देशभरका ‘स्पेसल’ चियाको प्रदर्शनी हुने
इलाम– आफ्नै देशमा स्पेसल चिया र अर्थोडक्स चियाको बजार प्रवर्धन गर्ने मुख्य उद्देश्यसहित नेपाली अर्थोडक्स चिया तथा स्पेसियालिटी चियाको प्रतिस्पर्धा हुने भएको छ ।
इलामको सूर्योदय नगरपालिकामा रहेको टि–स्टेसन इन्कर्पोरेसनको आयोजनामा भदौ ११ गते काठमाडौँको ठमेलस्थित छाया सेन्टरमा नेपालमा उत्पादित नेपाली अर्थोडक्स चियाबीच ‘नेपाल टि च्यालेन्ज’ आयोजना गर्न लागिएको हो ।
अर्थोडक्स चियाको विश्व बजारको माग र आन्तरिक बजार विस्तारको सम्भावना खोजी गर्न, अर्थोडक्स चिया उत्पादनलाई खुला बजारमुखी र स्वच्छ प्रतिस्पर्धाको अवसर प्रदान गर्न, प्रतिस्पर्धा, स्वच्छ व्यापारको माध्यमबाट स्वदेशी चियाको मूल्यशृंखलाको क्षमता विकास गर्दै राष्ट्रिय उत्पादक र गुणस्तरमा वृद्धि गर्ने यसको उद्देश्य छ ।
अनावश्यक हस्ताक्षेप प्रतिबन्धात्मक व्यापार अभ्यास र अस्वस्थ प्रतिस्पर्धाबाट चियाको आन्तरिक बजार जोगाउँदै नेपाली चियाको मूल्यशृंखलाको आर्थिक हित कायम गर्ने उद्देश्य पनि रहेको आयोजकले जनाएको छ ।
आयोजक अध्यक्ष प्रज्वल प्रधानले प्रतियोगितामा नेपालका साना ठूला गरी सयभन्दा बढी चिया उद्योगले भाग लिने जनाए । शनिबारसम्ममा ६० उद्योगले प्रशोधित चियाको नमुना पठाएको आयोजकमध्येका पेम्बा योल्मोले बताए ।
नेपाल सरकारका कृषि तथा पशुपंक्षी मन्त्री रामनाथ अधिकारीको प्रमुख आतिथ्यमा हुने प्रतियोगितामा देशभरका ७० भन्दा बढी होलसेलर, रिटेलर, निर्यातकर्ता र प्याकेजरले एकै ठाउँमा चियाको नमुना हेर्न, चाख्न पाउने छन् ।
अमेरिकाको लस भेगसमा सम्पन्न वल्र्ड टि एस्पो–२०२४ को विश्व उत्कृष्ट चिया र अन्य तीन विधा ग्रान्ड च्याम्पियन, बेस्ट लिकर र बेस्ट ह्वाइट टिको उपाधि जित्न सफल नेपाली चियालाई हाइलाइट तथा बेन्च मार्क प्रदर्शनी गरिने छ ।
साथै, नेपालबाट अन्तर्राष्ट्रिय प्रतियोगितामा विभिन्न मेडल जित्न सफल विजेता चियाको प्रमाणपत्रसमेत प्रदर्शन गरिने छ । नेपाल राष्ट्रिय चिया तथा कफी विकास बोर्डको अभिभावकत्वमा युवाको सक्रियतामा चियाको नमुना अक्सन सञ्चालन गरी यसको आवश्यकता र फाइदाको बारेमा बोर्ड, मन्त्रालय र नीति निर्माणकर्तालाई जानकारीसमेत गराउने आयोजकका भूषित दाहालले बताए ।






प्रतिकृया दिनुहोस