• बिहीबार ६-१-२०८३/Thursday 09-17-2026
  • 05:37:11

सन्दकपुरको खर्च ७८ प्रतिशत : ४४ करोड ७६ लाख बजेट, ३७ करोड ६२ लाख खर्च

मंगलबार, ३० भदौ, २०८३



भगीरथ भण्डारी,
इलाम २९ भदौ :
सन्दकपुर गाउँपालिकाले आर्थिक वर्ष २०८२÷०८३ मा चालुतर्फ ८६.९६ प्रतिशत र पुँजीगततर्फ ७८.२३ प्रतिशत बजेट खर्च गरेको छ । गाउँपालिकाको प्रतिवेदनअनुसार चालु बजेटतर्फ २९ करोड ७२ लाख ६७ हजार र पुँजीगततर्फ १५ करोड ४ लाख ३१ हजार रुपैयाँ विनियोजन मध्ये चालुतर्फ २५ करोड ८५ लाख २९ हजार र पुँजीगततर्फ ११ करोड ७६ लाख ८८ हजार रुपैयाँ खर्च भएको हो ।
गाउँपालिकाको आ.व. २०८२÷०८३ को असल अभ्यास र अनुभव आदानप्रदान कार्यक्रममा प्रस्तुत प्रतिवेदनअनुसार पालिकामा कुल १४१ योजना तथा कार्यक्रम स्वीकृत भएका थिए । तीमध्ये ५० लाख रुपैयाँभन्दा बढी बजेटका चार, २५ देखि ५० लाखसम्मका छ, पाँचदेखि २५ लाखसम्मका ३५ र पाँच लाख रुपैयाँसम्मका ९७ योजना रहेका छन् । कार्यान्वयन क्षेत्रका आधारमा पालिकास्तरीय ६३ र वडास्तरीय ७८ योजना रहेका थिए । योजनाको कार्यान्वयन विधितर्फ १२६ योजना उपभोक्ता समितिमार्फत र १५ योजना निर्माण व्यवसायीमार्फत सञ्चालन गरिएको प्रतिवेदनमा उल्लेख छ ।
आर्थिक विकासमा ७४.५२ प्रतिशत पुँजीगत खर्च
विषय क्षेत्रगत बजेट खर्चतर्फ आर्थिक विकासमा चालु बजेट १ करोड ५९ लाख ८१ हजार र पुँजीगत बजेट ३ करोड ६७ लाख ८२ हजार रुपैयाँ विनियोजन भएको थियो । चालुतर्फ १ करोड ४९ लाख २३ हजार र पुँजीगततर्फ २ करोड ७४ लाख ९ हजार रुपैयाँ खर्च भएको छ। यस क्षेत्रमा चालु खर्च ९३.३८ र पुँजीगत खर्च ७४.५२ प्रतिशत रहेको छ । सामाजिक विकासतर्फ चालु १८ करोड २६ लाख ५८ हजार र पुँजीगत १ करोड ८९ लाख ७२ हजार रुपैयाँ विनियोजन भएकोमा चालु १६ करोड ४४ लाख १९ हजार र पुँजीगत १ करोड ३५ लाख ९७ हजार रुपैयाँ खर्च भएको छ । चालु खर्च ९०.०२ र पुँजीगत खर्च ७१.६७ प्रतिशत रहेको छ । पूर्वाधार विकासमा चालु २२ लाख ५० हजार र पुँजीगत ७ करोड ९१ लाख ६४ हजार रुपैयाँ विनियोजन भएको थियो । चालुतर्फ १७ लाख ११ हजार र पुँजीगततर्फ ६ करोड ४१ लाख १ हजार रुपैयाँ खर्च भएको छ । चालु खर्च ७६.०५ र पुँजीगत खर्च ८०.९७ प्रतिशत रहेको छ ।
वन तथा वातावरणतर्फ चालु ३२ लाख ९० हजार र पुँजीगत १० लाख रुपैयाँ विनियोजन भएकोमा चालु ३२ लाख ३९ हजार र पुँजीगत ६ लाख ४६ हजार रुपैयाँ खर्च भएको छ । चालु खर्च ९८.४८ र पुँजीगत खर्च ६४.६५ प्रतिशत रहेको छ । सुशासनतर्फ चालु १ करोड २२ लाख ९४ हजार र पुँजीगत १ करोड २७ लाख १२ हजार रुपैयाँ विनियोजन भएकोमा चालु ८४ लाख ८२ हजार र पुँजीगत १ करोड ४ लाख ८ हजार रुपैयाँ खर्च भएको छ । चालु खर्च ६८.९९ र पुँजीगत खर्च ८१.८७ प्रतिशत रहेको छ ।
संघीय अनुदानमा ९२ प्रतिशत खर्च
प्रतिवेदनअनुसार संघीय वित्तीय समानीकरण अनुदानबापत ७ करोड ६८ लाख १८ हजार रुपैयाँ प्राप्त भएकोमा ७ करोड ८ लाख ४४ हजार ७९१ रुपैयाँ ८३ पैसा खर्च भएको छ । प्रदेश वित्तीय समानीकरण अनुदानतर्फ ७२ लाख ९५ हजार प्राप्त भएकोमा ६६ लाख ५ हजार २१७ रुपैयाँ ८५ पैसा खर्च भएको छ ।
संघीय सशर्त अनुदान चालुतर्फ १४ करोड ४२ लाख २९ हजार ९५४ रुपैयाँ ४ पैसा प्राप्त भएकोमा सोही बराबर खर्च भएको प्रतिवेदनमा उल्लेख छ । संघीय सशर्त पुँजीगत अनुदानतर्फ १ करोड ९६ लाख ४५ हजार ६ रुपैयाँ ६७ पैसा प्राप्त तथा खर्च भएको छ ।
प्रदेश सशर्त चालुतर्फ ७ लाख १५ हजार २०९ रुपैयाँ २ पैसा प्राप्त तथा खर्च भएको छ भने प्रदेश सशर्त पुँजीगततर्फ ७८ लाख ४६ हजार ७५० रुपैयाँ २७ पैसा प्राप्त तथा खर्च भएको छ । समपूरक अनुदानतर्फ संघबाट ५५ लाख १३ हजार २१८ रुपैयाँ र प्रदेशबाट ९८ लाख ९० हजार ११८ रुपैयाँ २९ पैसा प्राप्त भएको छ । विशेष अनुदानतर्फ संघबाट १ करोड २ लाख ६० हजार ८४१ रुपैयाँ प्राप्त तथा खर्च भएको प्रतिवेदनमा उल्लेख छ ।
राजस्व बाँडफाँटतर्फ संघबाट ७ करोड ८३ लाख ४९ हजार ५६३ रुपैयाँ ४२ पैसा र प्रदेशबाट ५६ लाख २ हजार ३५७ रुपैयाँ १६ पैसा प्राप्त भएको छ । संघीय राजस्व बाँडफाँटबाट ६ करोड ४१ लाख ११ हजार ५३६ रुपैयाँ २५ पैसा र प्रदेशतर्फ ४२ लाख ५७ हजार १५८ रुपैयाँ ८३ पैसा खर्च भएको छ ।
आन्तरिक स्रोततर्फ २ करोड ६९ लाख ३६ हजार ६१० रुपैयाँ ५४ पैसा प्राप्त भएकोमा २ करोड १५ लाख ७८ हजार ३ रुपैयाँ १० पैसा खर्च भएको छ । जनसहभागितातर्फ १ करोड ९ लाख ६८ हजार २८६ रुपैयाँ १७ पैसा प्राप्त र १ करोड २ लाख ८५ हजार ९७६ रुपैयाँ ९ पैसा खर्च भएको प्रतिवेदनमा उल्लेख छ । सडक बोर्डबाट प्राप्त ४ लाख ३४ हजार ३९३ रुपैयाँ शतप्रतिशत खर्च भएको छ ।
११ करोड ९७ लाखभन्दा बढी बेरुजु
सन्दकपुर गाउँपालिकाको आ.व. २०८२÷०८३ सम्मको कुल बेरुजु रकम ११ करोड ९७ लाख २७ हजार ३७८ रुपैयाँ रहेको प्रतिवेदनमा उल्लेख छ । बेरुजु फछ्र्यौट तथा सम्परीक्षणको अवस्था समीक्षा प्रतिवेदनमा सम्परीक्षणको चरणमा रहेको जनाइएको छ । गाउँपालिकामा स्वीकृत दरबन्दी ६८ रहेकोमा ४४ पदपूर्ति भएको र २४ दरबन्दी रिक्त रहेको छ । करारतर्फ कार्यक्रमसहित ३८ जनशक्ति रहेको प्रतिवेदनमा उल्लेख छ ।
एकसय ७३ कानुन तथा दस्तावेज निर्माण
सन्दकपुर गाउँपालिकाले हालसम्म १७३ वटा कानुन तथा अन्य कानुनी दस्तावेज निर्माण गरेको छ । जसमा ३२ ऐन, पाँच नियमावली, ३३ कार्यविधि, दुई मापदण्ड र १०१ अन्य दस्तावेज रहेका छन् । गाउँपालिकाको पहिलो पञ्चवर्षीय योजना आ.व. २०८२÷०८३ देखि २०८६÷०८७ सम्मका लागि निर्माण गरिएको छ । मध्यमकालीन खर्च संरचना, स्थानीय तहको वस्तुस्थिति विवरण, भू–उपयोग योजना र राजस्व सुधार कार्ययोजना निर्माणको अवस्था प्रतिवेदनमा समेटिएको छ । आन्तरिक नियन्त्रण प्रणाली बन्ने चरणमा रहेको जनाइएको छ । स्थानीय शासन कार्यसम्पादन प्रणालीमा आ.व. २०८१÷०८२ मा ७५.२ अंक प्राप्त भएको र जिल्ला समन्वय समिति समीक्षा बाँकी रहेको अवस्थामा ८५.४ अंक उल्लेख गरिएको छ । मन्त्रालयको स्थानीय तह प्रगति अनुगमन प्रणालीमा गुगल सिटमार्फत विवरण प्रविष्टि भइरहेको छ ।
न्यायिक समितिमा नौ उजुरी
गाउँपालिकाको न्यायिक समितिमा नौवटा उजुरी तथा गुनासो दर्ता भएकोमा आठवटा कारबाही वा फछ्र्यौट भएका छन्। एउटा उजुरी प्रक्रियामा रहेको छ । फछ्र्यौट भएका उजुरीमध्ये पुनरावेदनमा गएको संख्या शून्य रहेको प्रतिवेदनमा उल्लेख छ । सेवा प्रवाहतर्फ अनलाइनमार्फत नौ प्रकारका सेवा प्रदान गरिएको छ । सबै कार्यालयमा नागरिक वडापत्र रहेको, सूचना अधिकारी तोकिएको तथा गुनासो व्यवस्थापन, सार्वजनिक सुनुवाइ, सार्वजनिक परीक्षण र सामाजिक परीक्षणका लागि कानुनी व्यवस्था रहेको जनाइएको छ । निगरानी निकाय तथा कार्यालयमा प्राप्त सात उजुरीमध्ये पाँच फछ्र्यौट भएका छन् ।
पर्यटन, कृषि र पूर्वाधारमा 
सन्दकपुर गाउँपालिकाले पर्यटनलाई समृद्धिको मुख्य आधार बनाउँदै तेस्रो रेडपान्डा महोत्सव सञ्चालन गरेको छ । गाउँपालिकाले वन कार्यालयको आर्थिक सहयोगमा भू–उपयोग योजना निर्माण गरेको, याक चौरी तथा छुर्पी प्रवर्धन कार्यक्रम सञ्चालन गरेको र सहकारीको अडिट, अनुगमन तथा व्यवस्थापन गरेको प्रतिवेदनमा उल्लेख छ । सामुदायिक विद्यालयलाई प्रविधिमैत्री बनाउन आईसीटी सामग्री खरिद तथा वितरण गरिएको छ । गाउँपालिकाको कार्यालयबाट पहिलोपटक करिब ७०० मिटर कालोपत्रे सडक निर्माण सम्पन्न भएको जनाइएको छ । पाँचथरको फिदिमदेखि सुरु भएर इलामका सीमावर्ती विभिन्न स्थान हुँदै भारतसँगको सीमावर्ती तथा पर्यटकीय क्षेत्र सन्दकपुरसम्म जोड्ने फाल्गुनन्द पदमार्ग निर्माण गरिएको छ । खानेपानीको वस्तुस्थिति बुझ्न वास योजना निर्माण तथा कार्यान्वयन गरिएको छ । कालपोखरी बजारमा सौर्य बत्ती जडान गरिएको र राजस्व सुधार योजना निर्माण तथा राजस्व असुलीमा उल्लेख्य वृद्धि भएको प्रतिवेदनमा उल्लेख छ ।
कृषि तथा पशुको ल्याब व्यवस्थापनबाट माटो परीक्षण, कृषि तथा पशुसम्बन्धी रोग र परजीवी परीक्षणको व्यवस्था गरिएको छ । वृक्षरोपण कार्यक्रममार्फत प्राकृतिक पोखरी तथा कुण्ड संरक्षण, बजार तथा पर्यटकीय क्षेत्रमा सौन्दर्यीकरण र फोहोरमैला व्यवस्थापनमा काम गरिएको छ । २०८२ असोज १८ गतेको प्राकृतिक विपद्बाट प्रभावित परिवारलाई आपत्कालीन राहत वितरण, पुनर्निर्माण र पुनःस्थापनाको काम गरिएको छ । गाउँपालिकाले पालिकास्तरीय योजना बैंक निर्माण, देउराली बजार क्षेत्रको जग्गा नापजाँच, साना उद्यमी तथा किसानका लागि च्याउ खेती र मौरीपालनसम्बन्धी तालिम तथा नागरिक सेवा सहज बनाउन एकीकृत घुम्ती सेवा र गाउँघर क्लिनिक सञ्चालन गरेको छ ।
८ किलोमिटरभन्दा बढी सडक स्तरोन्नति
गाउँपालिकाको समीक्षा प्रतिवेदनअनुसार कालोपत्रे तथा ढलानतर्फ ०.५७८७ किलोमिटर र ०.५३० किलोमिटर गरी सडक निर्माण भएको छ । ग्राभेल तथा स्तरोन्नतितर्फ ६.५१२ र १.८७९ किलोमिटर सडक निर्माण तथा स्तरोन्नति गरिएको छ । सडक मर्मतसम्भारतर्फ ११९.४९ किलोमिटर काम भएको प्रतिवेदनमा उल्लेख छ ।
स्रोत अभाव र समन्वय चुनौती
सन्दकपुर गाउँपालिकाले संघ, प्रदेश र स्थानीय सरकारबीच विकास निर्माणका आयोजना सञ्चालन गर्दा स्पष्ट समन्वय र सहकार्य नहुने गरेको समस्याका रूपमा औंल्याएको छ । स्थानीय तहमा आवश्यकता धेरै भए पनि स्रोतसाधन कम भएका कारण आवश्यकता र आर्थिक स्रोतबीच ठूलो खाडल रहेको प्रतिवेदनमा उल्लेख छ । २०८२ असोज १८ र १९ गतेको अविरल वर्षाका कारण क्षति पुगेका भौतिक संरचनाको पुनर्निर्माण तथा मर्मतसम्भार कार्य चाँडै हुने अपेक्षा गाउँपालिकाले गरेको छ । संघीय तथा प्रदेश सरकारले स्थानीय तहको आवश्यकता पहिचान नगरी स्थानीय तहले आर्थिक दायित्व बेहोर्नुपर्ने गरी कार्यक्रम पठाउने गरेको, संघीय तथा प्रदेश सरकार मातहतका निकायबीच समन्वय नहुँदा एउटै प्रकृतिका तथ्यांक फरक–फरक निकायबाट माग हुने गरेको गाउँपालिकाको गुनासो छ ।

प्रतिकृया दिनुहोस