• बिहीबार ६-१-२०८३/Thursday 09-17-2026
  • 05:39:38

एसइइको नतिजामा चुलाचुली : चार महिना अघिदेखि होस्टल र कोचिङ

बुधबार, ३१ भदौ, २०८३


भगीरथ भण्डारी,
इलाम, २९ भदौ :
माध्यमिक शिक्षा परीक्षा (एसइइ) को नतिजा वर्षेनी चिन्ताको विषय बन्दै गएको छ । विद्यार्थीको सिकाइ उपलब्धि, सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर र परीक्षाको नतिजालाई लिएर बहस भइरहेका बेला इलामको चुलाचुली गाउँपालिकाले भने नतिजा सुधारका लागि विद्यालय तहबाटै फरक अभ्यास थालेको छ । गाउँपालिकाले एसइइमा सहभागी हुने विद्यार्थीलाई परीक्षाको करिब चार महिनाअघिदेखि आवासीय रूपमा राखेर अतिरिक्त पठनपाठन गराउनेदेखि सबै माध्यमिक विद्यालयमा बिहान वा बेलुका थप कक्षा सञ्चालनसम्मका कार्यक्रम अघि बढाएको हो ।
चुलाचुलीका आठ माध्यमिक विद्यालयमध्ये तीन सामुदायिक विद्यालयका कक्षा १० का विद्यार्थीलाई लक्षित गरी एसइइ होस्टल कार्यक्रम सञ्चालन गरिएको गाउँपालिकाले जनाएको छ । विद्यार्थीलाई विद्यालयबाहिरको वातावरणबाट अलग राखेर नियमित अध्ययनको समय बढाउने र विषयगत रूपमा थप सहयोग गर्ने उद्देश्यले आवासीय कक्षा सञ्चालन गरिएको गाउँपालिका अध्यक्ष राजेन्द्र केरुङले बताए । विद्यार्थीलाई कठिन लाग्ने गणित, विज्ञान र अंग्रेजीलगायत विषयमा नियमित विद्यालय समयभन्दा अघि वा पछि दैनिक दुई घण्टासम्म थप कक्षा सञ्चालन गरिएको थियो ।

 गत आर्थिक वर्षमा आवासीय रूपमा अध्ययनगरि परिक्षा लेखेका तीन वटा विद्यालयका ९६ विद्यार्थीमध्ये ९३ जना उत्तीर्ण र तीन जना अनुत्तीर्ण भएको गाउँपालिकाको तथ्याङक छ । अतिरिक्त कक्षा सञ्चालनमा  गाउँपालिकाका आठ विद्यालयका  दुई सय २४ विद्यार्थी सहभागी भएकामा दुई सय १८ जना उत्तीर्ण र ६ जना अनुत्तीर्ण भएका छन् ।  यो कार्यक्रम सञ्चालनपछि एसइइ नतिजामा सुधार आएको र उत्तीर्ण प्रतिशत ९८.१५ रहेको पालिकाले जनाएको छ  । गाउँपालिकाले विशेषगरी कमजोर देखिएका विषयमा अतिरिक्त कक्षा र परीक्षाको समयमा आवासीय अध्ययनले विद्यार्थीलाई नियमित अभ्यासहुने गाउपालिका उपाध्यक्ष दिलकुमारी लिम्बुले बताइन । छात्र र छात्राका लागि छुट्टाछुट्टै सुरक्षित छात्रावास, खानेपानी, बिजुली र शौचालयको व्यवस्था गरिएको छ । छात्रावासमा विद्यार्थीको रासन, ग्यास तथा व्यवस्थापन खर्च विद्यालयले अभिभावकबाट मासिक ८ देखि १० हजार रुपैयाँसम्म लिने गरेको छ । गाउँपालिकाले प्रत्येक विद्यालयलाई प्रोत्साहनस्वरूप वार्षिक एक लाख रुपैयाँ उपलब्ध गराउँदै आएको गाउपालिकाले जनाएको छ । मङ्सिर÷पुसदेखि एसइइ परीक्षा नसकिँदासम्म करिब चारदेखि पाँच महिना छात्रावास सञ्चालन हुने गरेको उपाध्यक्ष लिम्बुको भनाई छ । 


प्रतिकृया दिनुहोस