कांग्रेसमा केन्द्र एउटै, जिल्लामा गुट : कर्माचार्यको समर्थनले कांग्रेसमा तरंग
इलाम, १ असोज :
नेपाली काँग्रेसको १५औँ महाधिवेशन नजिकिँदै गर्दा इलाम काङ्ग्रेसभित्र आन्तरिक शक्ति–समीकरणको हिसाब–किताब सुरु भएको छ । केन्द्रमा गगन थापाको नेतृत्व स्थापित भइसकेको अवस्थामा जिल्लामा भने नेतृत्व चयनको समीकरण गुटबाट हुने देखिएको छ । वडा तहदेखि सुरु हुने अधिवेशनले जिल्ला, प्रदेश र केन्द्रीय महाधिवेशनसम्म प्रभाव पार्ने भएकाले इलाम काँग्रेसमा कसको पकट बलियो छ भन्ने प्रश्नले राजनीतिक वृत्तमा चर्चा पाउन थालेको हो । क्षेत्रीय सभापतिदेखि जिल्ला सभापतिसम्मका आकाङ्क्षीहरू सक्रिय भइरहँदा पुराना गुट, व्यक्तिगत सम्बन्ध र नयाँ गुट जोडले अधिवेशनको परिणामलाई प्रभावित गर्ने देखिएको छ । जिल्ला सभापतिको समीकरण स्पष्ट हुन बाँकी नै रहेपनि क्षेत्रीय तहमा भने प्रतिस्पर्धाको प्रारम्भिक चित्र देखिन थालेको हो । क्षेत्र नं. नम्बर १ मा हरिकला श्रेष्ठ र जङ्ग गुरुङबिच प्रतिस्पर्धा हुने देखिन्छ भने क्षेत्र नम्बर २ को सभापतिमा तीर्थ गुरुङ र गोपाल चौहानबिच प्रतिस्पर्धा हुने बुझिएको छ ।
पूर्व सभापति कर्माचार्यको ‘ विकल्प’
नेपाली कांग्रेस इलामका पूर्व सभापति तथा केन्द्रीय सदस्य हिमालय कर्माचार्यले सामाजिक सञ्जालबाट सार्वजनिक गर्दै क्षेत्र नम्बर २ को सभापतिमा तीर्थ गुरुङलाई समर्थन गरेका छन भने र क्षेत्र नम्बर १ को सभापतिमा कसैलाई समर्थन छैन । तर प्रदेश तर्फ भने जीवन नेपाल र सुवास तामाङलाइ सहयोग गर्ने बताएका छन् । क्षेत्र न २ प्रदेशतर्फ श्री विष्टलाई अघि सार्दा अर्का उम्मेद्धारको नाम भने तोकेका छैनन । तर क्षेत्र न २ को सभापतिमा इलाम नगरपालिका ९ का वडाध्यक्ष रहेका गोपाल चौहान र क्षेत्र नं १ मा जङ्ग गुरुङ र हरिकला श्रेष्ठको उम्मेदवारी सार्वजनिक भईसकेको छ । अन्य उम्मेदवारी हुँदा हुँदै कर्मचार्यले तीर्थ गुरुङ र जीवन नेपाललाई सहयोग गर्ने निर्णयले जिल्लामा गुटको राजनीति पक्का बनेको देखिन्छ । त्यसैले क्षेत्रीय र प्रदेश तहको प्रतिस्पर्धामा उम्मेदवारको व्यक्तिगत प्रभावसँगै कुन समूह कुन उम्मेदवारको पक्षमा उभिन्छ भन्ने विषयलाई महत्त्वपूर्ण बनाएको छ । क्षेत्रीय नेतृत्वमा समर्थन स्पष्ट पारेका कर्माचार्यले जिल्ला सभापतिको विषयमा भने आफ्नो निर्णय खुला राखेका छन् ।
उनले आफूले अहिलेसम्म जिल्ला सभापतिका लागि कसैलाई वचन नदिएको सामाजिक सञ्जालबाटै बताएका छन् । आफ्ना निकट साथीहरूसँगको छलफलमा खगेन्द्र देवानलाई सहयोग गर्ने, भेषराज आचार्यलाई सहयोग गर्ने वा नयाँ व्यक्तिलाई अघि सार्ने तीन विकल्प रहेको उनको भनाइ छ । कर्माचार्यको यही अभिव्यक्तिले जिल्ला सभापतिको समीकरणलाई थप चासोको विषय बनाएको छ । क्षेत्रीय र प्रदेश तहमा उम्मेदवारका पक्षमा समर्थन जनाइसकेका उनले जिल्ला नेतृत्वमा भने अन्तिम निर्णय नगरेपछि जिल्लामा गुटगत शक्ति–सन्तुलनको नयाँ हिसाब सुरु भएको हो । अब प्रश्न कर्माचार्यले कसलाई समर्थन गर्छन् भन्नेमा मात्र सीमित छैन । उनले अघि सारेका तीन विकल्पमध्ये कुन विकल्पले जिल्ला काँग्रेसको आगामी नेतृत्व चयनमा प्रभाव पार्छ भन्ने विषय पनि महत्त्वपूर्ण बनेको छ ।
केन्द्रमा थापा, जिल्लामा आफ्नै समीकरण ?
गुटरहित एउटा काँग्रेस बनाउने भन्दै केन्द्रीय नेतृत्वमा गगन थापा स्थापित भएपछि इलामबाट केन्द्रीय सदस्य बनेका कर्मचार्य खुलेरै गुटको राजनीतिमा होमिएका छन् । अब काँग्रेसमा गुट हुँदैन भनेर अघि सरेको थापाकै केन्द्रीय सदस्य कर्मचार्य व्यक्तिगत सम्बन्ध र गुटगत समीकरणमा छन् । कर्माचार्यको स्ट्याटसले पनि यही सङ्केत गरेको छ । उनले क्षेत्रीय र प्रदेश सभापतिका उम्मेदवारका विषयमा समर्थन स्पष्ट पारेका छन् । तर जिल्ला सभापतिको विषयमा भने आफूले कुनै प्रतिबद्धता नगरेको बताएका छन् । यसले केन्द्रमा एउटै राजनीति लाइन देखिए पनि जिल्लाको सङ्गठन निर्माण र नेतृत्व चयनमा फरक ढङ्गले काम गरिरहेको प्रस्ट देखाउँछ ।
कर्माचार्यको भूमिकातर्फ सबैको नजर
अहिलेको अवस्थामा सबैभन्दा चासोको विषय जिल्ला सभापतिको उम्मेदवारीभन्दा पनि कर्माचार्यको अन्तिम निर्णय कसको पक्षमा जान्छ भन्ने बनेको छ । उनले कसैलाई वचन नदिएको बताए पनि देवान र आचार्यमध्ये एक रोज्ने वा नयाँ उम्मेदवार अघि सार्ने तीन विकल्प सार्वजनिक गरिसकेका छन् । काँग्रेसको अधिवेशनमा वडा तहबाट चयन हुने क्षेत्रीय प्रतिनिधिको भूमिका महत्त्वपूर्ण हुन्छ । यही प्रतिनिधिले माथिल्लो तहको नेतृत्व चयनमा मताधिकार प्रयोग गर्ने भएकाले अहिले नेताहरूको ध्यान वडा तहमा केन्द्रित भएको छ । इलामका विभिन्न वडामा पुराना नेता, जनप्रतिनिधि, तरुण पुस्ता र नयाँ आकाङ्क्षीहरू आफ्नो पक्षमा समर्थन जुटाउन सक्रिय हुन थालेका छन् । कतिपय स्थानमा एउटै पदका लागि धेरै आकाङ्क्षी देखिन थालेपछि प्रतिस्पर्धा थप रोचक बन्ने सङ्केत देखिएको छ । जिल्ला स्तरमा प्रभावशाली मानिएका नेताको प्रभाव वडा तहमा कति देखिन्छ भन्ने विषय अधिवेशनले परीक्षण गर्नेछ । त्यस्तै, गुटको औपचारिक समर्थन नपाए पनि कार्यकर्तासँग बलियो सम्बन्ध भएका उम्मेदवारले आफ्नो पक्षमा मत तान्न सक्ने अवस्था पनि उत्तिकै छ । गुट रहित काँग्रेस बनाउने केन्द्रको स्पष्ट नीति र अधिवेशनमा जिल्लाको गुटगत समीकरणसँगै व्यक्तिगत मत र स्थानीय प्रभाव पनि निर्णायक बन्ने देखिन्छ ।
२०७८ को समीकरण दोहोरिन्छ कि नयाँ बन्छ ?
इलाम काँग्रेसको इतिहासमा जिल्ला अधिवेशनका बेला विभिन्न समूहबिच समीकरण बन्ने गरेको छ । २०७८ को जिल्लाको १४ औं अधिवेशनमा हिमालय कर्माचार्यसहित विभिन्न समूहबिच समीकरण बनेको थियो । अन्ततः डम्बर खड्का र भेषराज आचार्यबिच मुख्य प्रतिस्पर्धा भएको थियो । त्यस बेला कर्मचार्यकै समर्थनमा खड्का जिल्ला सभापति बने । यस पटक पनि कर्मचार्यको खेल सुरु भइसकेको छ त्यसैले अधिवेशनको समीकरण के हुन्छ भन्ने निश्चित छैन । जिल्ला सभापतिको समीकरणमा कर्माचार्यको भूमिका महत्त्वपूर्ण देखिए पनि क्षेत्रीय तहमा देखिएको प्रतिस्पर्धाले जिल्ला नेतृत्वको समीकरणलाई कता लैजान्छ भन्ने खुल्न बाँकी छ । अधिवेशनको तयारीसँगै काँग्रेस कार्यकर्ताबिच प्रतिनिधि छनोट र नेतृत्व चयनको आधारबारे बहस पनि सुरु भएको छ । यदि अधिवेशन केवल समूहगत शक्ति प्रदर्शनमा सीमित भयो भने त्यसको असर पार्टी सङ्गठनमा पर्न सक्ने काङ्ग्रेसभित्रकै कार्यकर्ताको बुझाइ छ । तर योगदान, क्षमता र लोकप्रियताका आधारमा प्रतिनिधि तथा नेतृत्व चयन गर्न सके त्यसले सङ्गठनलाई बलियो बनाउन सक्ने अपेक्षा पनि उत्तिकै छ ।
अहिलेको अवस्थामा इलाम काँग्रेसमा कुनै एउटा समूहलाई स्पष्ट रूपमा बलियो वा कमजोर भन्न सकिँदैन । वडा तहको परिणाम, क्षेत्रीय प्रतिनिधिको छनोट, उम्मेदवारको प्रभाव र अन्तिम समयको सहमतिले शक्ति–सन्तुलन निर्धारण गर्नेछ । कर्माचार्यले जिल्ला सभापतिका लागि अघि सारेका तीन विकल्पमध्ये कुन विकल्प रोज्छन् भन्ने विषयले जिल्लाको समीकरणमा प्रभाव पार्न सक्छ तर उनको निर्णय मात्रले परिणाम निर्धारण गर्ने अवस्था भने छैन । क्षेत्रीय र प्रदेश तहमा देखिएको प्रतिस्पर्धा, वडा तहमा बन्ने स्थानीय समीकरण र जिल्ला नेतृत्वका आकाङ्क्षीहरूको प्रभावले आगामी अधिवेशनको वास्तविक चित्र देखाउनेछ ।







प्रतिकृया दिनुहोस