• शनिबार ५-१३-२०८३/Saturday 08-29-2026
  • 12:04:54

बैंकर्स क्लब इलामको तेस्रो वार्षिकोत्सवमा म्याराथन दौड

शनिबार, ६ भदौ, २०८३

इलाम :
बैंकर्स क्लब इलामको तेस्रो वार्षिकोत्सवको अवसरमा इलाममा कार्यरत बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूबीच छोटो दूरीको म्याराथन दौड प्रतियोगिता आयोजना गरिएको छ।

क्लबको वार्षिकोत्सवका अवसरमा आयोजित प्रतियोगितामा इलाममा रहेका विभिन्न बैंक तथा वित्तीय संस्थामा कार्यरत करिब ५० जना कर्मचारीको उत्साहजनक सहभागिता रहेको थियो। बैंकिङ पेशामा व्यस्त रहने कर्मचारीहरूबीच आपसी सम्बन्ध, सहकार्य र भाइचारा मजबुत बनाउँदै स्वास्थ्य तथा शारीरिक तन्दुरुस्तीप्रति सचेतना अभिवृद्धि गर्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको क्लबले जनाएको छ।

प्रतियोगिताको पुरुषतर्फ सिद्धार्थ बैंकका सुनील बानिया १४ मिनेट २७ सेकेन्डमा दौड पूरा गर्दै प्रथम भएका छन्। सप्तकोशी डेभलपमेन्ट बैंकका भवानी प्रसाद घिमिरे दोस्रो, प्राइम कमर्सियल बैंकका मनोज ढकाल तेस्रो र ग्लोबल आईएमई बैंकका सन्दीप बराईली चौथो भएका छन्।

महिलातर्फ प्रभु बैंककी सुक्मिता राई १८ मिनेट ५७ सेकेन्डमा दौड पूरा गर्दै प्रथम भएकी छन्। सिद्धार्थ बैंककी निर्मला थापा दोस्रो, ग्लोबल आईएमई बैंककी प्रिया गिरी तेस्रो र सिद्धार्थ बैंककी विनिता भट्टराई चौथो भएकी छन्।

कार्यक्रमका प्रमुख अतिथि जिल्ला खेलकुद समितिका अध्यक्ष सुमन काफ्लेले बैंक तथा वित्तीय क्षेत्रमा कार्यरत कर्मचारीहरूले कार्यक्षेत्रसँगै स्वास्थ्य र शारीरिक सक्रियतालाई समेत प्राथमिकता दिनुपर्ने बताए। यस्ता कार्यक्रमले कर्मचारीहरूबीच आत्मीयता बढाउनुका साथै स्वस्थ जीवनशैलीका लागि सकारात्मक सन्देश प्रवाह गर्ने उनको भनाइ थियो।

क्लबका अध्यक्ष हेमन्तराज न्यौपानेले क्लबको तेस्रो वार्षिकोत्सवलाई सिर्जनात्मक र स्वास्थ्यप्रद गतिविधिसँग जोड्ने उद्देश्यले दौड आयोजना गरिएको बताए। बैंक तथा वित्तीय संस्थामा कार्यरत कर्मचारीहरूबीच आपसी समन्वय, सहकार्य र सौहार्दपूर्ण सम्बन्ध विकास गर्दै क्लबले आगामी दिनमा पनि यस्ता कार्यक्रमलाई निरन्तरता दिने उनले बताए।

कार्यक्रमको संयोजन क्लबका कोषाध्यक्ष राजु धिमालले गरेका थिए भने सञ्चालन सचिव टिकाराम पुरीले गरेका थिए। कार्यक्रममा सहभागी सम्पूर्ण कर्मचारीलाई धन्यवाद दिँदै आयोजकले आगामी दिनमा कर्मचारीहरूको क्षमता विकास, स्वास्थ्य, खेलकुद तथा सामाजिक गतिविधिलाई प्राथमिकता दिँदै थप कार्यक्रम सञ्चालन गर्ने जनाएको छ।

म्याराथन दौडमा बैंक तथा वित्तीय संस्थाका कर्मचारीहरूको उत्साहपूर्ण सहभागितासँगै बैंकर्स क्लब इलामको तेस्रो वार्षिकोत्सव सम्पन्न भएको छ।

प्रतिकृया दिनुहोस