम तयार पारिएको बताइएको छ । 

 

देउमाई नगरपालिकाको १०औँ नगरसभामा प्रस्तुत नीति तथा कार्यक्रम
 

आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम

देउमाई नगरपालिकाको दशौँ नगर सभामा उपस्थित सभाका सदस्य ज्यूहरु, देउमाई नगरपालिकाको दशौँ नगर अधिवेशनको यो ऐतिहासिक, संवेदनशील एवं महत्वपूर्ण क्षणमा हार्दिक स्वागत अभिवादन  गर्दछु।

नेपालको संविधानले परिकल्पना गरेको दिगो शान्ति, सुशासन, विकास र समृद्धिको आकाँक्षा पूरा गर्न एवं संघीयता कार्यान्वयनलाई व्यवहारिक बनाई स्थानीय जनताको जनजिविकामा आमूल परिवर्तन गर्न आगामी आ.व. २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गरी देउमाईको शासन, विकास र सेवा प्रवाहलाई व्यवस्थित र प्रभावकारी बनाई नियमन र व्यवस्थापन कार्यलाई सुदृढ बनाउनु हाम्रो कर्तव्य र जिम्मेवारी हो।

संविधान प्रदत्त हक अधिकारसहित गठित यस नगरपालिकाको जननिर्वाचित स्थानीय सरकार प्रमुखको हैसियतले यस गरिमामय सभामा आर्थिक वर्ष २०८२/०८३ को वार्षिक नीति तथा कार्यक्रम पेश गर्न उपस्थित भएको छु।यस सुवर्ण अवसरमा सर्वप्रथम त नेपाली नागरिकहरुको सम्मान, स्वतन्त्रता तथा समानता जस्ता नागरिक, राजनितिक, सामाजिक तथा आर्थिक हक अधिकार प्राप्तिका लागि विभिन्न कालखण्डमा शाहदत प्राप्त गर्नुहुने सम्पूर्ण देशभक्त अमर शहीदहरु प्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।साथै विभिन्न जनआन्दोलनका घाइते र वेपत्ता नागरिकप्रति सम्मान प्रकट गर्दछु।

नगरपालिकाको अधिकारक्षेत्र भित्र उपलब्ध रहेका सीमित साधन र श्रोतका बावजुद पनि सम्पूर्ण नगरवासीको विकास र समृद्धिको तिब्र ईच्छा, चाहाना र आवश्यकतालाई सम्बोधन गर्न हामी प्रतिबद्ध छौ।राजनीतिक परिवर्तनसँगै जनतामा पलाएका आशा र भरोसालाई सम्बोधन गर्ने अर्जुनदृष्टिका साथ आ.व.२०८२/०८३ को नीति तथा कार्यक्रम यस सम्मानित सभा मार्फत समग्र देउमाई नगरवासी नागरिकहरु समक्ष राख्न पाउँदा गौरवको अनुभूति गरेको छु।

सभाका सदस्य ज्यूहरु,

हाम्रो विद्यमान परिवेश (राजनीतिक, आर्थिक, सामाजिक, प्रशासनिक, आदि)

विश्वव्यापी रुपमा फैलिएको कोभिड-१९ महामारीबाट थलिएर माथि उठ्न लागेको अर्थतन्त्र पुनः रुस-युक्रेन युद्ध र सोबाट विश्व आपूर्ति शृङ्खलामा आएको संकुचनले नेपाललाई समेत प्रभाव पारेको अवस्था विद्यमान नै छ। यसबाट संघीय सरकारको राजश्व परिचालनमा प्रभाव पर्न गई स्थानीय तहले प्राप्त गर्ने वित्तिय हस्तान्तरणको रकममा संकुचन आएको छ।

नेपालको जनसांख्यिक लाभ लिदै अल्प विकसित मुलुकबाट विकासशील मुलुकको श्रेणीमा स्तरोन्नती हुनै लाग्दा हरेक दिन करिब २ हजार युवाहरु रोजगारीको खोजीमा नेपाल छाडेर विदेशिनु पर्ने अवस्थाले हामी सबैलाई गम्भीर बनाएको छ। आन्तरिक र बाह्य बसाइ सराइको तिव्रताले ग्रामीण बस्तीहरु सुनसान बन्दै गइरहेका छन्।खेति योग्य जमिनहरु बाँझिदै जाने र खाद्यान्न आयात गर्ने उपभोगमुखी संस्कृति हावी हुन लागेको छ।यस सन्दर्भमा युवालाई देशभित्रै रोजगारीको अवसर सृजना गर्न र गाउँघरको बसाइलाई आकर्षक बनाउने चुनौती हामीसँग छ।

अर्थतन्त्रलाई पुनर्उत्थान गर्दै तिव्र, दिगो, रोजगारमूलक र फराकिलो आर्थिक वृद्धि तथा विकासको माध्यमबाट "समृद्ध नेपाल सुखी नेपाली" को नारालाई साकार पार्न आधुनिक र प्रविधिमैत्री सुशासन प्रणालीको माध्यमद्वारा सेवा प्रवाहलाई जनमूखी र प्रभावकारी बनाउनु पर्ने अवस्था छ।

सभाका सदस्य ज्यूहरु,

आर्थिक वर्ष २०८२/०८३ को नीति तथा कार्यक्रम तयार गर्दा देहाय बमोजिमका क्षेत्रहरुलाई प्राथमिकतामा राखिएको छ।

  • आर्थिक विकास र गरिबी निवारणमा प्रत्यक्ष योगदान पुर्याउने,
  • उत्पादनमूलक तथा छिटो प्रतिफल प्राप्त गर्न सकिने,
  • जनताको जीवनस्तर, आम्दानी र रोजगारी बढ्ने,
  • स्थानीय पूर्वाधार विकास,
  • स्थानीय सहभागिता जुट्ने, स्वयंसेवा परिचालन गर्न सकिने तथा लागत कम लाग्ने
  • स्थानीय स्रोत साधन र सीपको अधिकतम प्रयोग हुने
  • महिला, बालबालिका, ज्येष्ठ नागरिक, अपाङ्गता भएका  व्यक्ति तथा पिछडिएका क्षेत्र र समुदायलाई प्रत्यक्ष लाभ पुग्ने,
  • लैङ्गिक समानता र सामाजिक समावेशीकरण अभिवृद्धि हुने,
  • दिगो विकास, वातावरणीय संरक्षण तथा सम्वर्द्धन गर्न सघाउ पुर्याउने
  • प्राकृतिक स्रोतको दिगो उपयोग तथा विपद व्यवस्थापन
  • भाषिक तथा साँस्कृतिक पक्षको जगेर्ना र सामाजिक सद्भाव तथा एकता अभिवृद्धिमा सघाउ पुर्याउने

सभाका सदस्य ज्यूहरु,

आर्थिक वर्ष २०८२/ 08३ को वार्षिक नीति तथा कार्यक्रम तर्जुमा गर्ने सन्दर्भमा निम्नलिखित विषय वस्तुहरुलाई आधार मानी तयार गरिएको छ ।

क. नेपालको संविधान,

ख. स्थानीय सरकार सञ्चालन ऐन, २०७४

ग. संघ र प्रदेश सरकारबाट प्राप्त निर्देशनहरु,

घ. दातृ निकायसँग भएका सम्झौताहरु,

ङ. वडा समितिबाट प्राप्त भएका माँगहरु तथा सुझावहरु,

च. स्थानीय तहको वार्षिक योजना तथा बजेट तर्जूमा दिग्दर्शन, २०७४,

छ. श्रोत साधनको उपलब्धता,

ज. सरोकारवालाहरुको राय सुझाव,

झ. सोह्रौँ पञ्चवर्षीय योजना,

ञ. दिगो विकास लक्ष्य

 

नगरवासीले दिएको अगाध माया र ममताबाट प्रेरित भई मैले देउमाई नगरपालिकालाई बसौँ बसौँ लाग्ने गाउँहरु र सहरहरु निर्माण सँगै समुन्नत र समृद्ध नगरपालिकाको रुपमा अघि बढाउन विगतमा भएका असल अभ्यासहरुलाई निरन्तरता दिदैँ र सुधार गर्नु पर्ने पक्षहरुलाई सिकाइका रुपमा ग्रहण गर्दै, यस नगरपालिकाको भूगोल, भाषा, धर्म, कला, सँस्कृति, जातियता, रहनसहन र रितिरिवाजमा भएको पृथकताको सम्मान गर्दै सबै क्षेत्रको समानुपातिक विकासका लागि आगामी आ.व. २०८२/ 08३ मा अवलम्बन गरिने नीतिहरु स्थानीय सरकार सञ्चालन ऐन,२०७४ को दफा ७१ को व्यवस्था अनुरुप प्रस्तुतिका लागि अनुमति चाहन्छु ।

१.शिक्षा, युवा तथा खेलकुद

  1. उत्कृष्ट नतिजा हासिल गर्ने शिक्षक तथा विद्यार्थी प्रोत्साहन  गर्ने नीति अवलम्बन गरिनेछ।
  2. शैक्षिक गुणस्तर वृद्धि गर्दै विद्यालय भर्ना कार्यक्रमलाई थप प्रभावकारी बनाउन आवश्यक नीति लिइने छ।
  3. विद्यार्थीहरुमा अन्तरनीहित प्रतिभाको पहिचान गरि विकासको अवसर निर्माण गर्ने नीति लिइनेछ।
  4. देउमाई नगरभित्रमा रहेका सम्पूर्ण माध्यमिक विद्यालयहरुमा सत्र्चालित विद्यालय स्वास्थ्य स्वयंसेवक कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  5. गरीविका कारणले शिक्षामा पहूँच नहुने अवस्थालाई अन्त्य गर्न विद्यालयहरुमा छात्रवृति कोष कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  6. शिक्षण सिकाईलाई आधुनिक, समयानुकूल र प्रविधिमैत्री बनाउदै विषयगत क्षमता विकासका लागि आवश्यक नीति लिइनेछ।
  7. संघीय सरकार, प्रदेश सरकार र दाताहरुको समन्वयमा नगरपालिका भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरुको शैक्षिक वातावरण, भौतिक पूर्वाधार विकास र स्तरोन्नतीका लागी आवश्यक नीति लिइनेछ।
  8. परम्परागत तथा धार्मिक विद्यालयहरुको संरक्षण, प्रवर्धन तथा गुणस्तरीय शिक्षाका लागि आवश्यक नीति लिइनेछ।
  9. नगर प्रमुख छात्रवृति कोषबाट ईन्जिनियरिङ्ग अध्ययनरत विद्यार्थीहरुलाई प्रदान गरिदै आएको छात्रवृति कार्यक्रमलाई निरन्तरता दिइने छ।
  10. देउमाई नगरपालिकाको परिचय आम विद्यार्थीमा पुर्र्याउने लक्ष्य अनुरुप "हाम्रो देउमाई" पाठ्यपुस्तक तयार गरि कक्षा १ देखि ८ सम्म निशुल्क रुपमा सम्पूर्ण सामुदायिक तथा संस्थागत विद्यालयमा लागू गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
  11. निशुल्क रुपमा वितरण गरिदै आएको स्यानिटरी प्याड वितरण कार्यक्रममा नगर भित्रका सम्पूर्ण सामुदायिक विद्यालयहरु, संस्थागत विद्यालयहरु तथा मंगलबारे बहुमुखी क्याम्पसका छात्राहरुलाई समेत समावेश गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
  12. शैक्षिक उपलब्धिमा उत्कृष्ट नतिजा हासिल गर्ने विद्यालय र उत्कृष्ट शिक्षकलाई नगर शिक्षा पदकबाट सम्मान गरिनेछ।
  13. हाम्रो विद्यालय आफै बोल्छ कार्यक्रम अन्तर्गत विद्यालयका अनुकरणीय अभ्यास, शैक्षिक उपलब्धि र अब्बल विद्यार्थीहरुको अभिलेख राखी उजागर गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
  14. देउमाई नगरपालिकालाई शैक्षिक पर्यटन गन्तव्यको रुपमा स्थापित गर्ने लक्ष्य अनुरुप हाल भानुभक्त मा.वि., मंगलबारेमा प्राविधिक धार अन्तर्गत सिभिल ईन्जिनियरिङ्ग, जितपुर मा.वि.,जितपुरमा पशुविज्ञान र खान्द्रुङ्ग मा.वि.,पञ्चमीमा विज्ञान संकाय सञ्चालन गरिदै आएकोमा आगामी आ.व.मा समेत साधन स्रोतको यथोचित व्यवस्थापनलाई निरन्तरता दिने नीति अवलम्बन गरिनेछ।
  15. युवालाई व्यवसायिक एवं उद्यमी बनाउन विभिन्न प्रकारका व्यवसायिक तथा सीपमूलक तालिम प्रदान एवं प्रविधि हस्तान्तरण गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
  16. "स्वस्थका लागि खेलकुद राष्ट्रका लागि खेलकुद" भन्ने नारालाई साकार बनाउन नगर क्षेत्रभित्र विभिन्न स्थानमा खेलकुदका लागि आवश्यक पूर्वाधार निर्माण गर्दै युवाहरुलाई खेलकुद गतिविधि तर्फ आकर्षित गर्न विभिन्न खेल विधाका नगर, जिल्ला तथा प्रदेश स्तरीय प्रतियोगिता आयोजना गर्ने नीति लागू गरिनेछ।
  17. नगर स्तरीय अन्तर मा.वि. छात्रा फुटबल र छात्र भलिबल प्रतियोगिता तथा नगर स्तरीय अन्तर आ.वि. (-) छात्र फुटबल प्रतियोगिता सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
  18. नगरभित्र सञ्चालन हुने सम्पूर्ण खेल तथा खेलाडीलाई प्रोत्साहन गर्ने नीति लागू गरि यूवालाई लागुपदार्थ दुर्व्यसनबाट टाढा रहन प्रेरित गरिनेछ।

 

२.स्वास्थ्य

  1. विशेषज्ञ सहितको अत्याधुनिक स्वास्थ्य सेवा नगरवासीलाई प्रदान गर्न देउमाई नगरपालिकामा निर्माणाधिन १५ शैय्याको नगर अस्पताललाई आ.व. २०८२/०८३ भित्र निर्माण सम्पन्न गरि पूर्ण क्षमतामा सञ्चालन गर्न आवश्यक नीति ‌लिइनेछ।    
  2. सुरक्षित मातृत्व तथा बालपोषण कार्यक्रमलाई निरन्तरता दिदै अपाङ्गता गर्भमै रोकथाम गर्नका लागि चौमासिक गर्भ जाँचलाई प्रोत्साहन गर्न प्राथमिक स्वास्थ्य केन्द्र, मंगलबारेमा सञ्चालनमा रहको भिडियो एक्स-रे सेवालाई थप व्यवस्थित बनाइनेछ र वडा स्तरमै गर्भवती महिलाहरुका निशुल्क भिडियो एक्स रे सेवा विस्तार नीतिलाई निरन्तरता दिइनेछ।
  3. "नगरको इच्छा आमा बच्चाको सुरक्षा" नारा सार्थक बनाउन नगरभित्रका सम्पूर्ण गर्भवती महिलाहरुलाई सुरक्षित रुपमा सुत्केरी गराउनका लागि प्राथमिक स्वास्थ्य केन्द्र, मंगलबारेबाट जिल्ला अस्पतालसम्म पुर्याउन निशुल्क एम्बुलेन्स सेवालाई निरन्तरता दिइनेछ।
  4. "स्वस्थ एवं समृद्ध देउमाई" साकार पार्न महिला स्वास्थ्य स्वयंसेविकाको सेवालाई उच्च मूल्याङ्कन गर्दै प्रोत्साहनका कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  5. नगरपालिका भित्रका सबै स्वास्थ्य संस्थाहरुलाई उपलब्ध गराईने राष्ट्रिय निःशुल्क कार्यक्रमका अत्यावश्यक औषधिहरुको स्टक आउट हुन नदिन नियमित आपूर्तिको ब्यवस्थापन गरिनेछ साथै नसर्ने रोग तथा मानसिक रोग सम्बन्धी समुदाय स्तरको कार्यक्रम एवं औषधि व्यवस्थापनका लागि आवश्यक नीति लिइनेछ । 
  6. "स्वस्थ जीवनका लागि नियमित योग" भन्ने नारा साकार बनाउन आयुर्वेद सेवा सुदृढीकरण तथा सबलीकरण कार्यक्रम मार्फत योग शिविर सञ्चालन, मातृ शिशु स्तनपायी कार्यक्रम, स्वस्थ जीवनशैली अभियान तथा आयुर्वेद सेवा विस्तार कार्यलाई निरन्तरता दिइनेछ ।
  7. विगतका वर्ष देखि प्रदान गर्दै आएको विपन्न नागरिक औषधी उपचार सम्बन्धी जटिल प्रकृतिका रोगको उपचारका लागि बिरामीलाई उपचारको पहूँच सम्म पुर्याउन आवश्यक यातायात सहयोगको ब्यवस्थालाई निरन्तरता दिईनेछ ।
  8. सुत्केरी स्याहार तथा बालपोषण भत्ता कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  9. नियमित खोप कार्यक्रमलाई थप व्यवस्थित गर्दै चालु आ.व.मा झै आगामी आ.व.मा पनि देउमाई नगरपालिकालाई पूर्ण खोप सुनिश्चितता नगरपालिका घोषणा गर्न आवश्यक नीतिलाई निरन्तरता दिनेछ ।
  10. खोप केन्द्रको भवन निर्माणका लागि आवश्यक नीतिलाई निरन्तरता दिइनेछ।
  11. क्षयरोग मुक्त पालिका घोषणा कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  12. संघीय सरकारको नीति अनुरुप महिलाको पाठेघरको मुखको क्यान्सरको स्क्रिनिङ्ग तथा खोप कार्यक्रमलाई सफल बनाउन आवश्यक नीति लिइनेछ।
  13. स्वास्थ्य सेवाबाट प्रदान गरिने प्रर्वधनात्मक, प्रतिकारात्मक तथा उपचारात्मक सेवाको गुणस्तर अभिवृद्धिका लागि आपूर्ति, अनुगमन र नतिजा मा आधारित रणनीति अवलम्बन गरिनेछ।यसबाट प्राप्त नतिजालाई स्वास्थ्यकर्मीको सेवा, सुविधा तथा निरन्तरतासँग आबद्ध गरिनेछ।

 

सभाका सदस्य ज्यूहरु,

३.भौतिक पूर्वाधार विकास

  1. "टोल विकासमा हामी, पालिकासँग सहलगानी" भन्ने नारालाई साकार बनाउन मागमा आधारित पुर्वाधार निर्माणमा २५ प्रतिशत लागत साझेदारी गर्न इन्छुक टोल/समुदाय र संघ-संस्थालाई प्राथमिकता दिने नीतिलाई निरन्तरता दिइनेछ।
  2. नगर भित्रका सम्पूर्ण सडक सञ्जाललाई क्रमिक रुपमा अल वेदर (All Weathered)  बनाउनको लागि कार्ययोजना बनाई लागु गर्ने आवश्यक नीतिलाई निरन्तरता दिइनेछ।
  3. नगर यातायात गुरुयोजना अनुरुप सडक नीति लागू गर्दै लगिनेछ ।
  4. देउमाई नगरपालिकाको दिर्घकालिन विकासका लागि राष्ट्रिय आवधिक योजनासँग तादम्यता कायम हुने गरि आवधिक विकास योजना तथा मध्यकालीन खर्च कार्ययोजना कार्यान्वयन गर्न आवश्यक नीति लागु गरिनेछ।
  5. शहरी क्षेत्र तथा ग्रामिण सडकहरुको स्तरवृद्धिका कार्यक्रमहरुलाई निरन्तरता दिने नीति लिइनेछ ।
  6. नयाँ सडक वनाउने कार्यलाई निरुत्साहित गर्दै विद्यमान सडकहरुको गुणस्तरीय स्तरोन्नतिको कार्यलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिइने छ।
  7. विगतमा शुरुवात भई विभिन्न कारणवश सम्पन्न हुन नसकेका अधुरा आयोजनाहरुलाई सम्पन्न गर्नका लागि आवश्यक नीति लिइनेछ।
  8. संघ तथा प्रदेश सरकारसँगको समन्वय सहकार्यमा देउराली-रत्न सुरुङ्ग-मंगलबारे-कटेज-फुटुक-इलाम गोलाखर्क सडक(सुवास रत्न सडक), देउमाई नगरपालिकाको केन्द्र मंगलबारे र मेची राजमार्ग जोड्ने नेपालटार-मंगलबारे सडक, मंगलबारे-गजुरमुखी सडक, देउराली-विन्दुले-मंगलबारे सडक, गाग्रेभञ्ज्याङ्ग-बेलासे सडक स्तरोन्नतिको कार्यलाई निरन्तरता दिइने छ।
  9. झोलुङ्गेपुल विस्तार आयोजनालाई निरन्तरता दिइनेछ।
  10. सम्पूर्ण वडाहरुबाट प्राप्त भएका आयोजनाहरु एकीकृत गरी नगर आयोजना बैंकको स्थापना मार्फत प्राथमिकताका आधारमा कार्यान्वयन गर्न आवश्यक नीति लिइनेछ।  

 

४.रोजगारी तथा गरिवी निवारण

  1. नगरका सम्पूर्ण रोजगारीका कार्यक्रमहरु एकिकृत रुपले सञ्चालन गर्न तथा बेरोजगार व्यक्तिहरु एवं रोजगारदाताहरुको वास्तविक तथ्याङ्क राख्न, अद्यावधिक गर्ने, श्रम स्वीकृतिमा सहजीकरण गर्ने लगायतका रोजगारी सम्बन्धी  सम्पूर्ण सेवा प्रदानका लागि रोजगार सेवा केन्द्रलाई श्रम बैंकको रुपमा विस्तार गर्ने उद्देश्य अनुरुप राष्ट्रिय रोजगार कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रम र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रमलाई एकीकृत रुपले सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
  2. नगरक्षेत्र भित्रका श्रम सक्रिय जनशक्तिलाई स्वरोजगार तर्फ उन्मुख गराउन घरेलु तथा साना उद्योग क्षेत्र, सीप तथा व्यवसाय प्रवर्द्धन गर्ने निकायहरुसँग आवश्यक समन्वय गरी सम्बन्धित सीपलाई उजागर गरी क्षमता अभिवृद्दि कार्यक्रमलाई  निरन्तरता  दिइनेछ ।
  3. वैदेशिक रोजगारीबाट फर्केका तथा नगरभित्र रहेका बेरोजगार व्यक्तिहरुलाई उनीहरुको सिप र क्षमताको पहिचान गरी स्वदेश मै रोजगार बनाउन राष्ट्रिय रोजगार कार्यक्रम, सुरक्षित आप्रवासन कार्यक्रम र गरिबी निवारणका लागि लघु उद्यम विकास कार्यक्रममा समाहित गर्दै  उद्यमशीलता विकास गरि स्वरोजगार बनाउन आवश्यक नीति तय गरिनेछ।
  4. वैदेशिक रोजगारीमा गएका तथा वैदेशिक रोजगारीबाट फर्कि आएका र निजको परिवारको सामाजिक सुरक्षा तथा सहायताको लागि सुरक्षित आप्रवासन कार्यक्रमसँग समन्वय तथा सहकार्यलाई प्रभावकारी बनाउन आवश्यक नीतिलाई निरन्तरता  दिइनेछ।
  5. सार्वजनिक पूर्वाधार निर्माण तथा राष्ट्रिय रोजगार कार्यक्रममा स्थानीय जनशक्तिको प्रयोगलाई प्रोत्साहन गर्दै निर्माण सामाग्री तथा औजार व्यस्थापन गर्न आवश्यक नीति लिइनेछ।
  6. बेरोजगार व्यक्तिहरुका लागि कार्यस्थलमा आधारित सीप विकास तालिम प्रदान गरि स्वरोजगार बनाउन आवश्यक नीति लिइनेछ।

 

 

५.खानेपानी, सिँचाई तथा सरसफाई

सभाका सदस्य ज्यूहरु,

  1. स्वच्छ खानेपानी स्वस्थ जीवनको पहिलो आधार हो।पुर्णरुपमा स्वच्छ र पर्याप्त खानेपानीको प्रत्याभूत गराउन खानेपानी सञ्जालको विस्तार तथा धारा जडान कार्यलाई निरन्तरता दिइनेछ।
  2. दीर्घकालीन खानेपानी समस्या समाधानका लागि नयाँ श्रोतको व्वस्थापन गर्ने नीति अनुरुप बृहत देउमाई खानेपानी आयोजनाका लागि पहल गरिनेछ।
  3. टोल तथा वस्ती स्तरका खानेपानी आयोजनाहरुलाई क्रमशः नगरको मातहत ल्याइ व्यवस्थित गर्ने नीति अनुरुप एकिकृत गर्दै लगिनेछ।
  4. खानेपानी, सरसफाई तथा स्वच्छता योजना तयार गरि लागु गरिनेछ ।
  5.  कृषि योग्य जमिनमा सिँचाई सुविधा पुर्याउन आवश्यक नीतिलाई निरन्तरता दिइनेछ ।
  6. स्वच्छ एवं स्वस्थ पर्यावरणलाई दृष्टिगत गर्दै फोहोरमैला व्यवस्थापनलाई प्रभावकारी बनाउन आवश्यक नीति लिइनेछ।
  7. बढ्दो शहरीकरणका कारण वृद्धि हुदै गरेको फोहोरमैला व्यवस्थापनका लागि वडाहरुको समन्वयमा फोहोरमैला संकलन केन्द्र स्थापनाका लागि उपर्युक्त स्थान पहिचान गर्ने नीति लिइनेछ।
  8. सुन्दर शहर हराभरा नगर बनाउने अभियान अन्तर्गत सार्वजनिक स्थलहरुमा डस्टविन व्यवस्थापन तथा पुष्परोपण कार्यका लागि अवलम्बन गरिएको नीतिलाई निरन्तरता  दिइनेछ।

 

६.वन, वातावरण तथा विपद् व्यवस्थापन

  1. जलाधार तथा खानेपानी मूहानलाई संरक्षण गर्न आवश्यक नीति अवलम्बन गरि वृक्षरोपण कार्यक्रम निरन्तरता दिइनेछ।
  2. सडक तथा संरचनाहरु निर्माण गर्दा वन तथा वातावरणको क्षति न्यूनीकरण गर्ने उपाय (वायो ईन्जिनियरिङ्ग) अवलम्बन गरि विकास निर्माणका कार्यलाई अघि बढाउने नीति लिइनेछ।
  3. स्थानीय आपतकालीन सञ्चालन केन्द्रलाई थप सुदृढ गरि सेवा प्रभावकारी बनाइने छ।
  4. स्थानीय विपद तथा जलबायु उत्थानशील योजना तयार गरि लागु गरिनेछ ।
  5. नगरपालिकाका विभिन्न सडक तथा संरचनाको निर्माणको लागि वातावरण प्रभाव मुल्यांकन तथा विष्तृत आयोजना अध्ययन प्रतिवेदन तयार गरि  लागु गर्न आवश्यक नीति लिइनेछ।

७.कृषि तथा पशु

सभाका सदस्य ज्यूहरु,

  1. "देउमाई नगरपालिकाको पहिचान प्रांगारिक खेती अभियान" लाई साकार रुप दिन कृषिलाई वाध्यता हैन रहरका रुपमा विकास गर्ने गरि व्यवसायिक कृषि प्रोत्साहन कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  2. ''घर घरमा करेसावारी, भान्सा - भान्सामा ताजा तरकारी'' अभियान मार्फत विभिन्न जातका तरकारी तथा फलफुलका बिउ वितरण तथा सिँचाइ व्यवस्थापनका आवश्यक नीतिलाई निरन्तरता दिइनेछ।
  3. उन्नत खालका पशुपालन, व्यवसायिक तरकारी तथा फलफूल खेती, व्यवसायिक मत्स्यपालन, मौरीपालन, अलैची, अकबरे खोर्सानी, किवि, अदुवा, चिया, कफि, बेसार लगायतका नगदेबाली व्यवसाय गर्ने कृषकहरुलाई प्रोत्साहित गरिनेछ ।
  4. कृषि तथा पशुपंक्षी सम्बन्धी तथ्यांक अद्यावधिक गरी किसान सुचिकरण र कृषक परिचय पत्र वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  5. कृषि उद्पादनको विविधीकरण, व्यवसायिकरण र बजारीकरण गर्दै लैजाने नीति अनुरुप कृषि तथा पशु बजारकेन्द्र र पशु वधशाला  व्यवस्थित गरि सञ्चालनमा ल्याउन आवश्यक नीति लिइनेछ।
  6. बाली तथा पशुपंक्षी प्रवर्द्धन कार्यक्रम मार्फत रैथाने जातका वाली संरक्षण तथा प्रवर्धन गर्दै देउमाई नगरपालिकालाई आत्मनिर्भर बनाइ निर्यातमूखी बनाउन आवश्यक नीति लिइनेछ।
  7. दुग्घ डेरी आद्युनिकिरण तथा छुर्पी प्रवर्द्धन कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  8. "हाम्रै नगरको झ्याले आलु - अर्गानिक खानपानमा नगरवासी सिपालु " कार्यक्रम मार्फत स्थानीय उत्पादन वृद्धि गर्न, विऊ संरक्षण गर्न तथा वितरण, उत्पादित वस्तुको बजारीकरण गर्ने नीति लिइनेछ।
  9. सेवा प्रवाहलाई सु-व्यवस्थित गर्न कृषि तथा पशु क्षेत्रमा विज्ञ जनशक्तिको व्यवस्थापन गरिनेछ।
  10. माटो परीक्षण शिविर सञ्चालनलाई निरन्तरता दिइनेछ।
  11. कृषि आद्युनिकिकरण तथा प्रविधि हस्तान्तरणका कार्यक्रमहरुलाई प्राथमिकताका साथ सञ्चालन गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
  12. पशु नस्ल सुधारका लागि सेक्स सिमेन वितरण कार्यक्रमको निरन्तरताका लागि आवश्यक नीति लिइनेछ।
  13. नगर भित्रका उत्कृष्ट उद्यमी तथा कृषकको पहिचान गरि प्रोत्साहन गर्ने नीति लिइनेछ।
  14. संघीय सरकार, प्रदेश सरकार सँगको सहकार्यमा खोरेत मुक्त पालिका बनाउनका लागि आवश्यक नीति अवलम्बन गरिनेछ।
  15. वन्यजन्तुको प्रकोप नियन्त्रण मार्फत कृषिजन्य उत्पादनको  वृद्धि तथा संरक्षणका लागि आवश्यक नीति लिइनेछ।

 

 

८.पर्यटन

  1. नगर पर्यटन गुरुयोजना अनुरुप निर्देशिका बनाई पर्यटकीय गन्तव्यहरुको संरचनागत विकास कार्यलाई निरन्तरता दिइनेछ।
  2. सिद्धिथुम्का चुली, पानीटार चियाबगान, गुफाथुम्की, झ्याउपोखरी एवं विश्वको ठूलो लालीगुँरास लगायतका क्षेत्रहरुको संरक्षण र पर्यटन प्रवर्धनलाई उच्च प्राथमिकता दिइनेछ साथै कुहिभिर क्षेत्रको पर्यटन प्रवर्धन गर्दै उक्त क्षेत्रलाई साहसिक पर्यटकीय गन्तव्यको रुपमा समेत स्थापित गर्ने नीति लिइनेछ।
  3. देउमाई नगरपालिकामा रहेका धार्मिक, ऐतिहासिक, साँस्कृतिक तथा पर्यटकीय महत्वका क्षेत्रहरुको भौतिक संरचना निर्माण तथा प्रचार-प्रसार गर्ने नीतिलाई निरन्तरता दिइने छ।

९.विद्युत तथा वैकल्पिक उर्जा

  1. हाम्रो देउमाई उज्यालो देउमाई अभियानलाई साकार बनाउने नीति अनुरुप पूर्ण विद्युतिकरण पालिका घोषणा गर्न आवश्यक नीति लिइनेछ।
  2. वैकल्पिक उर्जा प्रवर्धन कार्यक्रमलाई प्रोत्साहन गरिनेछ।

 

१०.लक्षितवर्ग तथा समावेशीकरण

सभाका सदस्य ज्यूहरु,

  1. घरेलु तथा लैङ्गिक हिंसा अन्त्यका लागि सचेतना कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  2. बालमैत्री नगरपालिका निर्माण तथा बालश्रम अन्त्यका लागि आवश्यक नीति अवलम्वन गरिनेछ।
  3. महिला प्रवर्द्धन कार्यक्रम मार्फत नगरभित्रका सम्पूर्ण महिला दिदीबहिनीहरुलाई आत्मनिर्भर एवं उद्यमी बनाउदै रोजगारीको विकास तथा स्थानीय श्रोत-साधन परिचालन गर्ने कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  4. लक्षित वर्गका भवन निर्माणलाई निरन्तरता दिइनेछ।
  5. घरेलु हिंसामा परेका व्यक्तिहरुलाई उद्धार, राहत तथा पुनर्स्थापना गर्नका लागि आवश्यक नीति लिइने छ।
  6. अपाङ्गता भएका व्यक्तिहरुको सहज जीवनयानका लागि आवश्यक सहयता साभाग्री वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ।
  7. प्रदेश सरकारको सहकार्यमा अपाङ्गता रोकथाम तथा पुनर्स्थापना कार्यक्रमलाई निरन्तरता दिइनेछ।

११.मानव संशाधन विकास

  1. नगरपालिकाको कर्मचारी सांगठनिक संरचना लागु भइसकेको हुँदा सोहि अनुरुप सेवाप्रवाह चुस्त दुरुस्त बनाइनेछ ।
  2. जनप्रतिनिधीहरु, न्यायिक समिति तथा मेलमिलाप समितिको क्षमता अभिवृद्धिका लागि आवश्यक नीति तय गरिनेछ।
  3. कर्मचारीहरुको बृहत्तर विकासका लागि क्षमता अभिवृद्धि तालिम, अध्ययन अवलोकन भ्रमण तथा असल अभ्यास सिकाईका लागि आवश्यक नीति लिइनेछ।
  4. संघीय सरकारले अवलम्वन गरेको नीति अनुसार नगरपालिकामा कार्यरत स्थायी कर्मचारीहरुको तलब सुविधा समायोजन गरिनेछ भने सम्पूर्ण अस्थायी, करार र ज्यालादारीका कर्मचारीहरुको सुरक्षित भविष्यका लागि सामाजिक सुरक्षा कोषमा आबद्ध गराउन आवश्यक नीति अवलम्बन गरिनेछ।

 

१२. सूचना, सञ्चार तथा प्रविधि

सभाका सदस्य ज्यूहरु,

  1. विद्यालयको शैक्षिक गुणस्तर तथा प्रशासनिक सेवा सुधारका लागि नविनतम प्रविधिको प्रयोग गर्ने नीति लिइनेछ।
  2. नगरपालिकाबाट दैनिक रुपमा प्रवाह हुने सेवालाई छिटो, छरितो तथा थप पारदर्शी बनाउने नीति अनुरुप नगरपालिकाबाट प्रदान गरिने सम्पूर्ण सेवाहरु अनलाइनमा आधारित बनाइनेछ साथै  नगरका सेवाकेन्द्रहरुमा ई सेवा केन्द्र स्थापना गर्न आवश्यक नीति लिइनेछ।
  3. सञ्चार क्षेत्रको विकासका निम्ति स्थानीय पत्रकारहरुलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता दिइनेछ ।
  4. नगरपालिका हाताभित्र सुचना केन्द्रको स्थापना गरि नगरको सम्पूर्ण सूचना सहज रुपमा प्रदान गर्ने व्यवस्था मिलाइनेछ।
  5. सञ्चार क्षेत्रको विकास तथा प्रवर्धनका लागि नगर सञ्चार नीति निर्माण गरि लागु गरिनेछ।

१३.सामाजिक सुरक्षा एवं संरक्षण

  1. मृत्यु दाहसँस्कार सहयोग तथा मुटुको भल्भ परिवर्तन, क्यान्सर, मृगौला प्रत्यारोपण गरेका बिरामीहरुलाई प्रदान गरिदै आएको निर्वाह भत्ता वितरण कार्यक्रमलाई निरन्तरता दिइनेछ ।
  2. वैदेशिक रोजगारीका क्रममा मृत्यु भएका नागरिकका सन्तानलाई रोजगार बोर्डबाट अध्ययन छात्रवृत्ति पाउने अवस्था नभएमा उचित छात्रवृत्ति प्रदान गर्न आवश्यक नीतिलाई निरन्तरता दिइनेछ।

 

१४.राजश्व तथा बित्तीय व्यवस्था

  1. स्थानीय व्यवसायी तथा आम नगरवासीलाई प्रोत्साहन गर्न करको दर वृद्धि गर्नु भन्दा करको दायरालाई फराकिलो वनाउदै प्रगतिशील कर संकलन नीति लागू गरिनेछ।
  2. सम्पुर्ण व्यवसाय तथा सेवा क्षेत्रलाई अनिवार्य रुपमा करका दायरामा ल्याउन आवश्यक नीति लिइनेछ।
  3. देउमाई नगरपालिकाको आन्तरीक राजस्व वृद्धिका लागि सार्वजनिक तथा सामुदायिक बनका उत्पादन, नदिजन्य उत्पादन (ढुंगा, गिटि, वालुवा तथा जलचर समेत) र कानुनले वर्जित गरेका वाहेक बन क्षेत्रका वन्यजन्तु एवं जडिबुटिको कारोवारलाई करको दायरामा ल्याउने नीति लिइनेछ।
  4. नगरको समग्र राजस्व वृद्धिका लागि तयार गरिएको राजस्व सुधार योजना पूर्णरुपमा कार्यान्वयन गर्न आवश्यक नीति लिइनेछ।

 

१५. प्राकृतिक श्रोत, भू-व्यवस्थापन, सहरी विकास र आवास व्यवस्था

सभाका सदस्य ज्यूहरु,

  1. नेपालको संविधान तथा राष्ट्रिय आवास नीति २०७५, अनुरुप आवासको हक कार्यान्वयन गर्न नागरिक आवास कार्यक्रम मार्फत आर्थिक रुपले विपन्न, सीमान्तकृत, निम्न आय भएका तथा दलित नागरिकको घरको छाना फेर्न आवश्यक नीति लिइनेछ।
  2. पुराना घरको अभिलेखिकरण तथा नयाँ घरको नक्शा पास अनिवार्य गरिनेछ।
  3. भू-उपयोग राष्ट्रिय विकास नीति लागु गरि नापी तथा मालपोत कार्यालयसँगको समन्वयमा भू-वर्गिकरणको लगत व्यवस्थित गर्न आवश्यक नीति अवलम्वन गरिनेछ ।
  4. सार्वजनिक तथा निजी भवन निर्माण गर्दा राष्ट्रिय भवन निर्माण आचारसंहिता कडाईका साथ लागू गरिनेछ।
  1. नगरपालिकाको स्वामित्वमा रहेका र सार्वजनिक पर्ति जग्गाहरुको खोजविन गरी तथ्याङ्क राख्ने तथा ती जग्गाहरुको संरक्षण गर्ने नीतिलाई निरन्तरता दिइनेछ।

सभाका सदस्य ज्यूहरु

१६.उद्योग, सहकारी तथा संघ-संस्था

  1. लघु उद्यम विकासका लागि संघीय सरकार, प्रदेश सरकार संग सहकार्य गर्दै स्थानीय श्रोत साधन तथा यस क्षेत्रमा पाइने कच्चा पदार्थको प्रशोधन गर्ने घरेलु तथा साना उद्योग, कृषिजन्य, वनजन्य उद्योग स्थापना तथा संचालनलाई प्रोत्साहन गर्ने नीति लिइनेछ।
  2. देउमाई नगरपालिकामा रहेका सम्पूर्ण सहकारीहरुलाई कोपो एम.आई.एस. प्रणालीमा अनिवार्य आवद्ध गराई व्यवस्थित गर्दै लगिनेछ।
  3. सहकारी तथा संघ-संस्थाहरुको अनुगमन सम्बन्धी कार्यविधि  अनुरुप अनुगमन कार्यलाई निरन्तरता दिइनेछ।
  4. खारेज हुन वा एक अर्कामा गाभिन चाहाने सहकारीहरुका लागि खारेजी वा मर्जरका लागि आवश्यक नीति लिइनेछ।

 

१७.सुरक्षा

    1. नगरका सम्पूर्ण जनतालाई सुरक्षाको पूर्ण प्रत्याभुति दिन विभिन्न सुरक्षा निकायसँग समन्वय गर्ने नीतिलाई निरन्तरता दिइनेछ।
    2. नगरप्रहरीको व्यस्थापन मार्फत शान्ति सुरक्षा थप चुस्त पार्न आवश्यक नीति लिइनेछ।
    3. प्रत्येक वडामा प्रहरी विटको स्थापनाका लागि सम्बन्धित निकायसँग पहल गरिने छ।

  १८.अन्य निकाय सँगको सम्बन्ध

  1. देउमाई नगरपालिकाको छिमेकमा रहेका इलाम नगरपालिका, माई नगरपालिका, माङसेबुङ्ग गाउँपालिका र फाकफोकथुम गाउँपालिका सँग सडक सञ्जाल ,पर्यटन  विकास, जल उपयोग, विपद व्यवस्थापन लगायत विविध सामाजिक-आर्थिक क्षेत्रमा समन्वय, सहकार्य तथा साझेदारीका लागि विशेष नीति अवलम्वन गरिनुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय संघ-संस्था सँग भगिनि सन्बन्ध जोड्दै अघि बढिने छ।

उपस्थित सभाका सदस्य ज्यूहरु,

अन्तमाः आगामी आ.व.२०८२/०८३  को नीति तथा कार्यक्रम तर्जुमाको अवसरमा सहयोग गर्नुहुने देश भित्र र बाहिर रहनु भएका नगरबासीहरु, आमाबुवा, दाजुभाइ तथा दिदीबहिनीहरु, जनप्रतिनिधिहरु, राष्ट्रसेवक कर्मचारीहरु, राजनीतिक दलका प्रतिनिधि, निजि तथा सहकारी क्षेत्र, नागरिक समाज, बुद्धिजीवी, सञ्चारकर्मी तथा सम्पूर्ण नगरवासीहरुलाई धन्यवाद दिन चाहान्छु।साथै आपसी एकता सहित समुन्नत देउमाई निर्माणमा एकाकार हुन सम्पूर्णमा हार्दिक अनुरोध गर्दछुर।

धन्यबाद।

 

सुर्य प्रसाद पोख्रेल

(सभाध्यक्ष)

२०८२-०३-०४

प्रतिकृया दिनुहोस