• सोमबार ६-१९-२०८३/Monday 10-05-2026
  • 04:46:52

‘ग्रासरुटदेखि जागरणसम्म एमाले : अभियान फेरिए, परिणाम खस्किँदै’

आइतबार, १८ असोज, २०८३


इलाम, १८ असोज :
नेकपा एमालेले पार्टी संगठनलाई जनतासँग जोड्ने र तल्लो तहसम्म संगठन सुदृढ गर्ने उद्देश्यले पछिल्ला वर्षहरूमा निरन्तर अभियान सञ्चालन गर्दै आएको छ । ‘मिसन ग्रासरुट’ र ‘जरा अभियान’पछि एमालेले अहिले ‘मिसन पार्टी जागरण–२०८३’ अभियान सञ्चालन गरेको हो । पार्टी संगठनमा देखिएको सुस्तता, कार्यकर्ता र जनताबीच बढेको दूरी तथा बदलिँदो राजनीतिक परिस्थितिबाट उत्पन्न चुनौतीलाई सामना गर्ने उद्देश्यले एमालेले ‘मिसन पार्टी जागरण’ अघि सारेको हो । अभियानको मूल ध्येय पार्टीलाई जनतासम्म पु¥याउने मात्र होइन, जनताका कुरा सुन्ने र त्यसलाई पार्टीको कामसँग जोड्ने रहेको एमालेको दाबी छ ।
एमालेले यसअघि ‘मिसन ग्रासरुट’मार्फत केन्द्रदेखि स्थानीय तहसम्मका नेता–कार्यकर्तालाई परिचालन गरेर संगठनको अवस्था बुझ्ने प्रयास गरेको थियो । त्यसपछि ‘जरा अभियान’मार्फत पार्टीको आधार मानिएको वडा र टोल तहलाई सक्रिय बनाउने प्रयास गर्यो । अहिले भने ‘मिसन पार्टी जागरण’मार्फत पार्टीलाई पुनर्जागृत गर्ने, जनसम्बन्ध विस्तार गर्ने र सक्षम नेतृत्व निर्माण गर्ने लक्ष्य अघि सारिएको छ । यस अघिका अभियान पछिको निर्वाचनको परिणाम भने खस्कँदो छ ।  पार्टीभित्र देखिएका चुनौती, संगठनात्मक कमजोरी तथा जनतासँगको सम्बन्धलाई थप मजबुत बनाउने उद्देश्यसहित अभियान अघि सारेको बताईएको छ । अभियानअन्तर्गत इलाममा पनि स्थानीय तहस्तरीय कार्यशाला र संगठनात्मक गतिविधि भएका छन् । देउमाई नगरपालिका, फाकफोकथुम, सन्दकपुर, माइजोगमाई गाउपालिकामा सम्पन्न भईसकेको छ भने माङ्सेबुङ गाउँपालिकामा हिजो सम्पन्न भएको छ । इलाम नगरपालिकामा असोज १५ गते नगरस्तरीय कार्यशाला सम्पन्न भएको थियो । इलाम नगरस्तरीय कार्यशालामा नगरका १२ वटै वडाको सामाजिक, राजनीतिक तथा सांगठनिक अवस्थाबारे वडागत रिपोर्टिङ गरिएको थियो । वडा कमिटीका पदाधिकारी तथा प्रतिनिधिले आ–आफ्नो वडाको अवस्था, पार्टी संगठन र स्थानीय राजनीतिक गतिविधिबारे जानकारी प्रस्तुत गरेका थिए । कार्यशालाले मिसन पार्टी जागरण अभियानअन्तर्गत असोज २५ गतेभित्र इलाम नगरका १२ वटै वडामा वडास्तरीय कार्यशाला गर्ने निर्णय गरेको छ । त्यसैगरी टोल–टोलमा पुगेर स्थानीयसँग छलफल गरी नगरको ‘समृद्ध चित्र’ निर्माण गर्ने कार्ययोजना अघि सारिएको नगर अध्यक्ष ठाकुर नारायण श्रेष्ठले बताए । 
एमालेले यसअघि सञ्चालन गरेको ‘मिसन ग्रासरुट’ अभियानमा पार्टीका केन्द्रीय तथा प्रदेश तहका नेताहरूलाई स्थानीय तहसम्म पठाएर संगठनको अवस्था बुझ्ने, कार्यकर्तासँग छलफल गर्ने तथा जनताको धारणा सुन्ने काम गरेको थियो । वडा र टोल तहसम्म पुगेर पार्टीका समस्या, जनताको अपेक्षा र संगठनको अवस्थाबारे जानकारी लिइएको थियो । त्यसपछि एमालेले ‘जरा अभियान’ सञ्चालन गर्दै पार्टीको आधार मानिने वडा, टोल र जनवर्गीय संगठनलाई थप सक्रिय बनाउने प्रयास गरेको थियो । 
विगतका अभियानबाट प्राप्त अनुभवलाई आधार बनाउँदै एमालेले अहिले ‘मिसन पार्टी जागरण–२०८३’ अघि सारेको हो । यस अभियानमा पार्टीले जनतामा जाने, जनताका कुरा सुन्ने, जनप्रिय बन्ने, जनसंगठन परिचालन गर्ने, जनताको बहुदलीय जनवाद (जबज) अध्ययन र आत्मसात गर्ने तथा योग्य र सक्षम नेतृत्व निर्माण गर्ने विषयलाई प्राथमिकतामा राखेको छ । एमालेले ‘६ ज’को नीतिअन्तर्गत जनतामा जानेदेखि जनमत सर्वेक्षणसमेतका आधारमा हरेक तहमा प्रतिस्पर्धामा सफलता हासिल गर्नसक्ने नेतृत्व तयार गर्ने लक्ष्य अघि सारेको जनाएको छ । कार्यशालामा एमाले केन्द्रीय कमिटी सदस्य एवं इलाम इन्चार्ज राम राना, निवर्तमान सांसद एवं निवर्तमान जिल्ला अध्यक्ष महेश बस्नेत, जिल्ला सचिव रविन्द्र सुवेदी, उपसचिव रमेश राई, लगायतका नेताहरू पालीका पालीकाको दौडधुपमा छन ।

प्रतिकृया दिनुहोस
↑