• बिहीबार ८-११-२०८३/Thursday 11-26-2026
  • 08:14:45

ओभरलोड र लापरबाहीले पुवाखोलाको बेलीब्रिजमा ‘बब्लिङ’

बिहीबार, ११ मङ्सिर, २०८३


भगीरथ भण्डारी 
इलाम :
मेची करिडोर (केचना–कञ्चनजङ्घा) अन्तर्गत पुवाखोलामा करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको बेलीब्रिजमा समस्या देखिन थालेको छ ।  एकैपटक धेरै सवारीसाधन प्रवेश गर्ने, क्षमताभन्दा बढी भार बोकेका गाडी गुडाउने, तीव्र गतिमा पुल पार गर्ने र पुलमाथि नै अचानक ब्रेक लगाउने प्रवृत्तिका कारण पुलको संरचनामा समस्या देखिएको हो । सडक डिभिजन कार्यालय इलामका सूचना अधिकारी आशिष देवका अनुसार पुलमा एकैपटक धेरै सवारीसाधन प्रवेश गर्ने र ओभरलोड गाडी तीव्र गतिमा सञ्चालन गर्दा संरचनामा ‘बब्लिङ’ ( बाङ्गिन थालेको) देखिन थालेको छ । समयमै सचेत नभए पुलमा थप क्षति पुग्न सक्ने जोखिम रहेको उनले बताए ।
पुल जडानको प्राविधिक टोलीले पनि क्षमताभन्दा बढी भारका कारण समस्या आएको जनाएको छ । हाल मेची राजमार्गको राजदुवाली खण्डको वैकल्पिक मार्गका रूपमा तयार हुँदै गरेको तल्केनी–सिमलगोलाई सडकखण्ड अन्तर्गत जोगमाई खोलामा बेलीब्रिज जडान गरिरहेको प्राविधिक टोलीले केही महिनाअघि पुवाखोलाको पुलसमेत जडान गरेको थियो । बेलीब्रिज जडानका प्राविधिक मुस्तकिमले क्षमताभन्दा पुल हेरेपछि बढी भार बोकेका सवारीसाधन सञ्चालन हुँदा यस्तो समस्या आएको बताए । पुल प्रयोग गर्दा सचेत नभएमा जोखिम हुने र खोलेर नयाँ सामाग्री सहित जडान गर्नुपर्ने जोखिम आउन सक्ने उनको भनाई छ ।  
दुई सय ३० फिट लम्बाइ र १४ फिट चौडाइको उक्त बेलीब्रिज आर्थिक वर्ष २०८२÷०८३ मा २ करोड २० लाख ३४ हजार २३१ रुपैयाँको लागतमा निर्माण गरिएको हो । पुल जडानको जिम्मेवारी बीबी–मेरिस्का–मल्लिका–साइना जेभीले पाएको थियो । यसअघि आर्थिक वर्ष २०८१÷०८२ मा १ करोड ४३ लाख ७६ हजार २९७ रुपैयाँको लागतमा सोही स्थानमा जडान गरिएको बेलीब्रिज गत वर्ष असोज १८ गतेको बाढीले बगाएको थियो । त्यसपछि भारतबाट पुन ः सामग्री ल्याएर दोस्रोपटक पुल जडान गरिएको हो ।
पुवाखोलामा पुल नहुँदा र मेची राजमार्गको राजदुवाली खण्ड बन्द हुँदा महिनौँसम्म इलामतर्फको यातायात सेवा ठप्प भएको थियो । यात्रु, मालवाहक सवारीसाधन तथा स्थानीयले लामो समय सास्ती खेप्नुपरेको थियो । सडक अवरुद्ध हुँदा आवागमन र ढुवानीमा परेको असर सेलाउन नपाउँदै पुनः निर्माण गरिएको पुलमा समेत समस्या देखिएपछि स्थानीयमा चिन्ता थपिएको छ । करोडौँ रुपैयाँ खर्चेर निर्माण गरिएको संरचना सुरक्षित रूपमा सञ्चालन गर्न नसकिए थप क्षति र यातायात अवरोधको जोखिम बढ्ने प्राविधिकहरूको भनाइ छ । 
 

प्रतिकृया दिनुहोस
↑