डिजिटल सेवा र वित्तीय अनुशासनमा माङसेबुङको जोड
भगीरथ भण्डारी,
इलाम, २९ भदौ :
सेवा प्रवाहलाई प्रविधिमैत्री बनाउँदै वित्तीय अनुशासन र पारदर्शितामा जोड दिएको माङसेबुङ गाउँपालिकाले आर्थिक वर्ष २०८२÷८३ मा कुल विनियोजित बजेटको ८०.९ प्रतिशत खर्च गरेको छ । गाउँपालिकाले ‘पेपरलेस’ कार्यपालिका बैठक तथा प्रत्यक्ष प्रसारण, इ गभनेन्स, सुत्र र पाम्स जस्ता डिजिटल प्रणालीको प्रयोगलाई संस्थागत गर्दै सेवा प्रवाहलाई थप सहज र पारदर्शी बनाउने अभ्यास अघि बढाएको जनाएको छ ।
गाउँपालिकाको असल अभ्यास तथा अनुभव आदान–प्रदान कार्यक्रमका लागि तयार पारिएको प्रस्तुतीकरणअनुसार कुल ५१ करोड १७ लाख ८२ हजार ६७८ रुपैयाँ बजेट विनियोजन गरिएकोमा ४१ करोड ४० लाख ६८ हजार ४ रुपैयाँ खर्च भएको छ । कुल खर्च प्रतिशत ८०.९ प्रतिशत रहेको गाउँपालिकाले जनाएको छ ।
विषयगत क्षेत्रतर्फ आर्थिक विकासमा ४ करोड ३९ लाख ५० हजार ८५५ रुपैयाँ विनियोजन भएकामा ३ करोड २८ लाख ९० हजार ८७८ रुपैयाँ खर्च भएको छ । यस क्षेत्रमा खर्च प्रतिशत ७४.४८ प्रतिशत रहेको छ । सामाजिक विकासतर्फ २१ करोड ८२ लाख ४० हजार रुपैयाँ विनियोजन भएकामा १९ करोड ४० लाख ४४ हजार ८०६ रुपैयाँ खर्च भएको छ । सामाजिक विकासको खर्च प्रतिशत ८८.९१ प्रतिशत रहेको छ ।
पूर्वाधार विकासमा १० करोड ९२ लाख ९० हजार ९६३ रुपैयाँ विनियोजन भएकामा ८ करोड १० लाख २४ हजार ७२३ रुपैयाँ ४४ पैसा खर्च भएको छ । पूर्वाधारतर्फ खर्च प्रतिशत ७४.१४ प्रतिशत रहेको छ । वन, वातावरण तथा विपद् व्यवस्थापनमा भने ९६.१३ प्रतिशत खर्च भएको विवरणमा उल्लेख छ । सुशासन तथा संस्थागत क्षमता विकासतर्फ १३ करोड ५२ लाख २० हजार ८६० रुपैयाँ विनियोजन भएकामा १० करोड १७ लाख १६ हजार ६८९ रुपैयाँ खर्च भएको छ ।
अनुदान शतप्रतिशत खर्च
वित्तीय समानीकरण अनुदानतर्फ संघबाट प्राप्त ८ करोड १ लाख ६ हजार ४८० रुपैयाँमध्ये ७ करोड २९ लाख १२ हजार ९६० रुपैयाँ खर्च भएको छ । प्रदेशबाट प्राप्त ५२ लाख ४ हजार रुपैयाँ भने शतप्रतिशत खर्च भएको गाउँपालिकाको विवरणमा उल्लेख छ । संघीय सशर्त अनुदान चालुतर्फ प्राप्त १७ करोड ४० लाख ६ हजार ७२० रुपैयाँमध्ये १७ करोड ३९ लाख ४५ हजार ४४० रुपैयाँ खर्च भएको छ। यसतर्फ खर्च प्रतिशत ९९.९६ प्रतिशत पुगेको छ । संघीय सशर्त पुँजीगततर्फ प्राप्त १ करोड ७२ लाख ९९ हजार ६०० रुपैयाँमध्ये १ करोड ६३ लाख ४० हजार २०० रुपैयाँ खर्च भएको छ, जुन ९४.४५ प्रतिशत हो । प्रदेशको सशर्त अनुदान चालु र पुँजीगत दुवैतर्फ शतप्रतिशत खर्च भएको छ । समपूरक अनुदानतर्फ प्रदेशबाट प्राप्त १ करोड रुपैयाँ पनि शतप्रतिशत खर्च भएको विवरणमा उल्लेख छ । विशेष अनुदानतर्फ संघबाट प्राप्त ३ करोड रुपैयाँ खर्च भएको छ ।
डिजिटल प्रणालीमार्फत सेवा प्रवाह
गाउँपालिकाले सेवा प्रवाहमा प्रविधिको प्रयोगलाई प्राथमिकता दिएको छ । प्रस्तुतीकरणमा अनलाइनमार्फत प्रदान गरिने सेवाको संख्या दुई रहेको उल्लेख छ । नागरिक वडापत्र र सूचना अधिकारीको व्यवस्था गरिएको छ भने गुनासो व्यवस्थापन, सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण तथा सामाजिक परीक्षणका लागि कानुनी व्यवस्था गरिएको छ ।
गाउँपालिकाको स्थानीय शासन कार्यसम्पादन प्रणालीमा ६१.५ अंक प्राप्त भएको विवरणसमेत प्रस्तुत गरिएको छ । मन्त्रालयको स्थानीय तह प्रगति अनुगमन प्रणालीमा विवरण प्रविष्टिका लागि गुगोल सिट प्रयोग भइरहेको जनाइएको छ ।
सुशासनतर्फ गाउँपालिकाले पेपरलेस कार्यपालिका बैठक तथा प्रत्यक्ष प्रसारण, प्रविधिमैत्री सेवा प्रवाह अर्थात् इ गभनेन्स र आन्तरिक कार्यसम्पादनमा सुत्र तथा पाम्स जस्ता प्रणालीको प्रयोगलाई असल अभ्यासका रूपमा अघि सारेको छ । गाउँपालिकाले राजस्व संकलनलाई समेत पारदर्शी बनाउन अनलाइन प्रणालीलाई निरन्तरता दिने नीति लिएको छ । गाउँपालिकाको आगामी आर्थिक वर्षको नीति तथा कार्यक्रममा पनि सेवा प्रवाहलाई सहज र प्रविधिमैत्री बनाउने तथा अनलाइन राजस्व प्रणालीलाई निरन्तरता दिने उल्लेख छ ।
१३३ योजना, ११२ उपभोक्ता समितिमार्फत
माङसेबुङ गाउँपालिकाले विभिन्न क्षेत्रका १३३ वटा योजना तथा कार्यक्रम स्वीकृत गरेको थियो । तीमध्ये ५० लाख रुपैयाँभन्दा बढी बजेट भएका ४ वटा, २५ देखि ५० लाखसम्मका २ वटा, ५ देखि २५ लाखसम्मका ३३ वटा र ५ लाख रुपैयाँसम्मका ९४ वटा योजना रहेका छन् । कार्यान्वयन क्षेत्रका आधारमा ३९ वटा गाउँपालिकास्तरीय र ९४ वटा वडास्तरीय योजना रहेका छन् । कार्यान्वयन विधिका आधारमा ११२ वटा योजना उपभोक्ता समितिमार्फत र २१ वटा योजना निर्माण व्यवसायीमार्फत कार्यान्वयन गरिएको छ ।
१५ करोड ७४ लाख बेरुजु
वित्तीय व्यवस्थापनमा प्रगति देखिए पनि गाउँपालिकाका लागि बेरुजु चुनौतीका रूपमा देखिएको छ । प्रस्तुतीकरणमा आर्थिक वर्ष २०८२÷८३ सम्मको कुल बेरुजु १५ करोड ७४ लाख १९ हजार २६८ रुपैयाँ रहेको उल्लेख छ । त्यसैले आगामी दिनमा बजेट खर्चसँगै बेरुजु फछ्र्यौट र वित्तीय अनुशासनलाई थप प्रभावकारी बनाउनु गाउँपालिकाको महत्वपूर्ण जिम्मेवारी देखिन्छ । माङसेबुङ गाउँपालिकाले सेवा प्रवाहमा डिजिटल अभ्यास, वित्तीय पारदर्शिता, योजना कार्यान्वयन र सुशासनलाई संस्थागत गर्ने प्रयास गरिरहेको देखिन्छ । खर्चको समग्र अवस्था ८०.९ प्रतिशत पुगे पनि क्षेत्रगत खर्चमा केही अन्तर देखिएको छ ।







प्रतिकृया दिनुहोस