• शनिबार ८-१३-२०८३/Saturday 11-28-2026
  • 07:16:15

ठेकेदारको बदमासीले तीन आयोजना अलपत्र,  १५ दिनभित्र कार्ययोजना पेस गर्न अन्तिम चेतावनी

शुक्रबार, १२ मङ्सिर, २०८३

 

इलाम, ११ मंसिर :
इलामको पश्चिमी क्षेत्रलाई झापासँग जोड्ने रक्से–गाग्रेभञ्ज्याङ–जितपुर–बेलासे–सोक्तिम सडक निर्माणका लागि ठेक्का सम्झौता भएको वर्षौँ बितिसक्दा पनि आयोजना सम्पन्न हुन सकेको छैन । २०७९ असारमा सम्पन्न गर्नेगरी २०७६ कात्तिक १९ गते सम्झौता भएको उक्त सडक निर्माणले गति लिन सकेको छैन । भौतिक पूर्वाधार विकास मन्त्रालय कोशी प्रदेश अन्र्तगत २२ दशमलव ५ किलोमिटर निर्माणका लागि  रहेको छ । आयोजनाको ठेक्का सम्झौता रकम ३९ करोड ८६ लाख १० हजार ५०९ रुपैयाँमा ठेक्का लागेको थियो । निर्माणको जिम्मेवारी पाएको प्यासिफिक–एलिट जेभी काठमाडौंले समयसीमा सकिएको लामो समय बितिसक्दा काम नगरेपछि सडक अलपत्र बनेको छ । 
निर्माण सम्झौता भएको लामो समय बितिसक्दा पनि काम सम्पन्न नगर्ने निर्माण व्यवसायीमाथि पूर्वाधार विकास कार्यालय इलामले कारबाही प्रक्रिया अघि बढाएको छ । कार्यालयले इलामका तीनवटा सडक तथा पुल निर्माण आयोजनाको ठेक्का सम्झौता तोड्ने चेतावनी दिँदै सम्बन्धित निर्माण व्यवसायीलाई १५ दिनभित्र स्पष्टीकरण पेस गर्न अन्तिम मौका दिएकोे छ ।
कार्यालयले इलाम बजार पर्यटकीय सडक, रक्से–गाग्रेभञ्ज्याङ–जितपुर–बेलासे–सोक्तिम सडक र सिद्धिखोला पुल निर्माण आयोजनाको काम सम्झौताअनुसार सम्पन्न हुन नसकेपछि कार्यालयले प्रक्रिया अघि बढाएको हो । तीन वटै आयोजनाको म्याद आगामी जेठ मसान्तमा सम्पन्न हुँदैछ तर प्रगती भने छैन । योजना निर्माण अघि नबढेपछि पटक–पटक लिखित तथा मौखिक निर्देशन दिँदा र निर्माण व्यवसायीले प्रतिबद्धता जनाउँदासमेत कामले गति नलिएपछि कार्यालयले ठेक्का रद्द गर्ने प्रक्रिया अघि बढाउने चेतावनी दिएको हो ।
इलाम बजार पर्यटकीय सडक आयोजनाको निर्माण जिम्मा श्रेष्ठ–सक्षम जेभी काठमाडौंले लिएको छ भने रक्से–गाग्रेभञ्ज्याङ–जितपुर–बेलासे–सोतीम सडक प्यासीफिक–इलाइट जेभी काठमाडौंले लिएको छ । त्यस्तै सिद्धिखोला पुल निर्माण आयोजनाको काम रौताहा–आशिष दीप जेभी भद्रपुरले लिएको छ । कार्यालयले पटक–पटक म्याद थप तथा ताकेता गर्दा पनि निर्माण कार्य सम्पन्न नभएको र ठेक्का सम्झौताका सर्त कार्यान्वयन नभएको जनाएको छ ।
पुर्वाधार कार्यालय इलामका प्रमुख सुरेन्द्र कुमार संवोले निर्माण व्यवसायीलाई १५ दिनभित्र चित्तबुझ्दो स्पष्टीकरण र तत्काल निर्माण सम्पन्न गर्ने पर्याप्त कार्ययोजना सहित कार्यालयमा स्वयं उपस्थित हुन सुचना जारी गरेको बताए । अन्यथा सार्वजनिक खरिद ऐन, २०६३ तथा नियमावली, २०६४ बमोजिम ठेक्का सम्झौता रद्द गरी थप कानुनी कारबाही अघि बढाइने उनको भनाई छ । निर्माणका लागि करोडौँ रुपैयाँको ठेक्का लागे पनि समयमै काम सम्पन्न हुन नसक्नुले विकास निर्माणमा ठेकेदारको ढिलासुस्ती प्रस्ट छ । समयमा काम सक्नका लागि कार्यालयले लामो समयदेखि अलपत्र रहेका आयोजना सम्पन्न गराउन निर्माण व्यवसायीमाथि दबाब बढाएको छ ।
 

प्रतिकृया दिनुहोस
↑