• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 03:44:51

विकास गाउँतिर, गाउँले विदेशतिर

शनिबार, ९ मङ्सिर, २०८०

इलाम :
विकट भनिएका तिनै गाउँ अहिले फेरिएका छन्  । कच्ची नै भए पनि सडक पुगेको छ । केही सडक बिस्तारै कालोपत्रे हुँदै छन् । प्रायः सबै ठाउँमा जोखिम मोलेर भएर पनि तीनपांग्रे अटोरिक्शा पुगेका छन्। मोटरसाइकल चढ्ने मानिस बढेका छन् । राम्रो आर्थिक हैसियत भएकाहरू गाडी चढ्न थालेका छन् । 
धेरै प्रशासकीय कामकाज स्थानीय सरकार अन्तर्गत वडा कार्यालयमै हुने र सडक सञ्जाल गाउँसम्म पुगेपछि सदरमुकाममा थुप्रिएका मानिसको चाप केही घटेको छ। जिल्ला सदरमुकामप्रतिको आकर्षण पहिले जस्तो देखिंदैन ।
अरूको घरको आँगनमा पुगेर टाढैबाट रेडियोको समाचार सुनेको मेरो पुस्ताका लागि अनकन्टार गाउँमा सञ्चारले मारेको फड्को अपत्यारिलो नै लाग्छ। ठूल्ठूला पानासोनिक टेप रेकर्डर बोकेर मेला पस्ने युवाको हुल अहिले २४ घण्टा सामाजिक सञ्जालमा रमाइरहेको देखिन्छ।तर, राजनीतिक नेतृत्वले बाँडेको आश्वासन यथार्थमा परिणत नहुँदा पनि युवामा नैराश्य उत्पात देखिन्छ । द्वन्द्वकालमै ट्र्याक खोलिएका  सडकखण्ड अहिले पनि धुलौटे नै छन् ।

हात हातमा स्मार्टफोन, घर घरमा वाइफाई । देशविदेशमा रहेका आफन्त, साथीभाइसँग नियमित सम्पर्क। काठमाडौं सहित देशका कुनाकाप्चा र विदेशमा भइरहेका गतिविधिबारे तत्कालै जानकार । अहिले काठमाडौं बस्नेले सूचनामा जति पहुँच राख्छन्, त्यति नै पहुँच दूरदराजका गाउँमा बस्नेको पनि छ ।
त्यस्तै, इन्टरनेट र फोनको सहज पहुँचले सूचनामा सीमित व्यक्तिको एकाधिकार तोडिएको छ । सामाजिक सञ्जालका कारण दुर्गम गाउँ पनि विश्व सूचना सञ्जालसँग जोडिएको छ ।
गाउँमा मूलधारका भनिने सञ्चारमाध्यमको प्रभाव नगण्य छ । सत्य र भ्रामक जे भए पनि सामाजिक सञ्जालमा आउने विषयवस्तुमै स्थानीयको आँखा परिरहेको छ ।
सडक र सञ्चारको पहुँच पुगे पनि गाउँमा रोजगारी सिर्जना भने हुन सकिरहेको छैन । यही कारण गाउँबाट मानिस विदेशिइरहेका छन् । गाउँघरमा युवा भेटन मुश्किल छ। वृद्धवृद्धा र बालबच्चा मात्रै देखिन्छन् । गाउँ रित्तिइरहेको छ ।

केही वर्षअघिसम्म भारत र खाडी मुलुक निर्विकल्प जस्तै थिए, तर अहिले अवैध बाटोबाट ऋण सापट गरेर ५० लाखदेखि एक करोडसम्म दलाललाई बुझाएर यूरोप र अमेरिका छिर्नेको लर्को छ भने कोरिया जान भुँईमा खुट्टा छैन । निजामती, प्रहरी र सेनाका जागीरे पनि अवैध बाटोबाट अमेरिका पुगेका छन्। कोही अहिले पनि पानामाको जंगलमा हिंडिरहेका होलान् ।
भर्खर सडक, बिजुली, यातायात र इन्टरनेट लगायत सुविधा पुगे पनि गाउँ भने रित्तिंदै छन् । शहरको जस्तै सेवा सुविधाले पनि युवा मनलाई गाउँमै अड्याउन सकेको छैन । किनकि, यी सुविधा उपभोग गर्न पनि आयआर्जन चाहिन्छ, त्यसका लागि रोजगारी। त्यही युवालई अत्यावश्यक रोजगारी गाउँमा छैन ।

हिमाल खबर
 

प्रतिकृया दिनुहोस