• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 03:33:34

विश्वकप उपाधिको अन्तिम भिडन्त : अर्जेन्टिना कि स्पेन ?

आइतबार, ३ श्रावण, २०८३


लोकेन थेबे/इलाम : 
पहिलो पटक ४८ टोली सहभागी भएको फिफा विश्वकपको उपाधिका लागि आज अर्जेन्टिना र स्पेन आमनेसामने हुँदैछन्। सेमिफाइनलमा अर्जेन्टिनाले इंग्ल्यान्डलाई २–१ तथा स्पेनले फ्रान्सलाई २–० ले पराजित गर्दै फाइनल यात्रा तय गरेका हुन्।
प्रतियोगिता सुरु हुनुअघि फ्रान्सलाई उपाधिको प्रमुख दाबेदार मानिए पनि स्पेनले सेमिफाइनलमा उत्कृष्ट प्रदर्शन गर्दै त्यो अनुमानलाई गलत सावित गरिदियो। अर्कोतर्फ अर्जेन्टिना लगातार दोस्रो पटक विश्वकपको फाइनलमा पुग्दै आफ्नो दबाब कायम राख्न सफल भएको छ।
एक महिनाभन्दा लामो विश्वकप फुटबलको रोमाञ्चक यात्रा अब अन्तिम चरणमा पुगेको छ। आजको फाइनलसँगै विश्व फुटबलले नयाँ च्याम्पियन पाउनेछ र प्रतियोगिता फेरि चार वर्षका लागि विश्राममा जानेछ।
फाइनलअघि दुवै टोलीलाई उपाधिको बलियो दाबेदारका रूपमा हेरिएको छ। अर्जेन्टिना २०२४ को कोपा अमेरिका विजेता हो भने स्पेन २०२४ को युरोपियन च्याम्पियन। फिफा वरीयतामा पनि दुवै टोली शीर्ष स्थानमा रहेकाले उपाधि कसले जित्ला भन्ने अनुमान गर्न कठिन बनेको छ।
अर्जेन्टिनाको बल नियन्त्रण, लामो पास, छिटो रणनीति परिवर्तन गर्ने क्षमता र अनुभवी खेलाडी यसको मुख्य बल हो। स्पेन भने आकर्षक 'टिकी–टाका' शैली, बलियो डिफेन्स र सामूहिक खेलका कारण विश्व फुटबलकै उत्कृष्ट टोलीमध्ये एक मानिन्छ।
दुवै टोलीका प्रशिक्षक रणनीतिक रूपमा अनुभवी भएकाले खेल निकै प्रतिस्पर्धात्मक हुने अपेक्षा गरिएको छ। त्यसैले रेफ्रीको अन्तिम सिटी नबजेसम्म उपाधिको दाबेदार को हो भन्ने निश्चित रूपमा भन्न सकिने अवस्था छैन।
विश्वभरका करोडौं फुटबल समर्थकको ध्यान अहिले यही फाइनलमा केन्द्रित छ। अब अर्जेन्टिनाले लगातार दोस्रो विश्वकप जितेर इतिहास दोहोर्याउने कि स्पेनले नयाँ गौरव थप्ने भन्ने निर्णय मैदानमै हुनेछ।

प्रतिकृया दिनुहोस