• बिहीबार ६-१-२०८३/Thursday 09-17-2026
  • 05:37:22

मन्टेश्वरी सेकेन्डरी स्कुलमा ७ किलोमिटर खुला म्याराथन

आइतबार, २८ भदौ, २०८३


इलाम : ६२औँ अन्तर्राष्ट्रिय बालदिवसको अवसरमा इलाम नगरपालिका–७ स्थित मन्टेश्वरी सेकेन्डरी स्कुलले विद्यार्थी तथा शिक्षक–शिक्षिकाबीच खुला म्याराथन दौड प्रतियोगिता आयोजना गरेको छ।
विद्यालयको प्राङ्गणबाट सुरु भएको दौड ओपिधारा, चियाबारी, भालुढुङ्गा, चुरेघाटी, खरेलडाँडा, पिपलबोटे हुँदै पुनः विद्यालयको प्राङ्गणमा पुगेर सम्पन्न भएको थियो। करिब ७ किलोमिटर दूरीको छोटो दूरीको दौड प्रतियोगितामा विद्यार्थी र शिक्षक–शिक्षिकाको छुट्टाछुट्टै विधामा प्रतिस्पर्धा गराइएको थियो।
प्रतियोगितामा विद्यार्थीतर्फ १३५ जना र शिक्षक–शिक्षिकातर्फ २० जनाको सहभागिता रहेको विद्यालयले जनाएको छ।
विद्यार्थीतर्फ पुरुष विधामा एलिक गुरुङले १९ मिनेट १४ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे। संसार राई १९ मिनेट ४९ सेकेन्डमा दोस्रो तथा पुकार तामाङ २० मिनेट १६ सेकेन्डमा तेस्रो भए।
महिला विधातर्फ निस्मा कटुवालले ३२ मिनेट १२ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरिन्। कैलाली राई ३३ मिनेट २६ सेकेन्डमा दोस्रो तथा निरजला राई ३३ मिनेट ३५ सेकेन्डमा तेस्रो भइन्।
त्यस्तै, शिक्षक–शिक्षिका विधातर्फ शिखर काजी राईले २९ मिनेट ३४ सेकेन्डमा दूरी पूरा गर्दै प्रथम स्थान हासिल गरे। टनिशा मगर ३३ मिनेटमा दोस्रो तथा सञ्जीव राई ३३ मिनेट ५५ सेकेन्डमा तेस्रो भए।
प्रतियोगिताका विजेताहरूलाई विद्यालय व्यवस्थापन समितिका अध्यक्ष डम्बरकुमारी देवानले मेडल, प्रमाणपत्र तथा नगद पुरस्कार वितरण गरिन्।
पुरस्कार वितरण कार्यक्रममा अध्यक्ष देवानले विद्यालयले आगामी दिनमा पनि विद्यार्थीको शारीरिक तथा मानसिक स्वास्थ्यलाई प्राथमिकतामा राख्दै विभिन्न नयाँ कार्यक्रम सञ्चालन गर्ने बताइन्। उनले स्वस्थ जीवनका लागि म्याराथन तथा नियमित शारीरिक अभ्यास अपरिहार्य रहेको धारणा व्यक्त गरिन्।

प्रतिकृया दिनुहोस