अलपत्र इलामका दुई सडक : एउटाको ठेक्का अन्त्य, अर्को नयाँ ठेक्काको चरणमा
इलाम, १३ कात्तिक :
वर्षौँदेखि निर्माणको प्रतीक्षामा रहेका इलामका दुई महत्वपूर्ण सडक आयोजना बल्ल ठेक्का व्यवस्थापनको प्रक्रियामा अघि बढेको छ । इलाम–झापा फास्ट ट्र्याकअन्तर्गत केचना–कञ्चनजङ्घा सडकको बेलासे–गोलाखर्क–भञ्ज्याङ खण्डकोे ठेक्का सम्झौता अन्त्य गरिएको छ भने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको पुरानो ठेक्का अन्त्य गरि नयाँ ठेक्का लागेकोे छ ।
निर्माण व्यवसायीको पटक–पटकको प्रतिबद्धता, सरकारी निकायको ताकेता, मन्त्रीको स्थलगत निरीक्षण र निर्देशन तथा लामो प्रशासनिक प्रक्रियाका बाबजुद सडक निर्माणले गति लिन सकेको थिएन । एउटा सडकमा पाँच वर्ष बित्दा पनि आधा काम पूरा हुन सकेन भने अर्को सडकको निर्माणमा ठेक्का अन्त्य र कानुनी विवादको प्रक्रियामा अल्झिएको थियो । पछिल्लो समय दुवै आयोजनामा नयाँ प्रक्रिया अघि बढे पनि सडक निर्माण सम्पन्न नभएसम्म नागरिकले भोग्दै आएको सास्ती अन्त्य हुन आयोजना समयमै सम्पन्न हुनैपर्छ ।
केचना–कञ्चनजङ्घा सडकअन्तर्गत बेलासे–गोलाखर्क–भञ्ज्याङको ९.५ किलोमिटर सडक कालोपत्रे गर्ने गरी २०७८ असार २९ गते खड्का–कृष्ण–सक्षम जेभीसँग २७ करोड २२ लाख रुपैयाँ (भ्याटसहित) मा ठेक्का सम्झौता भएको थियो । २०८० पुस २९ गतेभित्र निर्माण सम्पन्न गर्नुपर्ने उक्त आयोजनामा पटक–पटक म्याद थप र ताकेता गर्दा पनि कामले गति नलिएपछि सडक डिभिजन कार्यालय इलामले ठेक्का सम्झौता अन्त्य गरेको हो । ठेक्का अन्त्यपछि सम्बन्धित निर्माण व्यवसायीलाई १५ दिनभित्र कार्यालयमा उपस्थित भई रकम फरफारक गर्न सूचनासमेत जारी गरिएको छ ।
मन्त्री लम्सालले ‘वर्षौँसम्म अलपत्र ठेक्का अब चल्दैन’ भन्दै अधुरो सडक निर्माणलाई निरन्तरता दिन आवश्यक स्रोत र बहुवर्षीय ठेक्का सहमति जुटाएर नयाँ ठेक्का प्रक्रिया अघि बढाइने बताए । यो सडक निर्माण नहुँदा इलाम, पाँचथर र ताप्लेजुङलाई जोड्ने राजमार्गको वैकल्पिक मार्गका रूपमा रहेको फास्ट ट्र्याकको अवस्था कमजोर हुँदा तीन जिल्ला प्रभावित बनेका छन् ।
दमक–चिसापानीमा एक अर्ब २२ करोडको नयाँ ठेक्का
यता झापाको दमकदेखि इलामको माङ्सेबुङ जोड्ने दमक–चिसापानी सडकअन्तर्गत माङ्सेबुङ–लारुम्बा–चिसापानी खण्डको नयाँ ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित भएको छ । पूर्वाधार विकासमन्त्री सुनिल लम्सालले ‘यो हाम्रो प्रतिबद्धता थियो’ भन्दै लामो समयदेखि अलपत्र सडकको निर्माण प्रक्रिया अघि बढेको जानकारी दिएका छन् । करिब २५.५ किलोमिटर सडक तीन वर्षभित्र कालोपत्रे गर्ने लक्ष्यसहित २०७६ फागुनमा ठेक्का सम्झौता गरिएको थियो । तर निर्माण व्यवसायीले पटक–पटक ताकेता, पत्राचार तथा सूचना जारी गर्दा पनि काम अघि नबढाएपछि पुरानो ठेक्का सम्झौता अन्त्य गरिएको थियो । ठेक्का अन्त्यसँगै कार्यसम्पादन जमानत जफत गर्ने, बाँकी काम सम्पन्न गर्न लाग्ने रकम सरकारी बाँकीसरह असुलउपर गर्ने र सम्बन्धित निर्माण व्यवसायीलाई कालोसूचीमा राख्ने निर्णय गरिएको थियो ।
तर ठेक्का अन्त्य गर्ने निर्णयविरुद्ध निर्माण व्यवसायी अदालत पुगेपछि कानुनी विवादका कारण नयाँ ठेक्का प्रक्रिया अघि बढाउन ढिलाइ भएको थियो । त्यसपछि कानुनी प्रक्रिया तथा विभिन्न विवादको समाधान, स्रोत सहमति, लागत अनुमान र डिजाइन अद्यावधिक गर्ने कार्य सम्पन्न गरी पुनः ठेक्का आह्वान गरिएको मन्त्री लम्सालले बताएका छन् ।

मन्त्री लम्सालका अनुसार नयाँ प्रक्रिया अघि बढेसँगै लामो समयदेखि निर्माणको प्रतीक्षामा रहेको सडकको स्तरोन्नति गर्ने कामले गति लिने अपेक्षा गरिएको छ । दमक–चिसापानी सडकको कालोपत्रे गर्ने विषय प्रधानमन्त्री बालेन्द्र शाहको झापा–५ को चुनावी प्रतिबद्धतापत्रमा समेत समावेश थियो । वर्षौँदेखि चुनावी एजेन्डा बन्दै आएको यस सडकमा नयाँ ठेक्का प्रक्रिया अघि बढेपछि स्थानीयवासीले निर्माण सम्पन्न हुने आशा गरेका छन् ।
सडक डिभिजन दमकले प्रकाशित गरेको सूचना अनुसार नयाँ ठेक्काका लागि प्राप्त बोलपत्रको मूल्याङ्कन सम्पन्न भई महालक्ष्मी–जय धनञ्जय जेभी, काठमाडौंको एक अर्ब २२ करोड ७९ लाख ४४ हजार ८७२ रुपैयाँ ६१ पैसा कबोल रकमको बोलपत्र प्रारम्भिक रूपमा छनोट भएको छ । हाल ठेक्का स्वीकृत गर्ने आशयको सूचना प्रकाशित भएको छ ।

..jpeg)
..jpeg)

..jpeg)


प्रतिकृया दिनुहोस