• शनिबार ५-१३-२०८३/Saturday 08-29-2026
  • 11:20:14

उद्योग वाणिज्य संघको नेतृत्वमा त्रिपक्षीय भिडन्त : पौडेल, श्रेष्ठ र गौतम मैदानमा

बिहीबार, ४ भदौ, २०८३


इलाम, ४ भदौ :
इलाम उद्योग वाणिज्य संघको आगामी नेतृत्व चयनलाई लिएर वर्तमान पदाधिकारीहरू नै प्रमुख दाबेदारका रूपमा देखिएका छन् । भदौ २० र २१ गते हुने १० औ अधिवेशनमा संघको वर्तमान अध्यक्ष चेतनाथ पौडेल (कृष्ण) निरन्तरताको पक्षमा देखिएका छन् भने वरिष्ठ उपाध्यक्ष दिपेश श्रेष्ठ अध्यक्ष पदका दाबेदारका रूपमा छन् । त्यसैगरी महासचिव हेमन्त गौतम पनि नेतृत्वको प्रतिस्पर्धामा दाबी गरिरहेका छन । संघको नयाँ नेतृत्व चयन प्रक्रिया नजिकिँदै जाँदा व्यवसायी समुदायमा उम्मेदवारहरूको सक्रियता बढ्न थालेको छ । तर सम्बन्धित व्यक्तिहरूले औपचारिक रूपमा उम्मेदवारी घोषणा गरिसकेका छैनन् ।
वर्तमान अध्यक्ष पौडेलले आफू विशुद्ध व्यवसायी भएको र संस्थाको गरिमा उच्च राख्दै व्यवसायीहरूको पक्षमा निरन्तर वकालत गर्दै आएको भन्दै पुन ः नेतृत्व सम्हाल्न चाहेको बताए । पौडेलले आफ्नो कार्यकालमा व्यवसायीका हकहितका विषयमा सरोकारवाला निकायसँग समन्वय गरी काम गरेको उल्लेख गर्दै आगामी कार्यकालमा पनि व्यवसायीहरूको अधिकार र हितका लागि थप प्रभावकारी ढंगले काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । अध्यक्ष पदका अन्य आकांक्षीहरूलाई उनले आफ्ना सहयात्रीको रूपमा चित्रण गरेका छन् ।
यता, वर्तमान वरिष्ठ उपाध्यक्ष दिपेश श्रेष्ठ पनि अध्यक्ष पदका बलिया दाबेदार मानिन्छन् । वरिष्ठ उपाध्यक्षको जिम्मेवारीमा रहेकाले अब नेतृत्वमा पुग्ने आफ्नो पालो भएको उनको दाबी छ । त्यसैगरी, महासचिव हेमन्त गौतमले पनि अध्यक्ष पदमा आफ्नो दाबी गरेका छन् । आफू अध्यक्ष पदका लागि सक्षम र बलियो उम्मेदवार रहेको बताउँदै उनले सहमतिका आधारमा नेतृत्व चयन हुने अवस्था आए सबै पक्षसँग मिलेर अघि बढ्न सकिने संकेत गरेका छन् । संघको नेतृत्व चयन प्रक्रिया नजिकिँदै जाँदा अध्यक्ष पदका लागि पौडेल, श्रेष्ठ र गौतमबीचको प्रतिस्पर्धा चासोका साथ हेरिएको छ । तर अन्त्यमा पौडेलकै नेतृत्वमा बन्ने सम्भावना रहेको बुझिएको छ ।
पौडेल वर्तमान अध्यक्ष हुँदा व्यवसायीका साझा समस्या र व्यावसायिक हितका विषयमा सक्रिय देखिँदै आएका छन् । मेची राजमार्गको राजदुवाली खण्डमा पहिरोका कारण यातायात प्रभावित हुँदा व्यवसायीले भोग्नुपरेको समस्या, दैनिक उपभोग्य वस्तुको आपूर्ति तथा इन्धन–खाद्यान्न अभावको जोखिमबारे पनि पौडेलले सार्वजनिक रूपमा आवाज उठाएका छन् ।
इलाममा अन्तर्राष्ट्रिय चिया महोत्सव आयोजना गर्ने विषयमा पनि उनले चिया किसान, व्यापारी र विदेशी चिया व्यवसायीबीचको दूरी घटाउँदै इलामको चिया तथा पर्यटन प्रवद्र्धनमा जोड दिएका थिए । वरिष्ठ उपाध्यक्ष हुँदै अध्यक्षसम्मको यात्रा तय गरेका पौडेल २०७६ मा वरिष्ठ उपाध्यक्ष र २०७९ को अधिवेशनबाट अध्यक्षमा निर्वाचित भए । वरिष्ठ उपाध्यक्षको जिम्मेवारी सम्हालिसकेका पौडेलले अध्यक्षका रूपमा व्यवसायीका हकहित, स्थानीय व्यापार प्रवद्र्धन तथा निजी क्षेत्रका समस्या समाधानका विषयमा काम गर्दै आएको बताउँदै आएका छन् ।

प्रतिकृया दिनुहोस