• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 03:48:27

पक्की बन्दै ग्रामीण कुला, सिँचाईमा किसानलाई सहज

आइतबार, २६ जेठ, २०८२


भगीरथ भण्डारी,
इलाम  ः
मुहानमा सानो पानी कच्ची कुलो पानी लैजाँदा आधी नपुगी हराउँथ्यो । कुलोमा झार पलाउँथ्यो । झार पलाएर कुलो नै छोपिए पछि  कुलो प्रयोग गर्ने किसान मिलेर सफा गर्ने अनि खेती लगाउने चलन थियो । एक पटक सफा गरेको कुलो एक दुई महिनामा पुन सफा नगरे पानी बग्न नदिने गरी झार पलाउँथ्यो । विगतका वर्षहरूदेखि कच्ची कुलो मर्मत गरेरै खेती चलिरहेकै थियो । इलाम नगरपालिका ५ भोर्लेनीका गीता बहादुर लिम्बुले सोचेका पनि थिएनन् आफ्नो खेतमा पानी लैजाने कुलो पक्की बन्छ भनेर । वर्षे देखि कच्ची कुलोबाटै खेती गरिरहेका उनी यस वर्ष निकै खुसी छन् । किनकि उनको खेतमा पुग्ने त्यो कच्ची कुलो पक्की बनिसको । मुहानमा जत्रो पानी छ त्यो पानी सोझै उनको खेतमा पुग्ने र कुलो सोर्न नपर्ने भएपछि उनी खुसी भएका हुन । ‘मुहान बाट पानी त लगो तर कुलोको बिच तिर नपुग्दै जमिनले सोचेर सुक्ने गर्दथ्यो’ उनी भन्छन्, अहिले त हिउँदमा पनि मुहानमा भए जति पानी सबै खेतमा पुग्छ र कुलो सरसफाइ गर्न पनि धेरै सजिलो भएको छ ।’


इलाम नगरपालिका ५ भोर्लेनी कै बिना लिम्बु विगतका वर्षहरूमा घरको सारा काम भ्याएर नानीहरू स्कुल पठाएपछि खेतमा पानी लैजाने कुलो सोर्न जान्थिन । तर यो वर्ष सँधैजसो कोदालो बोकेर कुलो सोर्न जान नपर्ने भएपछि धेरै सहज भएको छ । ती रोपनी जमिनमा हिउँदमा तरकारी खेती गरेर बजार निकाल्ने उनी यस अघि पानीकै समस्याले खेती गर्न निकै समस्या हुने बताउँछिन् । ‘कुलो बन्नु पहिले यति सहज थिएन’ उनी भन्छिन्, ‘ कुलो पक्की बनेपछि धेरै सजिलो भएको छ, हिउँदमा तरकारी खेती र अलैँचीमा पानी लगाउन समेत सजिलो भएको छ ।’
इलाम नगरपालिका एककी देवीमाया खातीलाई खेतमा पानी लगाउन मुहानबाट पानी घुराएर खेतमा ल्याउँदा बिहान बित्यो । मुहानबाट घुराएको पानी एक बिहानमा पनि खेतमा पुग्न मुस्किल पर्दथ्यो । कहिले त पानी घुराएपछि अर्कोले  खेतमा लगाइदिने गरेकोले आफ्नो खेतमा नै पुग्दैन थियो । कच्ची कुलो कति ठाउँमा पानी चुहिने गरेकोले खेतमा पु¥याउन धौ धौ परे पनि अहिले उनले त्यो दुख बेहोर्नुपरेको छैन । खेतमा आउने कुलो पक्की भएपछि मुहानबाट घुराएको पानी एकै छिनमा खेतमा आइपुग्ने र कतै चुहिन्छ कि भन्ने डर नहुने बताउँछिन् । ‘अहिले त निकै सहज छ’ उनी भन्छिन्,‘मुहानमा पुगेर कुलो फर्काइसकेपछि खेत खेतमा पुग्ने गरेको छ ।’ 
इलाम नगरपालिका पाँचका जीतबहादुर श्रेष्ठको २२ रोपनी जग्गा छ । पक्की कुलो नबन्दा उनलाई आफ्नो खेतमा पानी पु¥याउन निकै समस्या हुन्थ्यो तर अहिले त्यो समस्या छैन । ‘पानी नभएपछि साउनको अन्तिममा मात्रै धान रोप्न सकिन्थ्यो’ उनी भन्छन्, ‘अहिले त असार सकिँदा खेती पनि सकिन्छ, मुहानमा जत्रो पानी छ त्यो पानी खेतमा नै पुग्ने भएकाले सहज छ ।’
उनीहरू त प्रतिनिधि पात्र मात्रै हुन उनीहरू जस्ता धेरै जनाले कच्ची कुलो हुँदाको समस्याबाट अहिले खुसी छन् । पहिले कच्ची कुलो हुँदा दुख झेलेर खेती गरेका किसान पक्की कुलो निर्माण पछि खेतमा पानी लैजान सहज भएको बताउँछन् । इलाम नगरपालिका ५ का अध्यक्ष काजीबहादुर श्रेष्ठले किसानलाई खेती गर्न सहज होस भन्ने उद्देश्यले खेती हुने जग्गामा आउने कुलो पक्की बनाउन लागिपरेको बताए । ‘त्यही जमिनमा उत्पादन गरेको वस्तु बजार लगेर घर परिवार चलाइरहेका किसानलाई खेती गर्न पानी सहजहोस भनेर वडामा १३ वटा सिँचाई आयोजना (पक्की कुलो निर्माण) सञ्चालन गरेका छौ’ वडाध्यक्ष भन्छन्, कृषिलाई प्राथमिकतामा राखेर काम गरिरहेको र कृषिको विकासबाट नै देशको विकास हुन्छ ।’


इलाम नगरपालिका पाँचको भोर्लेनी कुलो सिराने सिँचाई योजना स्विस सरकारको १२ लाख ३१ हजार चार रुपैयाँ, सङ्घीय सरकारको ८ लाख २० हजार ६ सय ७० रुपैयाँ, कोसी प्रदेशको ८ लाख २० हजार ६ सय ७० रुपैयाँ, इलाम नगरपालिकाको ८ लाख २० हजार ६ सय ७० रुपैयाँ र जल उपभोक्ता संस्थाको ४ लाख १० हजार ३ सय ३५ रुपैयाँ लागतमा निर्माण भएको हो । उक्त आयोजनाले २० घरको ७ हेक्टर सिँचाई हुने छ । 
त्यस्तै इलाम नगरपालिका एकको  झुत्रे खोला कोल्बोटे सिँचाई योजना स्विस सरकारको २७ लाख २१ हजार ९ सय ७ रुपैयाँ, सङ्घीय सरकारको १८ लाख १४ हजार ६ सय ५ रुपैयाँ, कोसी प्रदेशको १८ लाख १४ हजार ६ सय ५ रुपैयाँ, इलाम नगरपालिकाको १८ लाख १४ हजार ६ सय ५ रुपैयाँ र जल उपभोक्ता संस्थाको ९ लाख ७ हजार तीन सय ३ रुपैयाँ लागत साझेदारीमा निर्माण गरिएको हो । उक्त आयोजनाले ४५ घरको २१ हेक्टर जमिन सिँचाई हुने इलाम नगरपालिकाले जनाएको छ । 
इलाम नगरपालिकामा ३६ वटा सिँचाई आयोजना 
स्विस सरकार र तिन तहको साझेदारीमा चालु आर्थिक वर्षमा इलाम नगरपालिकामा आठ वटा आयोजना निर्माण भएका छन् । जसमा सात वटा यसै वर्षमा थालिएको र यही आवमा सक्ने गरी सात वटा नयाँ आयोजना र  एउटा आयोजना सम्पन्न भए पनि गत कात्तिकमा आएको वर्षाले क्षति पुगेपछि उक्त आयोजना मर्मतका लागि बजेट रहेको हुँदा  त्यो सहित चालु आर्थिक वर्षमा आठ वटा कार्यान्वयनमा रहेको इलाम नगरपालिकाका सब इन्जिनियर, साना सिचाइ कार्यक्रम फोकल पर्सन वासुदेव पोख्रेलले बताए ।

उनका अनुसार इलाम नगरपालिकाको वडा नंं १, ५ र ११ मा गरी जम्मा आठ वटा योजना सञ्चालन भएको र निर्माणको काम अन्तिम चरणमा पुगेको उनको भनाई छ । इलाम नगरपालिकामा  आर्थिक वर्ष २०७६÷०७७ देखि सञ्चालनमा रहेको साना सिचाइ कार्यक्रम मार्फत गत आर्थिक वर्ष सम्ममा २८ वटा आयोजना सम्पन्न भइसकेको र चालु आर्थिक वर्षमा आठ वटा सहित यस आर्थिक वर्ष सम्मा ३६ वटा आयोजना सम्पन्न हुने पोख्रेलले बताए । 
जिल्लामा एक सय ६४ वटा 
साना सिचाइ कार्यक्रम अन्तर्गत इलाम जिल्लामा एक सय ६४ वटा सिँचाई आयोजना सम्पन्न भइसकेका छन् । आर्थिक वर्ष ०७७÷०७८ देखि ०८१÷०८२ चैत्र सम्ममा एक सय १४ वटा सिँचाई योजना सम्पन्न भएको साना सिचाइ आयोजना संयोजक केशव लामाले बताए । जसमा इलाम नगरपालिकामा २८ वटा, माईजोगमाई गाउँपालिकामा १४ वटा, माङसेबुङ गाउँपालिकामा २४ वटा, फाकफोकथुम गाउँपालिकामा ४ वटा, सन्दकपुर गाउँपालिकामा १८ वटा, सूर्योदय नगरपालिकामा २३ वटा, देउमाई नगरपालिकामा २० वटा, रोङ गाउँपालिकामा १९ वटा र माई नगरपालिकामा १४ वटा गरी एक सय ६४ वटा आयोजना सम्पन्न भइसकेका छन् । 


त्यस्तै साना सिचाइ आयोजना संयोजक केशव लामाले इलाम र पाँचथर जिल्लामा १४ वटा स्थानियतहमा काम गरिरहेको बताए । उनका अनुसार पाँचथरमा एक सय १८ वटा आयोजना सम्पन्न भइसकेका छन् । पाँचथरको मिक्लाजुङ गाउँपालिकामा ३३ वटा, फाल्गुनन्द गाउँपालिकामा २७ वटा, फिदिम नगरपालिकामा १० वटा, याङवरक गाउँपालिकामा १९ वटा र फालेलुङ गाउँपालिकामा २९ वटा गरी एक सय १८ वटा सम्पन्न भएका छन् ।  हाल सम्म दुई जिल्लामा गरी  दुई सय ८४ वटा सम्पन्न भएको र चालु आर्थिक वर्षमा एक सय १३ बटा योजनाहरू सम्पन्न हुने चरणमा रहेका छन् ।


 

प्रतिकृया दिनुहोस