सम्पादकीय: इलाम समुन्द्र पारीको गाउँ नबनोस्
इलाम सँगै पहाडी जिल्लामा विकास निर्माण सधैँ चुनौतीपूर्ण रहँदै आएको छ । प्राकृतिक विपद्, भौगोलिक कठिनाइ र सीमित स्रोतसाधनले योजनाहरू समयमै सम्पन्न हुन नदिने यथार्थ छ । तर हरेक वर्ष उही समस्या दोहोरिनु र ढिलासुस्तीलाई सामान्य मानिनु चिन्ताजनक पक्ष हो । वर्षा याम सुरु हुनासाथ मेची राजमार्ग अवरुद्ध हुनु, निर्माणाधीन आयोजनाहरू अधुरै रहनु र कामको गुणस्तरमा प्रश्न उठ्नुले कमजोरी छ भन्ने देखिन्छ ।
निर्माण व्यवसायीहरूले विपद्का कारण ढिलाइ भएको तर्क प्रस्तुत गरे पनि यसले सम्पूर्ण जिम्मेवारीबाट उन्मुक्ति दिन सक्दैन । विपद् अघि नै सक्नुपर्ने योजनाको काम ५० प्रतिशत पनि नगर्नु अनि अहिले आएर विपत् र महँगीलाई दोष दिनु भनेको निर्माण व्यवसायीले जिम्मेवारीबाट उन्मुक्ति खोजेको मात्रै हो ।
समयमै काम सम्पन्न गर्ने, गुणस्तर कायम राख्ने र पारदर्शिता सुनिश्चित गर्ने दायित्व उनीहरूकै हो । प्रशासन र प्राविधिक निकायले पनि सहजीकरण मात्र होइन, प्रभावकारी निगरानी र कडाइ गर्न आवश्यक छ । खबरदारी गर्दा गर्दै पनि समयमा काम नगर्ने निर्माण व्यवसायीलाई विभिन्न वाहानामा पन्छिन दिनु भनेको अबको बर्खामा इलाम समुन्द्र पारीको गाउँ बन्नु हो । योजना निर्माणदेखि कार्यान्वयन र अनुगमनसम्म सबै तहमा समन्वय र उत्तरदायित्वको कमी देखिन्छ । यही कमजोरीका कारण हरेक वर्ष उही समस्या दोहोरिन्छ र नागरिकले सास्ती भोग्न बाध्य हुन्छन् । अब पनि इलामका लागी मेची कोरिडोर निर्माणमा निर्माण व्यवसायीको बहाना सुन्ने र म्याद थप गर्ने खेलमा नै लाग्ने हो भने काममा प्राथमिकता कहिले दिने ?
जिल्ला प्रशासन कार्यालय इलाममा अबको बर्खा पनि सडक समस्या नै हुने देखिएपछि भएको सरोकारवालाहरूको चासो राज दुवाली खण्ड के हुँदै छ र भन्ज्याङ बेलासे सडक र पुलको काम किन ढिलो भएको भन्ने नै थियो । राज दुवाली र भन्ज्याङ बेलासे सडक ठेक्का लागेको छ । यता खोलाको पुलको विषयमा प्रमुख जिल्ला अधिकारी र सडक डिभिजन प्रमुखले खोलामा बेली ब्रिजको जिम्मा लिँदा ठेक्का लागेको भन्ज्याङ बेलासे सडक सम्पन्न गर्ने प्रतिबद्धता आउन सकेन । पटक पटक म्याद थपिएको उक्त सडक सम्पन्न गर्ने भन्दा पनि अझै बर्खामा अवरुद्ध हुन नदिने भन्ने निर्माण कम्पनीको जवाफले समयमा सडक बन्दैन भन्ने पक्का छ । राजमार्ग अवरुद्ध हुँदा वैकल्पिक र छोटो दुरीको लागी हेरिएको भन्ज्याङ बेलासे सडक निर्माणको अन्योलताका कारण अबको बर्खा पनि इलाम समुन्द्र पारीको गाउँ झैँ बन्दैन भन्न सकिन्न । यता बजार व्यवस्थापन पनि उत्तिकै संवेदनशील छ । मूल्यवृद्धि, ढुवानी समस्या र उपभोक्ताले भोग्ने असहजता पनि छ तर यसलाई दोष देखाएर आयोजना अन्योल बनाउन मिल्दैन । विकास निर्माणलाई समयमै सम्पन्न नगर्ने हो भने छलफलका कागजी निष्कर्षहरू फाइलमै सीमित रहने र नागरिकको अपेक्षा अधुरै रहने र एउटै समस्या बर्सेनि आउने समस्या ज्युँ का त्युँ हुनेछन् ।
.jpeg)






प्रतिकृया दिनुहोस