• बुधबार ८-१०-२०८३/Wednesday 11-25-2026
  • 09:10:35

राँके–रवि–भेडेटार सडक : तीन वर्षमा सक्ने सम्झौता, आठ वर्षमा ६८ प्रतिशत मात्रै 

बुधबार, १० मङ्सिर, २०८३

इलाम :
सडक कालोपत्रे हुने आशामा कतिपयले घर भत्काए, सडक विस्तारका लागि जग्गासमेत उपलब्ध गराए । तर, तीन वर्षभित्र निर्माण सम्पन्न गर्ने सम्झौता भएको राँके–रवि–भेडेटार सडक आठ वर्ष बितिसक्दा पनि अधुरै छ । नौ पटक म्याद थप्दा पनि आयोजनाको भौतिक प्रगति ६८.२६ प्रतिशतमा सीमित छ । निर्माण कम्पनीको ढिलासुस्ती र सरकारी निकायको कमजोर अनुगमनका कारण तीन जिल्लाका नागरिकले वर्षौंदेखि सास्ती खेप्नुपरेको छ । इलाम र पाँचथरको सिमाना राँकेदेखि धनकुटाको भेडेटारसम्म जोड्ने सडक निर्माणमा भएको ढिलाइले स्थानीय आजित बन्न थालेका छन । वर्षायाममा हिलो र हिउँदमा धुलोको समस्या झेल्दै आएका नागरिकले सडक कालोपत्रे हुने आशामा वर्षौं कुर्दासमेत कालोपत्रे सडक पाउन सकेका छैनन् ।
इलाम र पाँचथरको सिमाना घुर्बिसे पञ्चमीदेखि राँकेसम्मको करिब नौ किलोमिटर खण्डमा सबबेस, बिग्रिएका ह्युमपाइप तथा ड्रेन मर्मतलगायत काम बाँकी छन् । सडक विस्तारका क्रममा घर भत्काएका र जग्गा दिएका स्थानीय सडक निर्माण सम्पन्न नहुँदा चिन्तित छन् ।
भारत सरकारको एक्जिम बैंकको ऋण सहयोगमा निर्माण भइरहेको यो सडकको ठेक्का सन् २०१८ नोभेम्बर १९ मा भारतीय निर्माण कम्पनी एप्पो इन्फ्राटेक प्रालिसँग सम्झौता भएको थियो। तीन अर्ब ६५ करोड रुपैयाँमा सम्झौता गरिएको आयोजनाको निर्माण सन् २०१८ डिसेम्बर ३ बाट सुरु गरी सन् २०२१ डिसेम्बर २ भित्र सम्पन्न गर्ने लक्ष्य थियो । तर, निर्धारित समय सकिएको वर्षौं बित्दा पनि सडक निर्माणले पूर्णता पाउन सकेको छैन । निर्माणका क्रममा भौतिक संरचनाको परिमाण बढेको भन्दै भेरिएसन भएपछि ठेक्का रकम तीन अर्ब ८७ करोड रुपैयाँ पुगेको छ । राँके–रवि–भेडेटार सडक स्तरोन्नति तथा सुधार आयोजनाका अनुसार निर्माण कम्पनीले हालसम्म दुई अर्ब ६८ करोड रुपैयाँ भुक्तानी लिइसकेको छ । तर, भुक्तानीको ठूलो हिस्सा प्राप्त गरिसक्दा पनि आयोजनाको काम भने अझै एकतिहाइभन्दा बढी बाँकी छ ।


तीन जिल्ला जोड्ने रणनीतिक महत्वको सडक निर्माणमा भएको ढिलाइप्रति स्थानीय तहका जनप्रतिनिधि र सरोकारवालाले असन्तुष्टि जनाएका छन् । समयमा काम सम्पन्न नगर्ने निर्माण कम्पनीलाई जवाफदेही बनाउनुको सट्टा पटक–पटक म्याद थप्ने प्रवृत्तिले समस्या लम्बिएको उनीहरूको आरोप छ ।
निर्माणमा भइरहेको ढिलाइबारे दबाब सिर्जना गर्न पाँचथरको फाल्गुनन्द गाउँपालिकाले सरोकारवालासहितको टोली बनाएर राँकेदेखि रवि हुँदै धनकुटाको भेडेटारसम्म सडकको अनुगमन गरेको थियो । अनुगमनका क्रममा विभिन्न खण्डमा निर्माण कार्य अधुरो रहेको र कामको गति सन्तोषजनक नरहेको निष्कर्ष निकालिएको थियो । माङ्सेबुङ गाउँपालिकाका अध्यक्ष हेमन्तकुमार राईले आठ वर्षसम्म नागरिकले धैर्य गर्दा पनि सडक निर्माणले गति लिन नसकेको बताए । निर्माण कम्पनीले रातदिन काम गरेर भए पनि बाँकी निर्माण छिटो सम्पन्न गर्नुपर्ने उनको भनाइ छ । ’यहाँका नागरिकले आठ वर्षसम्म धैर्य गरिसके । अब पनि बहाना बनाएर हुँदैन, जसरी पनि सडक निर्माण सम्पन्न गर्नुपर्छ,’ उनले भने ।


फाल्गुनन्द गाउँपालिकाका अध्यक्ष वृजहाङ आङ्देम्बेले सडक निर्माणमा भएको ढिलाइले तीन जिल्लाका नागरिक प्रभावित भएको बताए । सम्बन्धित स्थानीय तहका जनप्रतिनिधि एकजुट भएर निर्माण सम्पन्न गराउन दबाब सिर्जना गर्ने प्रयास भइरहेको उनले जानकारी दिए ।
धनकुटाको चौबिसे गाउँपालिका–१ का हेमन्तकुमार श्रेष्ठका अनुसार सडक निर्माण सुरु भएदेखि नै कामले अपेक्षित गति लिन सकेको छैन । सुरुमा अविशेष बिल्डर्सले काम गर्दा दक्ष जनशक्ति, व्यवस्थापकीय कमजोरी र कामदारको पारिश्रमिक भुक्तानीमा समेत समस्या देखिएको थियो । पछि एप्पो इन्फ्राटेकले मुख्य निर्माणको जिम्मेवारी लिए पनि कामले गति लिन नसकेको उनले बताए । मिक्लाजुङ गाउँपालिका, पाँचथरका उपाध्यक्ष सन्तकुमार शेर्माले निर्माणमा ढिलाइ हुनुको प्रमुख कारण सडकलाई विभिन्न खण्डमा विभाजन गरेर काम अघि नबढाउनु रहेको बताए । उनका अनुसार एउटै निर्माण प्रक्रियामा निर्भर हुँदा कामको गति प्रभावित भएको छ । राँके–रवि–भेडेटार सडक स्तरोन्नति तथा सुधार आयोजनाका इन्जिनियर जिबछ यादवका अनुसार आयोजनाको समग्र भौतिक प्रगति ६८.२६ प्रतिशत छ । धनकुटा खण्डको ४५.५ किलोमिटरमध्ये ३५ किलोमिटर कालोपत्रे भइसकेको र अझै १० किलोमिटर कालोपत्रे गर्न बाँकी रहेको उनले बताए । उक्त खण्डको काम मंसिर मसान्तभित्र सम्पन्न गर्ने लक्ष्य राखिएको उनको भनाइ छ ।


निर्माण कम्पनी एप्पो इन्फ्राटेक प्रालिका प्रोजेक्ट म्यानेजर अभय मिश्रले भने बाँकी काम सम्पन्न गर्ने प्रतिबद्धता दोहो¥याएका छन् । उनका अनुसार अहिले दुईवटा डीबीएसटी प्रविधिबाट कालोपत्रे गर्ने सेटअप सञ्चालनमा छन् भने थप एउटा सेटअप थप्ने तयारी भइरहेको छ । चिसो मौसम र वर्षाका कारण कालोपत्रे गर्न कठिनाइ हुने भएकाले तत्काल डब्लुएमएमको काम अघि बढाउने कम्पनीको योजना छ । निर्माण कम्पनीले कोभिड महामारी, बेमौसमी वर्षा, निर्माण सामग्री तथा इन्धनको मूल्यवृद्धिलाई ढिलाइको कारण देखाउँदै आएको आयोजनाले जनाएको छ । पाँचथरको मिक्लाजुङ गाउँपालिका–६, ७ र ८ का विभिन्न स्थानमा भौगोलिक कठिनाइ र जोखिमयुक्त भीरलाई समेत चुनौतीका रूपमा देखाएको छ भने ऐना भीर र जोखिमयुक्त स्थानमा तत्काल सामान्य ट्र्याक खोलेर अन्य खण्डको काम अघि बढाउने र पछि ती स्थानमा थप निर्माण गर्ने योजना कम्पनीले सुनाएको आयोजनाले जनाएको छ । आयोजनाका इन्जिनियर यादवका अनुसार निर्माण कम्पनीलाई तोकिएको अन्तिम म्याद २०८४ वैशाख ३१ गतेसम्ममा ८५ देखि ९० प्रतिशतसम्म प्रगति भए आयोजनाको म्यादबारे पुनः विचार गर्न सकिनेछ । तर, काम नभएर नियम अनुसार प्रक्रिया अघि बढ्ने उनको भनाई छ । 
 

प्रतिकृया दिनुहोस
↑