• बिहीबार ६-२९-२०८३/Thursday 10-15-2026
  • 04:21:21

जनताको गुनासो सुन्दै सुहाङ, गाउँबस्तीमै पुगेर साट्दै सुखदुःख

बुधबार, २८ असोज, २०८३

 

इलाम :  जनताका समस्या, गुनासा र सुझाव सुन्न जनप्रतिनिधि आफैँ घरआँगनमा पुग्दा नागरिकमा खुसी र आशा देखिने गरेको छ । इलाम क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्य सुहाङ नेम्बाङ पछिल्लो समय मतदातासँग प्रत्यक्ष भेटघाट, छलफल तथा विभिन्न सामाजिक कार्यक्रममा सहभागी हुँदै जनताका कुरा सुनिरहेका छन् । निर्वाचन जितेपछि लामो समयसम्म काठमाण्डौ रहेका नेम्बाङ दशै अघि भने मतदाता माझ देखिएका छन ।  देउमाई नगरपालिकाका विभिन्न क्षेत्रका मतदाता तथा नागरिकसँगको निरन्तर भेटघाटका क्रममा नेम्बाङले स्थानीयका समस्या, विकास निर्माणका आवश्यकता र जनअपेक्षाबारे जानकारी लिइरहेका छन् । यस क्रममा उनी वैवाहिक समारोहलगायत सामाजिक कार्यक्रममा समेत सहभागी हुँदै स्थानीयसँग सुखदुःख साटिरहेका छन् । ‘मिसन पार्टी जागरण’ अन्र्तगत फाकफोकथुमपछि देउमाई नगरपालिकामा जनतामाझ आएका उनी देउमाई पछी इलाम नगरपालिकाका विभिन्न क्षेत्रमा मतदातासँग भेटघाट गर्दै नागरिकका गुनासा, सुझाव र विकासका आवश्यकता सुन्ने इलाम नगर कमिटी अध्यक्ष ठाकुर नारायण श्रेष्ठले जानकारी दिए । 
भेटघाटमा नागरिकहरूले आफ्ना गाउँठाउँका समस्या, सडक, खानेपानी, विकास निर्माण तथा अन्य आवश्यकताबारे कुरा राख्ने गरेका छन् ।  नागरिकका गुनासा सुन्दै नेम्बाङले जनताका सबै माग तत्काल सम्बोधन गर्न नसकिएको स्वीकार गर्दै क्रमशः सम्बोधन गर्ने प्रतिबद्धता जनाउने गरेका छन् । ‘तपाईंहरूको माग र गुनासा सम्बोधन गर्न सकिएको छैन। बिस्तारै सम्बोधन गर्दै जाने कुरामा प्रतिबद्ध छु । यहाँहरूको शिर झुक्न दिनेछैनँ,’ उनले नागरिकसँगको भेटमा भन्ने गरेका छन् ।
जनताका अपेक्षा धेरै भए पनि उपलब्ध स्रोत, साधन र प्रक्रियागत सीमाका कारण सबै समस्या एकैपटक समाधान गर्न सहज हुँदैन । तर, नागरिकका कुरा प्रत्यक्ष सुन्ने र तिनलाई सम्बोधन गर्ने प्रयासले जनप्रतिनिधि र नागरिकबीच संवादको वातावरण निर्माण गर्ने अपेक्षा गरिएको छ । यसअघि नेम्बाङले फाकफोकथुम गाउँपालिकाका सातवटै वडाका मतदातासँग एक चरणको भेटघाट कार्यक्रम सम्पन्न गरिसकेका छन् । स्थानीयस्तरमा पुगेर नागरिकका समस्या सुन्ने, सुखदुःख साट्ने र आगामी विकासका योजनाबारे रायसल्लाह लिने उद्देश्यले गरिएको उक्त भेटघाटमा स्थानीयको सहभागिता रहेको थियो । देउमाई नगरपालिका र फाकफोकथुम गाउँपालिकाका विभिन्न क्षेत्रका नागरिकसँग भेटघाट गरिरहेका नेम्बाङ अब इलाम नगरपालिकाका विभिन्न क्षेत्रका मतदातासँग पनि भेटघाट तथा छलफलमा जुट्ने तयारीमा छन् । 

प्रतिकृया दिनुहोस
↑