• मंगलबार ४-१२-२०८३/Tuesday 07-28-2026
  • 03:44:14

निलो बर्दिमा ४० दिन

शुक्रबार, १३ चैत, २०८२


त्यो बेला बाबा कुनै कक्षामा अर्थशास्त्रका सिद्धान्तहरू पढाउदै हुनुहुन्थ्यो सायद उता मामु कालो कोटमा न्यायको कलम चलाउदै हुनुहुन्थ्यो । यता म भने निलो वर्दिमा, हातमा लाठीका साथमा  ड्युटीमा थिए । अबको यात्रा थियो ४० दिने निर्वाचन प्रहरीको ।
 
हरेक दिन झैँ म भान्सा कोठाको झ्याल  छेउमा त्यहि फोन चलाउदै थिए। ठिक त्यसै  बेला निर्वाचन प्रहरीको आवेदन खुलेको सूचन देखेँ।
 
फेरि त्यही बेला बाबाले म्यादिको form खुलेछ त भन्नु भयो । मैले नि यसै म नि जाम कि क्या हो भने । बाबाले हुन्छ त, जाँदा केही सिक्न नि पाइन्छ र नयाँ अनुभव नि हुन्छ भन्नु भयो ।
हुन त मैले म्यादी प्रहरीहरु प्रति गरेका व्यङ्ग्य अनि हासो मजाक नदेखेको त हैन।
 
मैले केवल हलुँगो तरिकाले भनेको कुरा बाबाको सहज जवाफले वजनदार बन्यो ।
 
फेरि लाग्यो यो नि एक रोजगारी हो, सरकारी  सेवा हो , के यो व्यङ्ग्य को विषय मात्र हो र ? कि हामीले कुनै पेसा कुनै कर्मको सम्मान गर्न नसकेको हो । यी र यस्तै प्रश्न मनमा थियो र मलाई यसको भित्री रहस्य बुझन मन लागेको थियो ।
 
हो त्यही बेला मेरो मस्तिष्कमा त्यो निलो वर्दि झल्कियो।
 
मलाई वर्दी  प्रति पनि कतै झुकाव थियो । राष्ट्रिय सेवा, वर्दि र Boot भन्ने वितिकै मलाई राष्ट्रिय सेवा दल (NCC)का ति १०० दिन याद आँउछ ।
 
अनि त्यसपछि सुरु भयो मेरो ४० दिनको यात्रा-निलो वर्दी भित्रको वास्तविक‌ता बुझने यात्रा । भर्ना छनोट प्रकृया भयो,
म छ्नौट भएँ ,
लगतै हाम्रो १० दिनको Training सुरु भयो। बिस्तारै दिनहरू बित्दै गए। विहान उठ्न अल्छी लाग्ने म अचेल बिहान चाँडै उठ्‌ने तयार हुने, र तालिमको लागी निस्कने भए । म भित्र छुट्टै उर्जा महसुस गर्दै थिए र यी सब मेरो दिन चर्या बन्न थाल्यो ।
 
घाम, धुलो, थकान यी सबै बाहिरी कुराहरू थिए, तर भित्र कतै एउटा सन्तुष्टि थियो कि, म केही अर्थपूर्ण गरिरहेको छु भन्ने। त्यो तालिम केवल तालिम मात्र थिएन, त्यो आत्मअनुशासन सिक्ने पहिलो खुड‌किलो थियो। Drill का कदमहरूमा  लय थियो, गोडा चालमा अनुशासन, सलाममा सम्मान र लाठी चार्जमा  दृढता थियो। म कतै सन्तुष्ट बनेर फुरुङ्ग थिए ।
 
नियुक्ति पत्र हात‌मा थापेको क्षण‌मा एउटा जिम्मेवारी अनुभूति भएको थियो। अब हामी कर्तव्यमा खटिएका निर्वाचन प्रहरी थियौं ।
 
त्यसपछि सुरू भयो गस्तिका दिनहरू । कहिले सिङ्‌फिरङ, कहिले love डाँडा, कहिले भालुढुङ्गा त कहिले तिलकेनि। लाईनमा मिलेर बायाँ आङलठ्ठी गर्दै अघि बढ्दा, त्यो हिँडाइ‌मा एउटा अनुशासन मात्र नभएर एउटा छुटटै भाव झल्कन्थ्यो ।
 
केही दिनको गस्ती पछि हाम्रो पोशाक आयो। हुन त कतै कुनामा कहिले वर्दी आउँला र लगाउँला भन्ने थियो ।त्यो क्षण अझ विशेष बन्यो । निलो वर्दिले हामीमा जिम्मेवारिको भावना अझ धेरै बलियो भयो । त्यपछि सबै निवाचत प्रहरि निलो वर्दिमा सजिएर निर्वाचनलाई सफल र शान्तिपूर्ण बनाउने - एउटै उद्देश्‌यका साथ आफू आफू खटिएको स्थान तर्फ लाग्यौं ।
 
म टोली कमाण्डर थिएँ, अन्य प्रशासनिक कामको निम्ति ५ सदस्य कमाण्डरहरुको समिती बनाइयो । उक्त समितिले निर्वाचन प्रहरीको पोशाक भुक्तानीको व्यवस्थापनमा जिम्मेवारी लियौं। मैले त्यसको कोषाध्यक्ष भएर काम गर्ने मौका पाँए । सफलतापुर्वक जिम्मेवारी वहन गर्यौँ ।झन्झटिलो र चुनौतीपूर्ण भए पनि यसले नेतृत्व, सहकार्य र संगठनात्मक क्षमता सिक्ने महत्वपूर्ण मौका दियो ।
 
अन्तत: इलाममा निर्वाचन शान्तिपूर्ण रूपमा सम्पन्न भयो। त्यो  सफलतामा हाम्रो सानो योगदान पनि जोडिएको थियो भन्ने आज सम्झदा मन गर्वले भरिन्छ।
अब त्यो निलो वर्दि केवल एक सम्भवा मात्र होइन, त्यो मेरो (हामी सबै निर्वाचन प्रहरिको) अनुभवको एउटा महत्वपूर्ण अध्याय बनेको छ। जब पनि त्यो वर्दी  सम्झन्छु मनमा एउटै भाव आँउछ  - गर्व  र मानसपटलमा ती क्षणहरु ।
अन्त्यमा,   मेरो मनमा एउटा अहम प्रश्न उब्जिरहेको छ - हामी निर्वाचन प्रहरीले बहन गरेको जिम्मेवारी, निर्वाह गरेको भूमिका र प्राप्त गरेको प्रमाणपत्रको कहिले र कुन प्रयोजनमा सदुपयोग हुन्छ सरकार ?
 
          - दीक्षा घिमिरे
             म .र. ब . क्याम्पस ,ईलाम
             वि ए तेस्रो वर्ष

प्रतिकृया दिनुहोस