• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 03:33:23

पुर्व बिजेताकै पाेल्टामा विश्वकप

सोमबार, २९ असार, २०८३

 

लोकेन थेबे, इलाम : 

अहिले चलिरहेको २३औँ फिफा विश्वकपको सेमिफाइनलको समीकरण पूरा हुँदा पूर्व विश्वकप विजेता देशहरू नै सेमिफाइनलमा पुगेका छन् ।

जुन ११ तारिखदेखि अमेरिका, क्यानडा र मेक्सिकोमा तीन देशको संयुक्त आयोजनामा सुरु भएको फिफा विश्वकप अब समापनको नजिक आइपुग्दा कुनै एक देशले उपाधि दोहोर्‍याउने निश्चित भएको छ ।

सेमिफाइनलमा पुगेका चार देश

अर्जेन्टिना, स्पेन, फ्रान्स र इंग्ल्यान्ड चारै पूर्व विश्वकप विजेता देश हुन् । अर्जेन्टिनाले सन् १९७८ (घरेलु मैदान), १९८६ (मेक्सिको) र २०२२ (कतार) गरी तीन पटक, फ्रान्सले १९९८ (घरेलु मैदान) र २०१८ (रुस) गरी दुई पटक, इंग्ल्यान्डले सन् १९६६ मा घरेलु मैदानमा तथा स्पेनले सन् २०१० मा दक्षिण अफ्रिकामा एक–एक पटक उपाधि उचालिसकेका छन् ।

यसपटकको विश्वकपको सेमिफाइनलमा अर्को संयोग पनि देखिएको छ । विश्वकपमा पहिलो पटक फिफा वरीयतामा क्रमशः एकदेखि चारसम्म रहेका देशहरू सेमिफाइनलमा पुगेका छन् । अर्जेन्टिना पहिलो, स्पेन दोस्रो, फ्रान्स तेस्रो र इंग्ल्यान्ड चौथो वरीयतामा रहेका छन् ।

यता क्वार्टरफाइनलमा इंग्ल्यान्डले नर्वेलाई २–१ गोलअन्तरले हराउँदा स्पेनले बेल्जियमलाई २–१ गोलले पराजित गर्दै सेमिफाइनलमा स्थान बनायो । त्यस्तै फ्रान्सले मोरक्कोलाई २–० गोलअन्तरले हरायो । अर्जेन्टिना र स्विट्जरल्यान्डबीच निर्धारित समयमा १–१ गोलको बराबरी भएपछि अतिरिक्त समयमा अर्जेन्टिनाले ३–१ को सहज जित निकाल्दै सेमिफाइनलको यात्रा सुरक्षित राख्न सफल भयो ।

एक महिनाभन्दा लामो समयसम्म चल्ने विश्वकप समापनको चरणमा आइपुग्दा प्रतियोगिताप्रतिको चासो र महत्त्व अझ बढेर गएको छ । अन्तिम सेमिफाइनलमा अर्जेन्टिनाले जित हासिल गरेपछि प्रतियोगिताको महत्त्व झनै बढेको हो । किनकि अर्जेन्टिना पराजित भएको भए बाँकी खेल युरोकपको आभास हुने थियो । स्पेन, इंग्ल्यान्ड र फ्रान्स युरोप महादेशबाट तथा अर्जेन्टिना दक्षिण अमेरिका महादेशबाट सेमिफाइनलमा पुगेका हुन् ।

विश्वकपको फाइनलमा कुन देश पुग्छ भन्नेमा यतिबेला सारा विश्वको ध्यान केन्द्रित छ । महिनौँ लामो यस महासंग्रामलाई अध्ययन गर्ने विश्व फुटबल पण्डितहरूले पनि चार देशमध्ये कुन–कुन देश फाइनलमा पुग्छन् भन्ने पूर्वानुमान गर्न सकेका छैनन् ।

पहिलो सेमिफाइनल स्पेन र फ्रान्सबीच हुनेछ । फ्रान्स आफैँमा बलियो टोली हो । छिटोछरितो काउन्टर अट्याक, विङमार्फत तीव्र गति र अवसर पाउनासाथ जुनसुकै खेलाडीले गोल गर्ने रणनीति फ्रान्सको विशेषता हो । उता स्पेन भने जतिखेर पनि बल आफ्नो नियन्त्रणमा राख्न चाहन्छ । छोटो–छोटो आकर्षक पास खेल्दै अन्तिम समयसम्म हार नमानी गोलको अवसर सिर्जना गरिरहने भएकाले फाइनलमा कुन देश पुग्छ भन्न कठिन छ। यी दुई देशको हेड–टु–हेड हेर्दा आजसम्म ३८ पटक आमनेसामने हुँदा स्पेनले १८ पटक, फ्रान्सले १३ पटक जितेको छ भने ७ खेल बराबरीमा सकिएका छन् ।

त्यस्तै दोस्रो सेमिफाइनल साविक विजेता अर्जेन्टिना र इंग्ल्यान्डबीच हुनेछ। फिफा वरीयतामा पहिलो र चौथो स्थानमा रहेका टोलीबीचको यो भिडन्त हो । अर्जेन्टिना विपक्षीको अवस्था हेरेर बलको गति बढाउने, कलात्मक ढङ्गले खेल्ने र जुनसुकै समयमा आक्रमण गर्ने खुबी भएको टोली हो । अर्जेन्टिनाको विगत हेर्दा अहिलेसम्म सेमिफाइनल हारेको रेकर्ड छैन । सन् १९८६ मा मेक्सिकोमा भएको विश्वकपको क्वार्टरफाइनलमा इंग्ल्यान्ड र अर्जेन्टिनाबीच भएको खेलमा चर्चित खेलाडी म्याराडोनाले हातले गोल गरेर टोलीलाई जित दिलाएको रोचक इतिहास अझै ताजा छ । त्यसैले यी दुई देशबीचको सेमिफाइनल खेललाई थप महत्त्वका साथ हेरिएको छ ।

उता इंग्ल्यान्ड भने रक्षापङ्क्तिमा रहेर खेल्ने गर्छ । पाएको हरेक अवसरलाई सही दिशामा उपयोग गर्ने खुबी र जतिसुकै बेला पनि संगठित भएर रक्षापङ्क्तिमा उत्रिने क्षमताका कारण कुन देशले जित्छ भन्ने ठम्याउन कठिन छ ।

हेड–टु–हेडका आधारमा आजसम्म अर्जेन्टिना र इंग्ल्यान्ड १५ पटक आमनेसामने भएका छन् । जसमा इंग्ल्यान्डले ६ पटक र अर्जेन्टिनाले ४ पटक जितेको छ भने ५ खेल बराबरीमा सकिएका छन् । यसबाट पनि यो पटक कुन देश फाइनलमा पुग्छ भन्ने अनुमान गर्न गाह्रो छ ।

प्रतिकृया दिनुहोस