किसानलाई पनि गुरुको सम्मान
इलाम : अधिकांश नेपालीहरूले कृषि पेशाप्रति अझै पनि हीनताबोध गर्ने प्रवृत्ति कायम रहेका बेला इलामको रोङ गाउँपालिका ले किसानलाई "गुरु" को सम्मान दिएर उदाहरणीय अभ्यास थालेको छ।
नेपालमा करिब ७० प्रतिशत नागरिक कुनै न कुनै रूपमा कृषिमा आबद्ध भए पनि अपेक्षित आम्दानी नहुँदा धेरै किसान बाध्यतावश खेती गरिरहेको गुनासो गर्छन्। समाजमा किसानलाई अझै पनि हेय दृष्टिले हेर्ने प्रवृत्तिका बीच रोङ गाउँपालिकाले "जान्नेलाई मान्ने" अवधारणाअनुसार 'गुरु किसान कार्यविधि–२०८०' स्वीकृत गरी किसानलाई गुरुको रूपमा सम्मान गर्ने कार्यक्रम सञ्चालन गरेको हो।
गाउँपालिकाले २०८१ वैशाख १८ गते स्वेच्छिक रूपमा गुरु किसानका लागि आवेदन आह्वान गरेको थियो। प्राप्त १५८ आवेदनमध्ये १२१ जना किसान गुरु किसानका रूपमा छनोट भएका छन्। छनोटमा फूल नर्सरी, माछापालन, मौरीपालन, चिया, तरकारी खेती, कुखुरापालन, बाख्रापालन, गाईपालन, बंगुरपालन, फलफूल, सुपारी तथा कफी खेतीलगायत विभिन्न क्षेत्रमा क्रियाशील किसान समेटिएका छन्।
आर्थिक वर्ष २०८१/८२ मा संघीय सरकारको १५ लाख रुपैयाँ अनुदानमार्फत किसानको सीप र व्यवसायिक क्षमता अभिवृद्धिका कार्यक्रम सञ्चालन गरियो। त्यसैगरी आर्थिक वर्ष २०८२/८३ मा संघीय सशर्त अनुदानअन्तर्गत ८० लाख रुपैयाँ उपलब्ध भएपछि गुरु किसानको ५० प्रतिशत लागत सहभागितामा भकारो सुधार, गुणस्तरीय गोठे मल उत्पादन, सिँचाइ तथा पानी व्यवस्थापनका लागि प्लास्टिक पोखरी, थोपा सिँचाइ प्रणाली जडान लगायतका कार्यक्रम सञ्चालन गरिएका छन्।
यी कार्यक्रमअन्तर्गत करिब १ करोड १० लाख रुपैयाँ बराबरका योजनामा ६१ जना गुरु किसानसँग सम्झौता गरी काम सम्पन्न गरिएको गाउँपालिकाले जनाएको छ।
गाउँपालिकाका अध्यक्ष मनिकुमार स्याङ्वो (सुवास) का अनुसार किसानका उत्पादनलाई बजारसँग जोड्न स्थानीय उत्पादनको प्रशोधन, ब्रान्डिङ र बजारीकरणमा जोड दिइएको छ। रोङका किसानले उत्पादन गरेका सिस्नो, गुन्द्रुक, बेसार, करेला, अचार, मह लगायतका वस्तु अहिले बजारमा बिक्री हुन थालेका छन्।
यसका लागि गाउँपालिकाले साना उद्योग स्थापना गरी वडा नं. ५ मा सञ्चालनमा ल्याइसकेको छ भने वडा नं. १ र ६ मा उद्योग सञ्चालनको अन्तिम तयारी भइरहेको छ।
कृषि शाखाका सन्तोष लाप्चा का अनुसार आगामी आर्थिक वर्षदेखि गोठे मलको गुणस्तर परीक्षण गरी प्याकेजिङसमेत गर्ने योजना रहेको छ। यसले स्थानीय उत्पादनलाई थप व्यावसायिक र प्रतिस्पर्धी बनाउन सहयोग पुग्ने विश्वास गरिएको छ।







प्रतिकृया दिनुहोस