• मंगलबार ७-१८-२०८३/Tuesday 11-03-2026
  • 02:16:54

डा. गोविन्द केसीको स्वास्थ्य अवस्था जोखिममा

आइतबार, १६ कार्तिक, २०८३


इलाम : 
चिकित्सा शिक्षा तथा स्वास्थ्य क्षेत्र सुधारका अभियन्ता डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बन्दै गएको छ । इलाम अस्पतालमा उपचाररत केसीको अवस्था जीवन जोखिमपूर्ण हुन सक्ने भन्दै अस्पतालले थप उपचारका लागि कोशी प्रदेश सरकारसँग पहल गर्न आग्रह गरेको छ ।
जिल्ला अस्पताल इलामले आइतबार प्रेस विज्ञप्ति जारी गर्दै केसीको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गएको जानकारी दिएको हो । अस्पतालका अनुसार उनी टाइप–२ मधुमेह (डायबिटिज) का बिरामी हुन् । शनिबार राति करिब ८ बजे उपचारका लागि अस्पताल भर्ना भएका केसीको परीक्षणका क्रममा रगतमा ग्लुकोजको मात्रा अत्यन्तै कम पाइएको छ ।
अस्पतालले सार्वजनिक गरेको स्वास्थ्य विवरणअनुसार उनको रगतमा चिनीको मात्रा परीक्षणका क्रममा क्रमशः ६७, ६७, ४७ र ३६ मिलिग्राम प्रतिडेसिलिटर देखिएको छ । त्यस्तै, पिसाबमा एसिटोनको मात्रा पनि बढेको पाइएको अस्पतालले जनाएको छ ।
उनको रक्तचाप १००/६० एमएमएचजी रहेको छ भने मुटुको धड्कन प्रतिमिनेट ८० देखि १०८ सम्म देखिएको छ । ईसीजी परीक्षणमा कहिलेकाहीँ मुटुको धड्कनमा असामान्यता (भीपीसी) देखिएको र रगतमा अक्सिजनको मात्रा ९२ देखि ९६ प्रतिशतसम्म रहेको विज्ञप्तिमा उल्लेख छ ।
अस्पतालले केसीको स्वास्थ्य अवस्था क्रमशः बिग्रँदै गएको र यो अवस्था जीवन जोखिमपूर्ण हुन सक्ने जनाएको छ । स्वास्थ्य अवस्थाको गम्भीरतालाई मध्यनजर गर्दै थप उपचार तथा आवश्यक स्वास्थ्य व्यवस्थापनका लागि स्वास्थ्य मन्त्रालय, कोशी प्रदेश विराटनगरलाई अनुरोध गरिएको अस्पतालले जनाएको छ ।
केसीको स्वास्थ्य अवस्थालाई ध्यानमा राख्दै थप उपचारको व्यवस्था तत्काल मिलाउनुपर्ने देखिएको अस्पतालको विज्ञप्तिमा उल्लेख छ ।
२५ औ सत्याग्रहमा रहेका केसिलाई शनिवार बेलुक अस्पताल भर्ना गरिएकाे थियाे । 

प्रतिकृया दिनुहोस
↑